राउटे समुदाय संकटमा

  ।   ९ आश्विन २०७८, शनिबार ०७:१७

सुर्खेत ।  राउटे समुदाय फिरन्ते जीवन बिताउँछन् । डुलिहिँड्ने उनीहरूको स्थायी बसोबास हुँदैन । बस्ती सरिरहन्छन् । धेरै समय एकै ठाउँमा बस्दैनन् । त्यसैले स्थायी ठेगाना छैन । जहाँ पुगे त्यहीँ छाप्रो बनाएर बस्छन् । जंगल छेउछाउमा बस्न रूचाउँछन् ।

लोपोन्मुख राउटेको जनसंख्या पनि निकै न्यून छ । अहिले डेढ सयभन्दा पनि कम संख्यामा छन् । केही वर्षयता उनीहरूको जनसंख्या घट्दै गएको छ । त्यसमाथि व्यवस्थित बसोबास नहुँदा समुदायको अस्तित्व नै जोखिममा रहँदै आएको छ । पछिल्लो समय राउटेहरू थप असुरक्षित बनेका छन् ।

कुनै बेला गैर–राउटे समुदायसँग घुलमिल हुँदैनथे । काठका घरायसी सामग्री बनाउने उनीहरू अन्नसँग साट्थे । पैसा छोए पाप लाग्छ भन्थे । पैसा छुनु हुँदैन भन्ने मान्यता यो समुदायमा थियो । कन्दमुल खान्थे । जंगली जनावरको सिकार गर्थे । अरु समुदायसँग व्यापारको जस्तो मात्र सम्बन्ध रहन्थ्यो, काठका सामग्री दियो त्यो बापत खाद्य वस्तु लियो ।

अन्य समुदायसँगको घुलमिलले अहिले राउटे समुदायका परम्परागत मान्यताहरू भत्किदै गएका छन् । उनीहरूमा पैसा र आधुनिकताको मोह बढेको छ । सरकारले राउटेलाई मासिक भत्ता नै उपलब्ध गराउँछ । यो समुदायमा पुग्ने जो–कोहीसँग उनीहरू पैसा माग्छन् । समुदायको रूपान्तरणका क्रममा त्यहाँ कतिपय विकृति पनि पसेका छन् । सबैसँगको सहज भेटघाटले गैर–राउटे समुदायका आनीबानी सरेका हुन् । आधुनिक दुनियाँमा विस्तारै बामे सर्न थालेको समुदाय केही वर्षयता मदिरालगायतका कुलत र विकृतिहरूले जेलिएको छ । सबैजसो उमेर समूहका राउटे मदिरामा लठ्ठ हुने गरेका छन् । यसले उनीहरूको अस्तित्व थप संकटमा परेको छ । राउटे समुदायको रूपान्तरणका लागि काम गर्दै आएका सरकारी तथा गैरसरकारी निकायहरूले भन्ने गरेका छन्, ‘राउटेलाई रूपान्तरण गर्ने नाममा झनै विकृतिहरू भित्रिए ।’

सरकारी तथा गैर–सरकारी निकायले राउटे समुदायको उत्थानका लागि खर्चिएको बजेटको सदुपयोग भएको हुन नसकेको राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का बताउँछिन् । ‘जुन उद्देश्यले यो समुदायमाथि लगानी भइहेको छ, त्यसको सदुपयोग भइरहेको छैन,’ उनले भनिन् । लामो समयदेखि यो समुदायसँग नजिक रहेर काम गर्दै आएकी खड्काले राउटेहरू थप असुरक्षित बनेकोमा चिन्ता व्यक्त गरिन् । उनका अनुसार केही वर्ष पहिलेसम्म यो समुदाय निकै शान्त थियो । आफ्नै सामाजिक मान्यताहरू थिए । जब उनीहरूको अन्य समुदायसँग आवतजावत बढ्यो विकृतिहरू पनि भित्रिए ।

यो समुदायको उत्थानका क्षेत्रमा काम गरिरहेका निकायको रूपान्तरण गराउने शैली नमिल्दा समुदाय नै झन जटिल अवस्थामा पुगेको अधिकारकर्मीहरूले बताउँदै आएका छन् । गलत संस्कार र आनीबानी सुधार्न तथा अरु जस्तै आधुनिकतामा ल्याउने तरिका नमिल्दा समस्या भइरहेको उनीहरूको भनाइ छ ।

