सल्यान : शारदा नगरपालिका–१० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालयको छाना हावाले उडाएको दुई वर्ष भयो। कक्षा ५ सम्म पठनपाठन हुने उक्त विद्यालयमा ६३ जना विद्यार्थी छन्। दुई वर्षसम्म पनि मर्मत नभएपछि बालबालिका भुइँको चिसोमा बसेर पढ्न बाध्य छन्।
शारदा–९ बागचौरस्थित कृष्ण आधारभूत विद्यालयको कक्षा कोठामा डेस्क बेन्च होइन‚ ठूल–ठूला खाडल छन्। यतिमात्र होइन भवन जीर्ण छ, खानेपानीको अभाव छ। यस्तै ठाउँमा बसेर साना बालबालिकाले पढ्नुपर्ने बाध्यता छ।
बनगाड कुपिण्डे नगरपालिकाको महादेव आधारभूत विद्यालयका बालबालिकाको अवस्था पनि योभन्दा फरक छैन। भवन जीर्ण हुँदा ठूलो हावाहुरी र वर्षा भएको समय भवन भत्किने डरले बालबालिका विद्यालय नै आउँदैनन्।
यी त केही उदाहरण मात्र हुन्। सल्यानका सामुदायिक विद्यालयमध्ये अधिकांश विद्यालयको अवस्था दयनीय छ। जीर्ण भवन, शौचालय जीर्ण, खानेपानीको अभाव, घेरबार नहुँदा समस्या त छ नै। त्योभन्दा ठूलो समस्या बालबालिकाले पुस/माघको जाडोमा कसरी पढ्ने भन्ने चिन्ता छ।
छाना नभएको विद्यालयको कक्षा कोठाभित्र पढ्न बसेका बालबालिका कोठाभित्रै आधा कार्पेट राखेर जता घाम त्यतै बसेर पढ्ने गर्छन्। विद्यालयमा न बस्ने बेच्न छ न छाना। खुला आकाश र भुइँको चिसोले गर्दा बालबालिका बिरामी समेत हुने गरेको जनता प्राथमिक विद्यालयका कक्षा ५ मा अध्ययनरत सुशील विकले बताए।
छाना नहुँदा चिसो हुने, पढ्न मन नलाग्ने पानी परेको बेला विद्यालय नआउने गरेको कक्षा ४ मा अध्ययनरत लक्ष्मी विकको भनाइ छ। उनले भनिन्‚ ‘चिसोमा पढ्न मनै लाग्दैन, कति बेला घण्टी बज्ला र बाहिर घाम ताप्न जाउँला जस्तो हुन्छ। सरहरुले भित्र बसेर पढ भन्नु हुन्छ। भित्र बसेर पढ्न सकिँदैन।’
विद्यालय मर्मतका लागि सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि ध्यान नदिएको शारदा नगरपालिका–१० पैयाखर्कस्थित जनता प्राथमिक विद्यालय प्रधानाध्यापक डम्बर चलाउनेले बताए। दुई वर्षअघि विद्यालयको छाना उडाएपछि वडा कार्यालयदेखि नगरपालिका कार्यालयसम्म मर्मतका लागि गुहार माग्दा पनि पहल नभएको उनको गुनासो छ।
सरकारले सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षालाई जोड दिन विद्यालयमा भौतिक पूर्वाधार बलियो र प्रविधिमैत्री बनाउँदै लैजाने भनेर बर्सेनि शिक्षा क्षेत्रमा पर्याप्त मात्रामा बजेट विनियोजन गदै आएको भए पनि जीर्ण भएका विद्यालय भवन मर्मत गर्न कसैको ध्यान नगएको महादेव आधारभूत विद्यालयका शिक्षक धनबहादुर डाँगी बताउँछन्।
२०३७ सालमा स्थापना भएको कृष्ण आधारभूत विद्यालयमा संरचनागत रुपमा सुधार नआउँदा कक्षा ४ र ५ का विद्यार्थी एउटै कार्पेटका भर पढ्दै आइरहेका छन्। बाहिर चौरमा बसेर पढाउने वातावरण नभएको बताउँदै निमित्त प्रधानाध्यापक चिनबहादुर बुढाथोकीले बताए। तारबार नहुँदा मानिसहरुको आवतजावत भइरहने र गाईबस्तुदेखि स्थानीयको कुखुरासमेत विद्यालयमा परिसरमा आउने उनले बताए। विद्यालयको भौतिक संरचना सुधारका लागि वडा कार्यालय हुँदै नगरपालिका कार्यालयसम्म माग गर्दा समेत आश्वासनबाहेक केही नपाएको उनको गुनासो छ।
‘विद्यालयका आन्तरिक स्रोत छैन। तीन जना शिक्षक दरबन्दी र एक जना राहतमा हुनुहन्छ‚’ उनले भने‚ ‘बाँकी निजी स्रोतबाट शिक्षक भर्ना गरेर विद्यालय सञ्चालन गरी रहेका छौं।’
उता शारदा नगरपालिका–१० का वडाध्यक्ष रेशमबहादुर बुढाथोकीले भने हावाले उडाएको भवनको मर्मतका लागि तीन लाख रूपैयाँ विनियोजन गरिएको बताउँछन्। यसै वर्ष पुनर्निर्माण सम्पन्न गरी तीन लाख विनियोजन गरिएको उनको भनाइ छ। भवनको छाना राख्न नगरपालिकामा धेरै माग गरे पनि बजेट विनियोजना नभएपछि वडामा रहेको बजेटबाट भवन मर्मत गर्न थालिएको वडाध्यक्ष बुढाथोकीको भनाइ छ।
विद्यालयमा अनुदान र लगानी बढे पनि सल्यानका अधिकांश विद्यालयमा भौतिक पूर्वाधार नै गतिलो नभएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लालबहादुर घर्ती बताउँछन्। सल्यानमा ४४३ प्राथमिक (सामुदायिक) र ५१ संस्थागत विद्यालय छन् भने ८९ वटा माध्यमिक विद्यालय छन्।
साबिकको जिल्ला शिक्षा कार्यालयले गर्दै आएका काम कारबाहीको सबै जिम्मेवारी स्थानीय तहमा गएकाले कार्यालयले केही गर्न नसकेको उनको भनाइ छ। जिल्लाका विद्यालयहरूमा कतै शिक्षक छन् विद्यार्थी छैनन्, कतै विद्यार्थी र शिक्षक नभएको उनले बताए। विद्यार्थी र शिक्षक भएको विद्यालयमा भौतिक संरचना अभावले पढाइ प्रभावित भइरहेको इकाइ प्रमुख घर्तीको भनाइ छ।
शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई आए पनि बजेट अभावका कारण विद्यालयको पूर्वाधारलाई जोड दिन नसकेको शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले बताए। स्थानीय तहले बर्सेनि लाखौँ रुपैयाँ शिक्षा क्षेत्रमा विनियोजन गर्दै आएको र स्तरीय भवन निर्माण, ई–हाजिरी, सिसी क्यामरा जडान, विद्यालयहरूमा ल्यापटप वितरण गर्दै आएको उनको भनाइ छ। बाँकी रहेका सामुदायिक विद्यालयका भौतिक पूर्वाधार निर्माणमा पनि जोड दिईएको प्रमुख अधिकारीले बताए।