लक्ष्मी न्यौपाने,जुम्ला
जुम्ला पातारासी गाउँपालिकाका शतप्रतिशत बालबालिका खोपको पहुंचमा पुगेका छन । शुन्य देखि १५ महिनाका ३६३ जना र १६ देखि २३ महिना सम्मका ११९ जना बालबालिका खोपको पहुंचमा पुगेको स्वास्थ्य शाखा पातारासीले जनाएको छ । सबै बालबालिका खोपको पहुंचमा पुगेपछि पातारासी गाउँपालिका नै पुर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा स्वास्थ्य शाखा संयोजक रतन बुढ्थापाले जानकारी दिए । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्य र उपाध्यक्ष जनमाया रोकायाले संयुक्त रुपमा ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरेको उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बालबालिकाले सबै प्रकारका खोप पाएकाले अकालमा हुने मृत्यु हुनबाट जोगाउन सकिने बताए । बालबालिका बिरामी भएमा पहिले ताप लाग्यो भनेर नदिको चिसोपानीले नुहाई दिने चलन हुन्थ्यो । जसकारण निमोनिया भएर ज्यान गएका कैयन उदाहरण छन,संयोजक आचार्यले भने,‘ खोपको विकास नहुँदा विभिन्न किसिमको रोग लागेर बालबालिकाहरु मर्ने क्रम अहिले रोकिएको छ । ’ सबै खोप लगाउनु भनेको भविष्यमा लाग्ने संक्रमणबाट जोगिनु हो,उनले थपे,‘ अहिले अभियानका रुपमा ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गर्ने लहर चलेको छ । यो राम्रो पक्ष हो । ’ जुम्लाका ५ स्थानीयतह ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा भइसकेकाछन ।
महिला स्वास्थ्य स्वयमसेविकलाई धेरै जिम्मेवारी प्रदान गरिएकोमा सेवा सुविधा अभावका कारण प्रभावकारी कार्यसम्पादन हुन सकेको छैन । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले खोपले बालबालिकाको स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने बताइन् । आमाको बिगौति दुध नवजात शिशुको लागि पहिलो खोप हो,उनले भनिन्,‘ जन्मेदेखि १५ महिनाको समयसम्म ७ वटा खोप लगाउँदा भविष्यमा लाग्ने रोगहरुको संक्रमबाट बच्न सकिन्छ । नजिकको स्वास्थ्य संस्था तथा खोप केन्द्रमा गएर नि:शुल्क उपलब्ध हुने गर्छ । ’ प्रत्येक गाउँमा रहेका बालबालिकाहरुको खोजी गरी खोपको पहुँमा ल्याएको उनको भनाई छ ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त प्रमुख अमरसिंह रावलले खोप लगाउनमा महिला स्वास्थ्यस्वयम्सेविकाको महत्वपुर्ण भुमिका रहेको स्मरण गरे । हतारमा कार्यक्रम घोषणा गर्दा पुन: अनुगमनको कमी देखिन जान्छ । उनले भने,‘पटक पटक बालबालिकाले खोप लगाए नलगाएको बारेमा सुपरीवेक्षण हुन जरुरी देखिन्छ । ’्सबै बालकालिकाले खोप लगाए नलगाएको बारेमा जनस्वास्थ्य सेवा कार्यालयले निरीक्षण गरेपछि मात्र पालिकालाई घोषणा गरिएको थियो ।
रेडियो कर्णाली एफएम जुम्लाका कार्यक्रम संयोजक नौरते नेपालीले कुनै पनि बालकालिका खोप लगाउनबाट बञ्चित हुन नहुनेमा जोड दिए । बालबालिकाहरूलाई खोप लगाउन छुटाउन नहुने बताउँदै स्वास्थ्य शाखा प्रमुख बुढ्थापाले बाल मृत्युदर हट्ने अपेक्षा गरिएको प्रतिक्रिया दिए । मानवको स्वास्थ्य अवस्था सुधार गर्नका लागि खोप महत्वपूर्ण हो । सबै खोप लगाउदा मानव स्वास्थ्यमा पछि आई पर्ने समस्या हल हुने र संक्रमण कम हुने उनको भनाइ छ । अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु पर्ने अवस्था नभएको उनले बताए । जिल्लाको हिमा गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ गाउँपालिका घोषणा गरिएको जनाइएको छ ।