अहिले राउटे समुदायको परम्परागत पेसा पनि संकटमा छ । नयाँ पुस्तामा पुख्र्यौली पेसाको मोह हराएको छ । काठका सामग्री बनाउने सीप हराउँदै गएको छ । युवाहरूमा यो पेसाप्रति रूचि घट्दो छ । त्यसले गर्दा जीविकोपार्जनमा समेत समस्या आउन थालेको छ । मागेर छाक टार्नु उनीहरूका लागि बाध्यता बन्न थालेको हो । शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा छन् । राउटे समुदायको संख्या घट्दै जानुमा उनीहरूको जीवनशैली प्रमुख कारण हो । आफ्नो स्वास्थ्यप्रति समुदायका मानिसहरू सचेत छैनन् । उनीहरूलाई आधुनिक उपचार पद्धतिमा विश्वास छैन ।

खासगरी राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जंगलमा फिरन्ते जीवन बिताउँछन् । अहिले उनीहरू सल्यानको बनगाडकुपिण्डे नगरपालिका–१ स्थित घाटगाउँमा बसाइँ सरेका छन् । बसाइँ र खानपान व्यवस्थित नभएकाले राउटेको स्वास्थ्य नाजुक छ । बालबालिकादेखि वृद्धवृद्धासम्म कुपोषित छन् । अनेक दीर्घ रोगले समुदाय ग्रसित छ । ४६ घरधुरी रहेका राउटे समुदायको संख्या हाल एक सय ३९ जना मात्र छ । गएको चैतयता मात्र यो समुदायका सात जनाको मृत्यु भएको छ ।

राउटेमा अचेल खानपिनको शैली बदलिएको छ । तर, स्वास्थ्यमा असर गर्ने खानपानमा उनीहरू आकर्षित छन् । मदिराको कुलत र सहरिया खानपिनमा रूचि बढ्यो । त्यसले पनि राउटेको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको हो । राउटे समुदायको जनसंख्या बर्सेनि घट्दै गएकाले उनीहरूको अस्तित्व नै संकटमा पर्ने खतरा रहेको कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले बताइन् । उनले राउटे समुदायका रितिरिवाज र मूल्यमान्यताको संरक्षण गर्दै उनीहरूलाई आधुनिकतातर्फ लैजानुपर्ने जनाइन् । ‘मान्दै आएका चालचलनलाई पनि जगेर्ना गर्नुपर्छ । आजको परिवेशमा कोही पनि शिक्षा, स्वास्थ्य र सुरक्षित बसोबासविना सुरक्षित बन्न सक्दैन,’ प्रदेशसभा सदस्य खड्काले भनिन्, ‘यो समुदायको संरक्षणका नाममा भइरहेका विकृति रोक्न पनि जरुरी छ ।’

राउटे समुदायलाई जोगाउन कर्णाली प्रदेश सरकारले संरक्षण गर्ने एकीकृत नीति ल्याउने तयारी गरेको छ । सामाजिकीकरण गर्दै मूल प्रवाहीकरणमा ल्याउन प्रदेशको समाजिक विकास मन्त्रालयले नीतिको मस्यौदा तयार पारेको हो । उक्त प्रस्तावित नीतिमा स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्नेसम्मका कार्यक्रमहरू समावेश गरिएका छन् ।

जातीय र मौलिकताको संरक्षण गरिने, स्थायी बस्ती, बाह्य समुदायबाट हुने नोक्सानी र हिंसाजन्य जोखिमबाट जोगाउने लगायतका विषय नीतिको ड्राफ्टमा समेटिएको छ । लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउन आवश्यक देखिएकाले एकीकृत नीति निर्माण थालिएको मन्त्रालयले जनाएको छ । सो नीतिको मस्यौदाबारे अहिले सरोकारवाला निकायसँग छलफल थालिएको छ । प्रदेश सरकारले ल्याउन थालेको नीति लागू हुन सके राउटे समुदायको संरक्षणसँगै रूपान्तरणमा ठूलो टेवा पुग्ने सरकारी अधिकारीहरूको भनाइ छ ।

Next Post

सार्वजनिकस्थलमै अश्लील बोल्ने प्रहरी अधिकृत थापाले थुते पत्रकार परियारको मोबाईल

९ आश्विन २०७८, शनिबार ०७:१७
जुम्ला सदरमुकाम खलंगामा असोज १ गतेदेखि शुरु भएको फुटबल प्रतियोगिताको क्रममा सार्वजनिकस्थलमा एक प्रहरी अधिकृतले अश्लील शब्द प्रयोग गरी खेलाडीहरुलाई गालीगलौच गरेका छन् । प्रतियोगिताको आठौं दिनमा शुक्रबार भैरवनाथ र ढाण थपला युवा क्लब जुम्लाबीच फुटबल खेल भएको थियो । खेल भईरहेको समयमा दुवै पक्षबीच विवाद शुरु हुँदा त्यसलाई नियन्त्रणमा […]