सानलुकास जेलबाट श्रीमतीलाई चिठ्ठी

  ।   १६ श्रावण २०७८, शनिबार ०७:२५

मेरी प्यारी मुना,

 

 

लाख लाख सम्झना र अगाध प्रेम। तिम्रो काखमा हुर्केर अहिले आँगनमा खेल्ने छोरा अनि तिम्रो कोखमा हुर्किरहेको हाम्रो मायाको निसानीलाई पनि मेरो लाखलाख माया र प्रेम।

यात्राका क्रममा निरन्तर तिमीसित सम्पर्क भै रहेपनि मैले तिमीलाई यो यात्राको यथार्थ अवस्था अहिलेसम्म बताएको थिइनँ। म केहि गरी मरिहालेँ भने तिमीले यो सत्य थाहा नपाउली भन्ने डरले ती सबै सत्य कुरा यहाँ लेख्दैछु।

के गर्नु! सञ्‍चार प्रविधिको यस्तो विकास भएको युगमा पनि यसरी चिठ्ठी लेख्नु परेको छ। थाहा छैन, तिम्रो हातमा यो पुग्छ कि पुग्दैन। तिम्रो हातमा पुगेन भने पनि भगवानलाई पक्कै थाहा होला, मैले पोखेका मनका पीडाहरू। भगवानले पढेनन् भने पनि मेरो मन भने पक्कै हल्का हुने आशा छ, यो लेखेपछि।

लमजुङको गाउँपाखामा जन्मे/हुर्केको भए पनि मेरो परिवार त्यति गरीब होइन। मेरा बाउ-बाजेले जति मेहनत गरेपनि शिक्षा, स्वास्थ्यसेवा, यातायात, सञ्‍चार र विभिन्न प्रविधिसम्म पहुँच नभएका कारण दुखी नै भएर आफ्नो जीवन बिताउन र राम्रो उपचार नपाएर अकालमै मर्नुपरेको थियो।

तर, मेरो पालामा गाउँमा विद्यालय खुल्यो। गाउँमै एसएलसीसम्म पढ्न पाएँ। पल्लो गाउँ हुँदै अहिले त हाम्रै गाउँसम्म पनि यातायात सुविधा आइपुग्यो। गाउँमा दुःख गरेर फलाएको अन्न, तरकारी, फलफूल, घरमै पालेको खसीबोका अनि हाँसकुखुरा बेचेर दुईचार पैसा कमाउने सुविधा मिलेकै हो।

तर अचम्म, जहाज त दुबईमा गएर रोकियो। अनि त्यहीँ भेटिएको दलालले हामी ३२ जनालाई एउटा घरमा लगेर १५\२० दिन राख्यो। त्यसपछि उडेको जहाज अमेरिका जान छोडेर फिलिपिन्सको राजधानी मनिला पो गएर उत्रियो। त्यहाँबाट चिली पुगेर त्यहाँको राजधानी स्यान्टियागोमा जहाज ल्यान्ड गर्‍यो।

त्यही कमाइमा अलिकति ऋण धन थपेर त बा आमाले मलाई काठमाडौँसम्म पठाउनुभयो क्याम्पस पढाउन। र; त्यही क्याम्पसको वातावरणमा तिमीसित भेट भयो, मायाप्रेम बस्यो। त्यही पढाइको प्रमाणपत्रको मूल्यमाथि बाको भनसुन थपेर पल्ला गाउँका भिनाजु मन्त्री भएका बेला एउटा सानोतिनो अस्थायी जागिर मिलेको हो।

त्यही जागिरमा क्रममा मिलेको मोटरसाइकलमा चढाएर तिमीलाई भगाएको, अनि त्यसैको कमाइले मन्दिरमा सिन्दुर छर्केर तिमीलाई बिहे गरेको हो। गाउँमा राम्रै जग्गा-जमिन भएको र शहरमा जागिर भएको केटो भनेपछि तिम्रो ड्याडी मम्मीले पनि बोलाएर फेरि बिहे गर्दिनुभएको त हो।

मान्छेको जति विकास भयो उति आवश्यकता बढ्दोरहेछ। जति सुविधाको विस्तार भयो, उति खाँचो थपिँदो रहेछ र मान्छे जति माथि पुग्यो-उसको आकांक्षा उति बढ्दोरहेछ।

