कालीमार्सी जोगाउँदै किसान

  ।   २० भाद्र २०७८, आईतवार १८:०२

जुम्ला सिँजा गाउँपालिकाका हिम्मतबहादुर शाहीको खेतमा यो वर्ष कालीमार्सी धान लहलह झुलिरहेको छ। कालीमार्सीमा जस्तो सुकै रोगको प्रकोप देखिएपनि उनले खेतमा धान लगाउन छाडेका छैनन्। नियमित रुपमा कृषि प्राविधिकसँग परामर्श गर्छन्। खेतभरी जुम्ली कालोमार्सी धान रोप्छन्। उब्जनी कमै भएपनि खेतमा मार्सीधानको बोट देख्दा निकै उत्साहित हुने गरेको उनी बताउँछन्। उनले भने, ‘कालीमार्सी जुम्लाको पहिचान हो। संसारको सबैभन्दा उच्च स्थानमा फल्ने उपमा पाएको बाली हो। यो बालीको संरक्षण खेतमा मार्सीधानको खेती गरेमात्र हुनसक्छ।’

यो खेती जुम्लामा सम्भव छ। धानमा सामान्य समस्या देखिने बित्तिकै किसान आत्तिहाल्नु हुँदैन। हिम्मतबहादुर एक उदाहरण मात्र हुन्। अहिले सिँजा र तातोपानीका खेतबारीमा कालीमार्सी धानको खेती थालिएको छ। पहिले एकपटक यो धानमा मरुवा रोगका कारण समस्या भएपछि किसान कालीमार्सी धान लगाउनतिर चासो राख्थे, तर पछिल्लो समयमा कालीमार्सी धानको उत्पादन राम्रो हुन थालेपछि मार्सीधानको रोपाइँ सुरु गरेका छन्। अहिले हरेक किसानको खेतमा कालीमार्सी नै रोप्ने गरेका छन्।

कालीमार्सी धानको मूल्य प्रतिकेजी १ सय २ रुपैयाँ तोकिएको छ। चामलको मूल्य जुम्लामै एकसय ५० रुपैयाँ प्रतिकेजी हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको कालीमार्सी धानलाई ब्राण्डका रुपमा स्थापित गर्नका लागि खरिद गर्न थालेपछि ह्वात्तै कालीमार्सी धानको खेती विस्तार भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिए।

उनले भने, ‘व्यापार कम्पनीले कालीमार्सी धानलाई खाद्य ब्राण्डका रुपमा स्थापित गर्यो। देशभित्र र बाहिर यो धान र चामलको माग बढ्न थाल्यो। किसान कालीमार्सीको संरक्षणमा जुट्न थाले। अहिले उन्नत जातको धानभन्दा कालीमार्सी धानको क्षेत्रफल बढी छ।’

गत वर्ष कालीमार्सी चामल विदेशी क्यानडा बजारमा १५ टन निर्यात भएको थियो। नेपालमा खोजीखोजी किनेर खाने गरिएको छ। नेपालको सबैभन्दा महंगो, गुणस्तरीय, अडिलो, पोटिलो र पोषिलो चामल पनि यही हो।

कालीमार्सी धानको क्षेत्रफल विस्तारका लागि कृषि विकास कार्यालय जुम्लाले स्थानीय तहसँग समन्वय गरेर बिजबृद्धि कार्यक्रम लागू गरेको छ। यहाँको तातोपानी र हिमा गाउँपालिकासंँ सहकार्य गरेर तातोपानीको लाछुजीउलो र हिमाको कोइरेली जीउलोमा मार्सीधान खेती गरिएको छ। स्थानीय तहको ३० र कृषि कार्यालयको ७० प्रतिशत लागत सहकार्य छ। योसँगै जुम्लाको पातारासी गाउँपालिकाले कालीमार्सी धान बचाउनको लागि डिपिआर नै बनाएको छ।

अहिले कूल २९ सय हेक्टरमा धान खेती हुने गरेकामा मार्सीधानको क्षेत्रफलमात्र १ हजार ६ सय हेक्टर छ। १३ सय हेक्टर क्षेत्रफलमा उन्नत जातको धान लगाइन्छ। पहिले मार्सीधानमा रोगकिराको समस्या थियो। अहिले रोगकिरा छैन। यहाँको धान अनुसारको मौसम अनुकुल पनि छ। कृषि प्रमुख देवकोटाले भने, ‘उच्च बजारीकरण छ। माग बढ्दो छ। जसले किसानमा धान खेती गर्ने उत्साह पलाएको छ।’

अब कालीमार्सी धान भित्र्याउने समय आइसकेको छ। अबको दुई हप्तामात्र मार्सी धान बचाउन सकेको खण्डमा धान राम्रोसँग पाक्छ। राम्रोसँग पाकेको धानबाट राम्रो चामल निस्कन्छ। जसले बजारीकरणमा राम्रो काम गर्छ। कृषि प्रमुख देवकोटाका अनुसार आगामी वर्ष पोष्ट हार्भेष्ट, प्याकेजिङ, सिटविन, तालिमको कार्यक्रम राखिएको छ।

एक दशकदेखि जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर जीउलोमा पनि निरन्तर धान खेती भइरहेको छ। यो क्षेत्र संसारको सबैभन्दा उच्च स्थानमा धान फल्ने क्षेत्र हो। जुम्लाको एक नगरपालिका बाहेक ८ वटै स्थानीय तहमा कालीमार्सी धानको खेती हुन्छ। केही स्थानीय तहको लेकाली क्षेत्रमा मात्र धान खेती हुँदैन।

पछिल्लो समयमा कालीमार्सी धानमा लागेको रोगकिराको प्रकोप नियन्त्रण गर्नको लागि किसानले तदारुकता देखाउन थालेका छन । उनीहरु कृषि विज्ञ संग परामर्श गर्ने, धानखेतिमा लागेको रोगको बारेमा जानकारी हासिल गर्ने र घरेलु उपचार विधि समेत अपनाउन थालेका छन्।

Next Post

नगरपालिका भित्रका ६वटा विद्यालयमा पिसिआर परिक्षण गर्दा ३६जना सङ्क्रमण ,एक विधालयको रिपोर्ट आउन वाकि

२० भाद्र २०७८, आईतवार १८:०२
गणेश रावत, चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाले कोरोना पि.सि.आर परीक्षण गरेको छ । नगरपालिका भित्र रहेका बिधार्थी, शिक्षक लाई पि.सि. आर परिक्षण गरेको स्वास्थ्य शाखा नीरिक्षेक क्षेत्र वहादुर महतले जानकारी । परिक्षण गर्दा ३६जनामा कोरोना पोजेटिभ भयको महतले जानकारी दिनुभयो। चन्दननाथ नमुना मा.बि मा आरडिटी विधिबाट ३९र पि.सि.आरय ४६ जना […]

सम्बन्धित