शंखुको लोभलाग्दो ओखर बगैँचा

  ।   ३० श्रावण २०७८, शनिबार १८:००

जुम्लाको चन्दननाथ नगरपालिका १० का शंखुबहादुर खत्रीलाई यो समयमा दाँते ओखरको रेखदेख र संरक्षण गर्न भ्याइनभ्याई छ। उनी विहानैदेखि ओखर बगैँचामा निस्कन्छन्। साँझ अबेर घर फर्कन्छन्। उनले ओखरलाई पारिवारिक माया दिएका छन्।

उनले भने, ‘पहिले मैले निकै दुःख गरेर छोराछोरी हुर्काए। छोराछोरीको मात्र अभिभावक थिए। अहिले छोराछोरीको खुसीका लागि ओखर हुर्काउँदैछु। ओखरका विरुवाको अभिभावक बनेको छु। ओखर खेतीमै आर्थिक समृद्धि देखेको छु।’

उनको बगैँचामा १८ हजार ओखरका विरुवा नर्सरीका रुपमा छन्। जसमध्ये ३ सय ओखरको विरुवाले फल दिन्छन्। बगैँचाभित्रै उनले ओखरको नर्सरी उमारेका छन्। उनी ओखरका दानाभन्दा पनि विरुवा बेचेर मनग्गे आम्दानी गर्छन्। गत वर्ष मात्रै २७ लाख रुपैयाँ बराबरको ओखरका विरुवा बेचे। दानाबाट मात्रै ३ लाख रुपैयाँ कमाए।

 

उनले भने, ‘ओखरका विरुवाको माग बढ्दो छ। विरुवा खरिद गर्न व्यापारी बगैँचामै पुग्छन्।’ ओखरका विरुवा बगैँचामै प्रति विरुवा ७ सय रुपैयाँमा बिक्री हुने गरेको उनले बताए।

खत्रीबाट विरुवा किन्न अछाम, कालिकोट, बझाङ र बाजुरासम्मका मानिस आउँछन्। अन्य कृषि कर्मभन्दा ओखर खेत सहज र आम्दानीमुलक भएको उनको अनुभव रहेको छ। उनले भने, ‘ओखर भण्डारण गर्न, टिप्न, हुर्काउन र बजारमा लैजान सहज भएकोले यो खेती प्रति किसान आकर्षित बनेका हुन्।’

ओखर खेतीलाई जंगलका रुपमा विस्तार गर्नुपर्ने उनी बताउँछन्। उनले भने,‘ओखर स्वस्थकर पनि छ। तेल उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारसम्म लैजान सकिन्छ।’

उनले भने, ‘पहिले मैले निकै दुःख गरेर छोराछोरी हुर्काए। छोराछोरीको मात्र अभिभावक थिए। अहिले छोराछोरीको खुसीका लागि ओखर हुर्काउँदैछु। ओखरका विरुवाको अभिभावक बनेको छु। ओखर खेतीमै आर्थिक समृद्धि देखेको छु।’

उनको बगैँचामा बागबानी अनुसन्धान केन्द्र राजीकोटले सिफारीस गरेको तीन जातका ओखर छन्। उनले बगैँचामा ३३ जातका ओखर लगाएका छन्। कृषि वैज्ञानिक बगैँचामा पुग्दा अलमलमा पर्छन्। बगैँचमा रहेका ३३ जातको ओखरका नामाकरण हुन सकेको छैन।