शहर बसेपछि म पनि सुविधाभोगी हुनु सामान्य भैहाल्यो। शहरको जागिर छोडेर गाउँ गएर भैसी गोरु पाल्ने र हलो जोत्ने कुरा मेरो लागि सम्भव थिएन। तिमी पनि पढे लेखेकी, गाउँ लगेर घाँस दाउरामा तिमीलाई थन्क्याउने कुरा भएन। तिमी गर्भवती भएर जागिर गर्न पनि नसक्ने भयौ। बच्चा जन्मेपछि खर्च निकै बढ्यो।

म पनि ठीकै खानदानको छोरो, तिमी पनि राम्रै खानदानकी छोरी, भोजभतेर चाडपर्व जस्ता कुरामा समाजसँग मिल्नैपर्‍यो। बच्चालाई स्कूल हाल्ने बेला भयो, राम्रै स्कूल खोज्नुपर्‍यो।

चार पैसा कमाइ-१२ पैसा खर्च भनेजस्तो हुन थाल्यो। जागिरले नधानेपछि के गर्ने भन्ने कुरा मनमा खेल्न थाल्यो।

मेरा थुप्रै आफन्त र साथीभाइ युरोप अमेरिका, अष्ट्रेलिया,जापान पुगेर कुस्ती सम्पत्ति कमाएका छन्। अमेरिका बस्ने आफन्तहरूले ‘जसरी भएपनि अमेरिका आइज, नेपालमा कति दु:ख गर्छस्?’ भनेर उकास्न थाले।

जान त जाने अमेरिका! तर कसरी जाने? वर्षेनी डीभी चिठ्ठा भर्दा पनि म अभागीलाई कहिल्यै परेन। स्कलरसीप पाएर जाने त कुरै भएन म जस्ता मध्यमस्तरका विद्यार्थीले।

तर जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ चोरबाटोबाट अमेरिका लैजाने हाम्रै पल्लो गाउँका भान्दाइ पर्ने दलाल भेटियो।

उनले पनि ‘खास अमेरिका लाने रेट त कम्तिमा ६० लाख हो, तर तँ आफ्नै मामाको छोरो, तँलाई १० लाख छुट भो, ५० लाख अहिल्यै जम्मा गर, आउने महिना उँडाइदिन्छु’ भने। भान्दाइले भनेपछि विश्वास लागिहाल्यो।

मैले पनि अमेरिकाको सपना देख्न थालेँ। तिमी पनि मख्ख परेर ‘बुढो जसरी पनि अमेरिका गएर मलाई पनि बोलाउनुपर्छ, अनि हामी उतै सेटल हुनुपर्छ। मलाई सबै दिदी बैनीले ‘हामीभन्दा गरीबसँग गएकी’ भनेर हेप्छन्, तिनीहरूलाई देखाइदिनुपर्छ’ भनेर उकास्न थाल्यौ।

पोहोर घडेरी किन्दा लागेको ऋण अझै तिर्न सकेको छैन, परार साल आमालाई दिल्ली लगेर उपचार गर्दा लागेको ऋण बल्ल बल्ल तिरियो तर, पोहोर बैनीको बिहे गर्दा लागेको ऋण अझै तिन सकेको छैन, रकम कसरी जुटाउने होला भनेर तनाव हुन थाल्यो।

तर, अमेरिका जाने भनेपछि आफन्तहरूले पनि सर्लक्कै ऋण पत्याए। अरू त अरू, दशैँमा दक्षिणा दिँदा पनि थोत्रो खाममा हालेर दिने तिम्रा मक्खिचुस ड्याडीले समेत लाखौँ रुपैयाा सापटी दिनुभयो एकै वचनमा।

अमेरिका गएर डलरको हरियो बिटो कमाउन थालेपछि त यो सबै ऋण सहजै तिरिहाल्छु भनेर अहिलेसम्म नदेखेको पैसाको बिटो भान्दाइको हातमा हाल्दिएँ मैले।

