जुम्लामा नयाँ बर्षमा तागे संक्रान्ति 

जुम्लामा नयाँ वर्षलाई तागे संक्रान्तिका रुपमा मनाइएको छ ।  देश भर विभिन्न तरिकाले नयाँ वर्ष मनाइरहँदा जुम्लामा भने तागे संक्रान्तिका रुपमा मनाइएको हो ।

 आजको दिन विवाहित महिलाले आफ्ना पतिको दिर्घायुको कामना गर्दै तागा लगाउने चलन छ । नयाँ वर्षको शुरुवात हुने दिन वैशाख १ गते महिलाहरुले लगाएको तागा आगामी कार्तिक महिनाको ६ गते विधीपुर्वक पुजाआजा गरि विसर्जन गर्ने चलन रहेको संस्कृति सम्बन्धि जानकार पुर्णसिंह कठायतले जानकारी दिए ।

व्राह्मणले विधी पुर्वक पुजाआजा गरेर नौवटा गाठो पारेर वनाएको तागा विवाहित महिलाले लगाउने प्रचलन छ । नयाँ वर्षलाई वाहुन क्षेत्री महिलाले पति व्रतको रुपमा मनाउने गर्दछन । पतिले आफ्नो पत्नीको चोलीमा आफैले हातले वनाएको नौ वटा गाँठो भएको पहेलो रंगको तागा वनाएर पुजापाठ गरि चोलीमा झुण्डयाइने गरिन्छ ।

 नयाँ वर्षको दिन आफ्नो पतीले चोलीको डोरीमा झुण्डयाई दिएको तागाको डोरी विधिपुर्वक पुजापाठ गरि कार्तिक ६ गते नदिमा वगाउने गर्दछन ।वर्षभरी पतिको दिर्घायुको कामना गर्दै महिलाहरुले नयाँ वर्षलाई तागे वर्षका रुपमा मनाउदै आएको स्थानिय जानकारहरु वताउछन ।

तागालाई गाँठो, गोली गाँठो,सिधा गाँठो गरी सात वटा गाँठा र विभिन्न सातवटा रंगवाट रंग्याईन्छ । यो तागे संक्रान्तिमा मग्नी भएको युवतीकोे घरमा युवाकोे घरवाट युवतीलार्ई कोसेली र तागा लैजाने गरिन्छ । नयाँ वर्षको दिन तागा युवतीकोे घरमा नलगे मग्नी टुट्ने विश्वास छ । अन्य पर्वहरुमा महिलाहरु आफ्नो माईतिघरमा जान्छन भने नयाँ वर्षको अवसरमा मनाईने  तागो पर्वमा माईतीघर गएका महिलाहरु पनि पोईली घरमा आएर तागा लगाउने गर्छन । यसैदिन घरमा चामलको पुवा लगायत विभिन्न परिकारहरु वनाउने गरिन्छ भने जुम्ली कालिमार्सी धानको विउको वेर्नावाट दुई हातले विस पटक पानी वेर्ना वाहिर फालिन्छ ।   यसलाई विसे पानी फाल्ने दिनका रुपमा समेत चिनिन्छ । पछिल्लो चरणमा तागा लगाउने प्रचलन केहि लोप हुदै गएपनि अधिकांस स्थानमा यो प्रचलन कायमै छ ।

यो प्रचलनलाई कायम राख्न नयाँ वर्षले सदवुद्धि दिहुन भन्ने कामना सर्वत्र गरिएको पाईन्छ । नयाँ वर्षको अवसरमा हुने तागे संक्रान्तिका अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गर्ने, नयाँ नयाँ परिकारी सवै परिवार वसेर खाने र नयाँ वर्षमा सवै काम फलिफाप होउन भन्ने कामना गरिदै आएको छ ।

सम्बन्धित शीर्षक