लक्ष्मीको संघर्ष : मार्केटिङ देखि स्टेशन म्यानेजर सम्म

 

लक्ष्मीको संघर्ष  :  मार्केटिङ देखि स्टेशन म्यानेजर सम्म

 

सानै उमेर देखि गाउने रुची । बोल्ने रहर । प्रश्न गर्ने इच्छा । अनि संघर्ष गर्ने बानी परिसकेकी लक्ष्मी । अहिले रेडियो नारीआवाज जुम्लाकी स्टेशन म्यानेजर छिन् । उनलाई सानै उमेरदेखि लाथ्यो ‘ मञ्चमा गएर गीत गाइरहुँ । नाचिरहुँ । बोलिरहुँ । हाँसिरहुँ । ’ उनले जे जति जीवनमा चाहिन । त्यो व्यवहारमा लागु पनि गरिन ।
उनको शिक्षा गाउँको सामान्य स्कुलबाट शुरु भयो । उनी गीतबाटै तत्कालिन चौध अञ्चल पचहत्तर जिल्लाको नाम सुनाउँथिन । देउडाकी खानी पनि हुन लक्ष्मी । विद्यालय स्तरमा हुने हरेक देउडा प्रतियोगितामा उनी प्रथम हुन्थिन । देउडाले समाजको आवाज बोल्थ्यो । सचेतना पनि उत्तिकै दिन्थ्यो । त्यो देउडा स्थानीय भाषामा गाइने भएकोले निरक्षरहरुले सहजै बुझ्थे ।
स्कुल स्कुलबीचमा हुने दोहोरी प्रतियोगिताकी उनी कडा प्रतियोगी पनि हुन । उनलाई गीत गाउन अंकल आदीप्रसाद न्यौपाने,जयकृष्ण न्यौपाने र चन्द्रलाल न्यौपानेले प्रेरित गरिरहे । बुबा पनि गीतको सौखिन थिए । हरेक प्रतियोगितामा छोरी प्रथम होस भन्ने चाहना हुन्थ्यो । बुवाको भरोसाले झनै उत्साहित हुदै गीत गाउँथे । उनले भनिन्,‘ गीत गाउदै जुम्लाका विभिन्न गाउँबस्तीमा पुग्ने अवसर मिल्यो । यो निकै ठुलो अवसर थियो ।
हुड्के नाच कर्णालीको महत्वपुर्ण सांस्कृतिक धरोेहर हो । २०६९ सालमा तत्कालिन जिल्ला विकास समितिमा भएको हुड्के नाँचमा प्रथम भइन । त्यो लगत्तै लक्ष्मीलाई कर्णालीकै पहिलो एफएम रेडियो कर्णालीमा काम गर्ने मौका मिल्यो । पहिले गाउँमा खेतबारीको कान्ला,बनपाखामा रेडियो सुनेर बसिन्थ्यो । भात पकाउने बेला नछुटाई कायैक्रम सुनिन्थ्यो । उनले भनिन्,’‘रेडियोमा कुन कार्यक्रम कतिबेला बझ्छ भन्ने सबै थाहा थियो । यसले रेडियोमा काम गर्ने जागर चल्थ्यो । ’
रेडियो सुनेर लक्ष्मी फयान भइसकेकी थिइन् । लाग्थ्यो,‘रेडियो असल साथी हो । ’ रेडियो सुन्दैगर्दा पढ्न बिर्षन्थ्येँ । पस्केको भात खान भुल्थेँ । उनले भनिन्,‘बुबा आमाले निकै गाली गर्थे । ’ राती रेडियो खुला गरेरै छाडेकोले पटक पटक ब्याट्री सकिन्थे । सकिएका ब्याट्री घाममा सुकाएर भएपनि रेडियो सुन्नै पथ्र्यो । रेडियो नबज्दा छटपटि नै हुन्थ्यो । बुवालाई फकाएर ब्याट्रीको व्यवस्थापन गर्थिन ।
रेडियो सुन्दै गर्दा कार्यक्रम चलाउन रहर जाग्यो । रेडियोमा काम गर्ने अवसर मिलेकोले रहर पुरा हुने विश्वास जाग्दै थियो । तर रेडियोमा कार्यक्रम चलाउन त्यति सहज थिएन । पहिलो पटक रेडियोमा जाँदा निकै डर लाग्यो । भित्र स्टुडियो । बाहिर प्राविधिक कक्ष । माइक र भित्रको सजावटले बोलु भन्दा पनि धक लाग्थ्यो । त्यो देखेर आफैमा अचम्म लागेको थियो । गाउँमा सानो रेडियोमा मान्छे कता बसेका होलान भनेर छटपटि भइरहन्थ्यो । आखिर रेडियो त ठुलो कोठाबाटै चल्दोरहेछ ।