यसरी अमेरिका जाने भनेर जहाज चढियो दुबईको।

तर अचम्म, जहाज त दुबईमा गएर रोकियो। अनि त्यही भेटिएको दलालले हामी ३२ जनालाई यौटा घरमा लगेर १५\२० दिन राख्यो। त्यसपछि उडेको जहाज अमेरिकातर्फ होइन, फिलिपिन्सको राजधानी मनिला पो गएर उत्रियो। त्यहाँबाट चिली पुगेर त्यहाँको राजधानी स्यान्टियागोमा जहाज ल्याण्ड गर्‍यो।

अनि, दुबईजस्तै त्यहाँ भेटिएको नयाँ दलालले एउटा घरमा लगेर १० दिन जति राख्यो। त्यहाँसम्म त मलाई रमाइलै लागिरहेको थियो। नेपाली साथीहरू धेरै भएकोले खासै बोर लागेको थिएन। त्यहाँबाट फेरि जहाजमा चढाएर कोलम्बिया लग्यो। अनि त्यहाँको राजधानी बोगोटा विमानस्थलमा झार्‍यो।

त्यहाँको एउटा अँधेरो सुरुङजस्तो घरमा एक हप्ताजति राखेर गाडीमा चढाएर १८ घण्टा पछि एउटा गाउँमा लगेर झार्‍यो। त्यहाँबाट बोलेकै नबुझिने मान्छेले इसाराको भरमा जंगलै जंगल हिँडाउँदै लग्यो र दई दिन दुई रात हिँडाएपछि फेरि अर्को एउटा गाउँमा लगेर राख्यो।

म त गाउँमा जन्मे हुर्केको कारण बल्लबल्ल भए पनि हिँड्न सकेँ, तर तराई र शहरमा जन्मे/हुर्केका साथीहरू त बाटैमा थला परे। ‍चितवनतिरको एउटा साथी बान्ता गरेर झन्डै मर्‍यो। बसेकै ठाउँमा पसारो पर्‍यो। ‘जे भए पनि मर्न त दिनु भएन, साथी हो’ भनेर पालैपालो बोक्दै लगियो।

मलाई पनि निकै गाह्रो भयो। जंगलमा उखुम गर्मी थियो। ज्यानभरी घमौरा आयो, काछ लागेर बिजोग भयो। त्यहाँको बाफिलो हावाले अनुहार डढेर खतैखत भयो। जंगलका कीरा फट्यांग्राले टोकेर खुट्टाभरी घाउ भयो। बसुँ-यो बिरानो देशको जंगलमा एक्लै कहाँ बसूँ? हिडूँ-कसरी हिडूँ? फर्कूँ-कसरी फर्कूँ भयो।

त्यहाँ एउटा ठूलो खोला रहेछ। त्यसलाई रियो काउका नदी भन्दा रहेछन्। त्यहाँ रात परेपछि बाँसै बाँसले बनेको डुंगामा हामी नेपाली, बंगाली र पाकिस्तानी गरी झन्डै ४० जनामध्ये एक समूहमा १६\१७ जनाको दरले चढाएर नदीमा हेलिदियो। हुन त म स्कूल पढ्दा पौडेर मर्स्याङ्दी र चेपे नदी सर्लक्कै वारपार गर्थेँ। तर यो नदी कति ठूलो छ भनेर रातको समयमा भेउ नै पाइएन, डुबिहाल्यो भने के गर्ने होला भनेर सम्झेसम्मका देउताका नाम जपेँ।

बल्लबल्ल आधा घण्टामा नदी पार गरेर पारिपट्टि ८ घण्टा हिँडायो, अनि पुसिनसेलेजो भन्ने एउटा सानो बजार जस्तो ठाउँमा लगेर राख्यो। र; एउटा नयाँ दलालले आएर ‘अब अगाडि जान फेरि पैसा थप्नु पर्‍यो, तुरुन्तै पैसा नमगाए, यहीँबाट फर्क’ भनेर धम्काउन थाल्यो। साथीहरू त्यसै त थला परेका थिए। यो सुने पछि त सबै खङ्ग्रङ्ग भए।

खोटाङतिरको एउटा साथी त ग्वाँ कि ग्वाँ रुन थाल्यो, जति सम्झाए पनि नमान्ने। खालि ‘मलाई घर पुर्‍याइद्‌याओ’ भन्दै रुन्थ्यो।

दलाललाई यी सबै कुराप्रति के सरोकार, खाली पैसा थप थप मात्रै भन्थ्यो। सबैले आआफ्ना घर परिवारलाई फोन सम्पर्क गरेर पैसा मगाए।

