बालविवाहलाई कुनैपनि धर्मले प्रोत्साहन नगर्ने सबै धर्मका गुरुहरुले बताएका छन्। हिन्दू धर्मावलम्बीका गुरुको रुपमा परिचित हर्ष थापाले बालविवाह लगायत समाजमा रहेका हानिकारक अभ्यासलाई हिन्दू धर्मले साथ नदिने बताए। उनले भने, ‘बालबालिको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्यलगायतको जिम्मेवारी अभिभावको हो, त्यस कारण कर्तव्यभन्दा बाहिरको कुरालाई हिन्दू धर्मले स्विकार्दैन।’
थापाको विचारमा सहमत जनाउँदै इस्लाम धर्मका मौलाना नज्रुन हुसेनले पनि विवाहभन्दा बालबालिकाको लालनपालन लगायत कुरामा जोड दिनुपर्ने बताए। यस्तै, बालविवाहको पक्षमा समान धारणा राख्दै किरात धर्मगुरु तीर्थ राईले निश्चित उमेर पार गरेपछि परिपक्व अवस्थामा छोराछोरीको विवाह गर्नुपर्नेमा जोड दिए। उमेर नपुगी विवाह हुने गरेका घटना समाजमा अझै रहेको भएपनि उक्त कार्य आफ्नो धर्मविपरित भएको तथ्य प्रस्तुत गरे।
नेपालको कानुनले १८ वर्ष पूरा नगरेको व्यक्तिलाई बालबालिका भनेको छ। तर विवाहका लागि महिलालाई २० र पुरुषका हकमा २२ वर्षको उमेर हक तोकेको छ। कानून विपरितका कार्य गर्नेलाई जेल र जरिवानाको सजाय पनि तोकिएको छ।
धर्म अनुसार विवाहको परम्परा फरक भएको बुद्धिष्ट धर्मगुरु भिक्षु धर्म मुर्ति बताउँछन्। तर विवाहको उमेर व्यवस्थामा फरक नभएको उनको भनाइ छ । उनी भन्छन्, ‘धर्मले उचित समयपछि र सन्तानमा जिम्मेवारी बोध भएपछि मात्र विवाह गर्नुपर्छ।’ यस्तै शारीरिक र मानसिक रुपमा पूर्ण रुपले विकसित भएमा सन्तानको विवाह गर्दा उपयुक्त हुने ठान्छन् इसाई धर्मका पादरी रुबेन पाख्रिन। बालविवाहलाई चर्च र मण्डलीमा पूर्णरुपमा बर्चित रहेको उनले बताए।
नेपाली समाजमा बिग्रेका छोराछोरीहरुको विवाह गरिदिएमा सुध्रिन्छन् भन्ने गलत मान्यताका कारण पनि उमेर नै नपुगी विवाह गर्ने गलत परम्परा रहेको छ। यसले भविष्यमा बिकराल रुप लिने जैन धर्मका गुरु डा. नमुना उपाध्यायको बुझाइ छ। उनले भनिन्, ‘जैन धर्मले परिपक्वता नभएकाहरुको विवाहलाई मान्यता दिँदैन।’
सबै धर्मको सन्देश एक भएको बताउँछन् हिन्दू धर्मका गुरु हर्ष थापा। ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो प्रमुख एजण्डा हो’, उनले भने, ‘नेपालमा रहेका हरेक धार्मिक संस्थाहरुले एक हौं भन्ने सन्देश दिएको छ।’उनी भन्छन्, ‘धार्मिक ग्रन्थहरु समाजको सेवा र कल्याण गर्न बनाइएका पुस्तक हुन्।’ हरेक मानिसहरु यसै अनुरुप चल्न सके समाजको विकास हुने उनीको विश्वास छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत बाल संरक्षण तथा विकास शाखाका प्रमुख शान्ति राज प्रसाईले कर्णाली र प्रदेश २ बालविवाहको अति जोखिममा रहेको बताए। कानुन र नीतिगत रुपमा बालविवाहलाई हेरिने दृष्टिकोणमा परिर्वत भएको उनले उल्लेख गरे। सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त बनाउने योजना अन्तर्गत आफूहरु लागिपरेको पनि उनले बताए। यस्तै बालबालिकासम्बन्धी नीति पनि तयार गरिरहेको जानकारी दिए।
यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले बालविवाह जरोदेखि नै गाडिएर रहेका कारण यसलाई पूर्णरुपले निर्मूल गर्न कठीन हुने बताए। सोही क्रममा ज्यातिष रतिदेवी श्रेष्ठले ज्योतिषशास्त्र धर्मशास्त्रभन्दा एक खुट्किला माथि रहेको बताएकी छिन्। उनले ज्योतिष शास्त्रमा विवाहलाई विवाहको चतुर अंग भनेर मानिएको बताइन्। वंश अगाडि बढाउन विवाह गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘बालविवाह र बहुविवाहलाई ज्येतिष शास्त्रले प्रतिबन्ध गरेको छ।’ सुगम स्थानमा भन्दा दुर्गम, पछौटेपन र शिक्षा कम भएको स्थानमा बालविवाहको रुप डरलाग्दो रहेको उनको भनाइ छ।
नेपालको कानुनले १८ वर्ष पूरा नगरेको व्यक्तिलाई बालबालिका भनेको छ। तर विवाहका लागि महिलालाई २० र पुरुषका हकमा २२ वर्षको उमेर हक तोकेको छ। मुलुकी ऐन, २०७४ को दफा १७३ ले बालविवाह गर्न नहुने भनी उल्लेख गरिएको छ।
कानुनले तोकेको उमेरलाई घटाएर १८ वर्षको उमेरमा विवाह गर्ने गरी कानुन संशोधन गर्न भनी छिटपुट रुपमा उठेको आवाजलाई इंगित गर्दै राष्ट्रिय सभाका सदस्य तथा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले कसैको लहलहीमा र हचुवाको भरमा विवाहको उमेरमा फेरबदल गर्न नहुने बताए। अभिभावक स्वयम ऐन परिवर्तनमा नलागि बालविवाहलाई घटाउन अग्रसर हुनुपर्ने उनको भनाइ छ।
बालविवाहलाई प्रतिबन्ध लगाएपनि बालबालिकाको विवाहको उमेर कुनै पनि धर्मले नतोकेको प्रति बाल अधिकारकर्मी तारक धितालले टिप्पणी गरे। तर कुनैपनि धर्मले बालविवाहलाई स्थान नदिएको भन्दै आभार व्यक्त गरे। उनले बालबालिकालाई मानसिक रुपमा परिपक्क बनाउने शक्ति धर्ममा रहेको बताए। उनले भने, ‘भागी विवाह समस्या भयो, किशोरकिशोरी केन्द्रित हाम्रो कार्यक्रम हुन सकेन।’
विवाह प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो। मानव अधिकारको दृष्टिकोणबाट आफूले रोजेको व्यक्तिसंग विवाह गर्न पाउने र आफ्नो भविष्यको मार्गचित्र तय गर्ने प्रत्येक नागरिकको हक अधिकार सुनिश्चित हुनु पर्दछ। यसका लागि प्रायः सबै मुलुकहरुले विवाहको न्यूनतम उमेर तोकेका हुन्छन्।
कर्णाली, लुम्बिनी र प्रदेश २ मा भागी विवाह धेरै हुने प्रदेशमा पर्दछन्। जसका कारण ति प्रदेशमा बालविवाहको अवस्था बढ्दो रहेको सिजपका अध्यक्ष नगेन्द्र डंगोलले बताए। सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण पनि बालविवाह बढेको अध्यक्ष डंगोलको बुझाइ छ।