एक्कासी स्टेशन म्यानेजर गोरखबहादुर थापाले सोधे,‘त्यो भित्रको कोठाबाट बोल्नुपर्छ । तिमीले बोलेका आवाज प्रत्येक रेडियो सेटमा पुग्छ । तिमीले बोल्न सिकेर त्यही भित्र गएर बोल्नुपर्छ । स्रोताको असल मित्र बन्नुपर्छ । ’ भित्रभित्रै मन खुसि भयो । तर त्रास बढ्यो । हरेक पटक रेडियोमै बोलेको सम्झन थालेको उनी बताउँछिन ।
रेडियो पत्रकारिता पढेको पनि होइन । रेडियोको कुनै अनुभव पनि थिएन । उनले भनिन्,‘पहिलो पटक रेडियो ओपनिङ गर्न जाँदा मुटु नै काँप्यो । एउटा रेडियोको माइकमा यति ठुलो शक्ति हुदोरहेछ । बल्ल थाहा भयो ।’ त्यतिबेला डिबी बुढा दाइले रेडियोको समाचार र कार्यक्रम गाइडिङ गरिरहनु भएको थियो । दाइले लेखेको ओपनिङ स्क्रिप्ट लिएर स्टुडियोमा पसेको थिए । आज दिनभरी पढ्नु बेलुका ओपनिङ गर्नुपर्छ भनेर भनेको त्यो वाक्य अहिले सम्म भुल्न सकेको छैन ।
स्टुडियोमा प्रवेश गर्दा लाग्थ्यो ‘मलाई देवता चढ्दैछ । त्यही भएर काँपीरहेकी छु । उनले भनिन्,‘तर रेडियोमा काम गर्ने सहकर्मीहरुले दिएको उच्च मनोबलले म यहाँ सम्म आइपुगे । यसमा पनि खुसि नै छु ।’ विस्तारै कार्यक्रम बनपाखा चलाउन थाले । बनपाखा कर्णालीको देउडा, र ठाडी भाका संग सम्बन्धित कार्यक्रम थियो । त्यो पनि स्क्रिप्ट लेखेर पढ्दै गए । खाना खाँदा,बस्दा, हिड्दा त्यही स्क्रिप्ट गुनगुनाउँथेँ ।
त्यो कार्यक्रम रेडियो कर्णालीको लोकप्रिय कार्यक्रम हो । अहिले पनि चलिरहेको होला ।
रेडियो कर्णालीको स्टुडियोमा बोल्दै जाँदा बजार व्यवस्थापनको जिम्मेवारी पनि रेडियोले दियो । विस्तारै मार्केटिङको काम गर्न थाले । सायद मार्केटिङमा सफल नै थिएँ । उनले भनिन्,‘ मार्केटिङ रेडियोको जीवन हो । रेडियोको जीवनको लागि बजारमा जान्थे । ’
उनले उच्च शिक्षा दुर्गा माध्यमिक विद्यालयबाट गरिन । विद्यालयमा पढ्ने र रेडियोमा बोल्ने,बजार व्यवस्थापन संगसंगै गरिन । यो निकै चुनौतिपुर्ण कार्य थियो । उनले त्यो समयको व्यवस्थापन सहजै रुपमा गरिन ।
पारीवारिक रुपमा जेठो छोरी हुन । घरको जिम्मेवारी पनि ठुलो थियो । रेडियोमा काम गर्ने इच्छा पुरा नहुँदै २०७४ मा रेडियो छोड्न बाध्य भइन । बाँकी समय बुवाको स्याहारमा बित्यो । जति प्रयास गरे पनि बुवालाई बचाउन सकिनन् ।
बुवा वितेपछि नारीहरुले मिलेर चलाएको रेडियो नारीआवाजमा काम गर्ने अवसर मिल्यो ।अहिले रेडियो नारीआवाजको स्टेशन हेरिरहेकी छु । रेडियो प्रस्तोता हुदै मार्केटिङ र स्टेशन म्यानजर हुँदा गर्व लागिरहेको छ । आफुले सक्ने जति रेडियोमा काम गरिरहेको छु । उनले भनिन्,‘रेडियोको उन्नतिको लागि जस्तो सुकै जोखिम उठाउन तयार छु । ’उनलाई यहाँ सम्म पुगाउनको लागि उनका जीवन साथी पदमसिंह कठायतले भरपुर साथ दिइरहेका छन ।
लक्ष्मीको अहिले आफ्नै व्यक्तिगत मिडिया हाउस छ । चन्दननाथ मिडिया प्रा.लि. बाट उनले न्युज सरोकार अनलाइन सञ्चालनमा ल्याएकी छिन । यो अनलाइन चलाउनको लागि बहिनी मञ्जु शाहीको ठुलो साथ छ । उनले भनिन्,’प्रस्तोता हुदै,मार्केटिङ देखि स्टेशन म्यानेजर सम्म पुग्दा साथ दिने सबै प्रति आभारी छु ।’

सम्बन्धित शीर्षक