मैले पनि बासँग सम्पर्क गरेर पैसा मागेँ। त्यही भएर त हो बाले तलको टारी खेत साहुकहाँ धितो राखेर ८ लाख पठाइदिनु भएको।

सबैसित पैसा उठाइसकेपछि १६ दिन पछि फेरि हिँडायो। १५\१६ घण्टा हिँडे पछि रिओअट्राटो भन्ने नदी आयो। त्यहाँ फेरि त्यस्तै बाँसको डुंगामा राखेर तार्दैथ्यो।

बीचमा पुगेर डुँगा घ्वाप्लाक्क पल्टियो। बाल्यकालमा सिकेको पौडीको सिप प्रयोग गर्दै एकछिनसम्म पौडी खेलेँ। तर कतिबेला पानी खाएर बेहोस भएछु, थाहै भएन। ब्यूँझेर हेर्दा बगरमा लडिरहेको रहेछु। दलालले पानीबाट उद्दार गरेर लगिएका अरू साथीहरूको समूहमा लगेर मलाई मिसायो। त्यो समूहमा हामीसित आएका ६ जना ‍अरू साथी थिएनन्।

ती पानीमा डुबे कि के भयो। तर ‘उनीहरू पछि आउँछन्’ भनेर हामीलाई गाडीमा राखेर लग्यो। ती छुटेका साथीसित भने फेरि भेट भएन।

सँगै गाडीमा गैरहेको एउटा बंगाली साथी बिरामी परेको थियो र ‘अल्लाह उ अकबर, खुदा मुझे बचालो’ भन्दै छट्पटाउँदै थियो। बाटैमा प्राण परित्याग गर्‍यो। त्यसको लाश दलालले के कसरी व्यवस्थापन गर्‍यो, थाहा भएन।

केहि घण्टापछि कोलम्बिया र पानामाको सिमानामा पर्ने गोर्डोन विले भन्ने ठाउँ आइपुगेछ। त्यहाँ रातको ९ बजेसम्म पर्खाएर हामी बाँचेका १४ जनालाई सिमाना कटायो।

बेला बेला म आफू समुद्रमा डुबेको, अनि ऋण तिर्न नसकेर बाले आत्महत्या गरेको सपना देख्छु। कहिले भने छोराले उसका साथीहरूलाई ‘मेरो पापा अमेरिका गैसेको छ, मलाई पनि लैसिन्छ’भनेर गफ लगाएको देख्छु भने तिम्रो पेटको सन्तान जन्मेर ‘मेरो बाबा खोइ?’ भनेर सोधेको देख्छु।

त्यहाँबाट लगातार २६ घण्टासम्म संगुर बोक्ने एउटा ट्रकमा रोकिँदै हिँड्दै पानामाको सम्पूर्ण भूभाग पार गरेपछि रातको ११ बजेतिर पानामा र कोष्टारिकाको पासोक्यानोस भन्ने सिमानामा पुगिएछ।

त्यहाँ पानामाको पुलिसलाई घुस खुवाएर हाम्रो गाडी पार भयो। तर पारीपट्टि कोष्टारिकाको पुलिसले हामी सबैलाई समातिहाल्यो।

कोष्टारिका कटेर निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको पुग्ने, अनि त्यहाँबाट अमेरिकाको सिमानामा पुगेर पर्खाल नाघेर अमेरिका पुग्ने मेरो सपनामा यहीँ तुसारापात भएझैँ भयो।

पैसा खुवाएर सिमानाका सबै जाँच चौकीहरूमा पार गराउने भनी कुरा मिलाइसकेको कुरा दलालले बताएपनि किन हो कुन्नि त्यहाँको पुलिसले हामी सबैलाई गिरफ्तार गरेर दुई रातसम्म राजधानी सानजोसेको पुलिस थानामा राखेर तेश्रो दिन सानलुकास टापुको जेलमा लग्यो।

अहिले म यही जेलमा छु र यहाँ आएर थुनिएको पनि ३ हप्ता भैसक्यो। अहिलेसम्म मलाई छुटाउन पनि कोही आएको छैन। यहाँ हाम्रो देशको दूतावास, कन्सुलेट कोही पनि छैन कि के हो कुन्नि, नत्र त केहिगरी म यहाँ भएको पत्ता पाएर छुटाउन आउँथे होलान् कि!