उनले ओखरका दाना काठमाण्डौँ बत्तिसपुतली लैजान्छन्। ३२ हजार बर्गमिटर क्षेफलमा ओखर खेती गरेका उनले अबको पाँच वर्षमा वार्षिक ४ करोड रुपैयाँ कमाउने लक्ष्य राखेका छन्। २०६२ सालदेखि ओखर खेती सुरु गरेका शंखुबहादुर अहिले ओखर अनुसन्धानका स्रोत व्यक्ति पनि हुन्। उनी जिल्ला भित्र र बाहिर प्रशिक्षक भएर ओखर खेतीका बारेमा प्रशिक्षण दिने गर्छन्। ओखर खेतीको बारेमा सिकाउनको लागि उनको माग बढिरहेको छ। किसानले बोलाएको ठाउँमा पुग्छन् उनी। आफ्नो अनुभव सुनाउँछन्। बगैँचमा भएका सफल अभ्यास आदानप्रदान गर्छन्। ओखर खेतीमा लाग्न हौस्याउँछन्।

२०४२ सालदेखि स्याउ खेती गरिरहेका शंखुबहादुरले पुरानो व्यवसाय छोडेर ओखर खेतीमा लागेका हुन्। स्याउमा विभिन्न रोगकिराको संक्रमण देखिएपछि ओखर खेतीमा लागेको उनले बताए। उनले भने, ‘अहिलेसम्म ओखरमा रोग देखिएको छैन। हुर्काउन सकेको खण्डमा राम्रो फल दिन्छ। राम्रै कमाइ हुन्छ। बजार पनि राम्रो छ।’

उनी ओखर खेतीका लागि चाहिने झोलमल, जिवातु आफै बनाउँछन्। उनले बगैँचाभित्रको माटोको परीक्षण गरेका छन्। ओखर सम्बन्धी अनुसन्धानका लागि विभिन्न विधि अवलम्बन गरेका छन्। ओखरको रुखमै ग्राफ्टिङ गरेर एउटै रुखमा विभिन्न जातको ओखर फलाएका छन्। एकै झुप्पोमा ११ दानासम्म लागेको बगैँचामा देख्न सकिन्छ।

 

उनीसँग प्रांगारिक मल बनाउने सबै सामग्री छन्। पहिले उनी सुकुम्बासी जस्तै थिए। घरको अवस्था निकै नाजुक थियो। खान लगाउन मुस्किल पर्थ्याे। ज्यालामा काम गरेर पारिवारीक खर्च जुटाउँथे।

‘म पहिले सुकुम्बासी जस्तै थिए,’ उनले भने, ‘स्याउ र ओखर खेतीले आर्थिक रुपमा बलियो बनायो। अब आफूले कमाएको रकमले समाजसेवासम्म गर्न सक्ने भइसकेको छु।’ अहिले उनीसँग ६६ कित्ता जग्गा छ। दुई/दुई वटा लालपुर्जा छन्।

उनको घरमा अहिले १८ वटा घोडा छन्। दुई जर्सी गाई र तीन गोरु पालेका छन्। प्रहरीमा जागिरे छोरालाई जागिर छोडाएर ओखर खेतीमा लगाएका छन्। उनी गाउँमा ओखर खेतीको बारेमा सिकाउँछन्। बगैँचामा पुगेका किसानलाई ओखर खेतीमा लाग्न हौसला दिन्छन्।

उनले विदेशबाट भित्रिने होमक्वारेन्टिनमा नराखिएको च्यान्दलर जातको ओखर र फुजी जातको स्याउले रोगकिरा संक्रमण बढाएको बताए। पातमा बिबिरा आउने, किरा देखिने र पात सुक्ने जस्ता रोग देखापरेको बताए। यो रोगका कारण चार भागमा एक भाग मात्र ओखरले फल दिएपनि उनले वार्षिक २० क्वीन्टल ओखर फलाएका छन्।