यहाँका मान्छे स्पेनिस भाषा बोल्छन्‌, तर म जान्दिनँ। कर्मचारी र पुलिसहरू अलि अलि अंग्रेजी बोल्छन्, तर म पनि अंग्रेजीमा मनको कुरा मिलाएर भन्न जान्दिनँ। कसैलाई फोन गरौँ, भाइबर, मेसेन्जर, इमो आदिमा खबर पठाऊँ-फोन छैन, इमेल गरौँ-कम्प्युटर छैन। कसैसित मागूँ-चिनेजानेको कोहि छैन।

पुलिसहरू मसँग विभिन्न कुरा सोध्छन्। तर भाषिक समस्याका कारण म मेरा कुरा भन्न जान्दिनँ।

यहाँ खान बस्न त राम्रै व्यवस्था छ। तर मलाई अचेल एकदम गाह्रो हुन थालेको छ। मलाई खाना रुच्दैन, केहि खाइहाले बान्ता भएर जान्छ। रातिमा पटक्कै निन्द्रा लाग्दैन।

बेला बेला म आफू समुद्रमा डुबेको अनि ऋण तिर्न नसकेर बाले आत्महत्या गरेको सपना देख्छु। कहिले भने छोराले उसका साथीहरूलाई ‘मेरो पापा अमेरिका गैसेको छ, मलाई पनि लैसिन्छ’ भनेर गफ लगाएको देख्छु भने तिम्रो पेटको सन्तान जन्मेर ‘मेरो बाबा खोइ?’ भनेर सोधेको देख्छु।

रातदिन ‘अमेरिकाको सपना नदेखेर नेपालमै आफ्नो खेत पाखामा कृषि व्यवसाय गरेर बसेको भए मज्जाले पालिन सकिन्थ्यो। तीन करोड नेपाली अटाएको देशमा म जाबो एउटा मान्छे अटाउन्नथेँ र? धेरै ठूलो लोभमा फसेर बेकारमा बिरानो देशको जेलमा सड्न आएँ’ भनेर एक्लै रुन्छु म।

मलाई त डिप्रेसन भएजस्तो छ। बिरानो देशमा मेरो दुःख बुझ्ने कोही छैन। थाहा छैन, यो चिठी तिम्रो हात परिञ्जेल मेरो हालत के हुने हो।

मलाई थाहा छैन, यो बिरानो टापुको जेलमा कति वर्ष थुनिनुपर्ने हो। यहाँबाट निस्केपनि घरसम्म कसरी फर्किने हो। अब श्री पशुपतिनाथको पुकारा गर्नु बाहेक मेरो अरू के पो उपाय छ र!

बरु केहि गरी यो चिठ्ठी तिम्रो हात पर्‍यो भने, विदेशको चमकधमक देखेर गैरकानूनी बाटो हुँदै यतातर्फ कोही नआउनु भनेर सबै नेपाली युवालाई मेरो सन्देश पुर्‍याउने व्यवस्था गरिदिनु है!

अनि अन्त्यमास बुबा आमा, सानो छोरो र अब जन्मिने हाम्रो सन्तानलाई मेरो तर्फबाट सरी भनिदिनु ल!

तिमीलाई खुशी बनाउन नसकेकोमा त म के भनूँ, मेरो भन्ने कुनै शब्द नै बाँकी छैन।

सरी बुढी, सरी…

उही तिम्रो अभागी पति

मदन

सानलुकास जेल,

कोष्टारिका

जुलाई १७, २०२१

Next Post

नयाँ शैक्षिक सत्र पनि कोरोना कहरमा

१६ श्रावण २०७८, शनिबार ०७:२५
  काठमाडौं : नेपालमा पुन: दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो। निषेधाज्ञा कारण हालसम्म कुनै पनि शैक्षिक संस्था खुलेका छैनन्। विद्यालय बन्द भएकाे भोलि (शनिबार) तीन महिना पूरा हुँदै छ। सरकारले गत असार १ गतेदेखि २०७८ को नयाँ शैक्षिक सत्र सुरु गरेको छ। शिक्षा तथा […]

सम्बन्धित