जुम्ला भित्रिने प्रशासक, न्यायधिस र आगन्तुक सरकारी सुरक्षा अधिकारीलाई उनले बगैँचाको स्याउ र ओखर चख्याउँछन्। स्याउ भण्डारण गर्ने शून्य शितभण्डार छ। घर भन्दा झण्डै डेढ किलोमिटर टाढा रहेको बगैँचामा उनले लोभ लाग्दो ओखर बगैँचा बनाएका छन्। उनले यो समयमा पनि ओखर ग्राफ्टिङ गरेका छन्। यो बगैँचमा शंखुबहादुरको अनुसन्धानले कृषि वैज्ञानिकलाई समेत चुनौति दिएको छ। ओखरको विरुवा रोप्ने र ग्राफ्टिङ गर्ने समय फागुन चैत महिनाको हो। तर उनले अहिले पनि गरिरहेका छन्। त्यो सफल पनि भएको उनको अनुभव छ।

उनी बागबानी अनुसन्धान केन्द्र राजिकोटले सिफारीस गरेको तीन जातको ओखर बाहेक अन्य ओखरको नाम आफ्नै नाम बाट राख्ने तयारीमा छन्। अहिले उनको सबै परिवार ओखर खेतीमा लागेको छ। जुम्लावासीले शंखुबहादुरलाई ओखरको प्रर्यायबाचीका रुपमा चिन्छन्। ‘पहिले हेल्भेटासको सहयोगमा सुर्य सामाजिक सेवा संघले ओखर खेतीका बारेमा प्राविधिक ज्ञान दिएको थियो’, उनले भने, ‘अहिले म ओखर खेतीको अब्बल प्रशिक्षक भइसके।’ उनले राष्ट्रिय,अन्तर्राष्ट्रिय र जिल्ला स्तरमा गरेर दर्जनौ पुरस्कारबाट सम्मानित भइसकेका छन्।

 

‘नेपाली आफ्नो खेतबारीमा पसिना बगाउन लजाउँछन्। विदेशी भूमिमा गएर फोहोर सोहर्न तयार हुन्छन्। तर आफ्नै भूमिका सुन फलेको देख्दैनन्। अचम्म लाग्छ।’ स्थान र मौसम अनुकुलको खेती गरे विदेश धाउनु नपर्ने तर्क उनको छ। ओखर खेतीले शंखुबहादुरलाई देश विदेश चिनाएको छ। यसमै उनी दङ्ग छन्।

उनले भने,‘स्याउ ओखर खेती नअंगालेको भए सुकुम्बासीमै सीमित हुन्थे। सडकमै हुन्थे। सायद कसैको भरिया हुनुपर्थ्याे। तर स्याउ, ओखर खेती गर्दा अहिले समाजमा किसानको रुपमा छाती फुलाएर हिँड्न सकेको छु। परिवारको आर्थिक अवस्था सुधारिएको छ। यसैमा ढुक्क छु। यही मेरो जीवनको सबैभन्दा ठूलो खुसी हो।’

जुम्लामा तातोपानी गाउँपालिका र पातारासी गाउँपालिकामा ओखर प्रशोधन केन्द्र स्थापना भएको छ। उनले भने, ‘ओखरको दाना र विरुवा बेचे पनि रुपैयाँ कमाउन सकिन्छ तर दाना प्रशोधन गरेर तेल निकाल्न सके मनग्गे कमाइ हुन्छ।’

जुम्लामै ओखरको तेलको मूल्य प्रतिलिटर एक हजार पाँच सय रुपैयाँ पर्छ। दाँते ओखर प्रतिकेजी एक हजार रुपैयाँमा किनबेच भइरहेको छ।

Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो २५ नर्स र ८ विशेषज्ञ चिकित्सक

३० श्रावण २०७८, शनिबार १८:००
जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २५ जना स्टाफ नर्स सहित ५ जना प्रोफेसर, ३ जना एसिस्टेन्ट प्रोफेसर, १ जना हिस्टो टेक्निसियन र १ जना एनेस्थेसीया एसिस्टेन्टको लागि खुल्ला आह्वान गरेको छ । प्रतिष्ठानले १५ दिनको सूचना जारी गरी दरखास्त आह्वान गरेको हो । आवेदन दिन इच्छुक उमेदवारले कृषी विकास बैक […]