कर्णाली जहाँ चिकित्सकले बिरामी चिन्दैनन्, बिरामीले चिकित्सक बिर्संदैनन्

  ।   २३ भाद्र २०७८, बुधबार १८:१८

कोभिड १९ का कारण लागेको पहिलो लकडाउनपछि सौभाग्यले कर्णालीको जुम्ला जान जुर्‍यो। त्यहाँ पुग्दा जुम्लाका सरकारी कार्यालय र निजी घरको आँगनमा राताराता गुलाफ फक्रिएका थिए। आँगनमा गुलाफ रोप्ने चलनै रहेछ जुम्लामा। यस किसिमको सुन्दरताले म साह्रै मुग्ध भएँ।

२०३७ सालतिर (जतिखेर पूर्वपश्चिम राजमार्ग बनेको थिएन।) भारतको गोन्डा हुँदै नेपालगन्जको सीमा रूपडियाबाट हिँडेर सुर्खेत पुगेको थिएँ। त्यतिखेर सुर्खेतसमेत अति विकट लागेको थियो। तर गएको शरद ऋतुको अन्त्यतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्लिनिकल फिजियोलोजी विभागमा प्राध्यापकका रूपमा जुम्ला पुग्दा काठमाडौंबासीले सोचेजस्तो रहेनछ जुम्ला।

‘ज्वाइँ आयो, घोडा आउनुभो,’ जस्ता भाषा बोल्ने जुम्लाका बासिन्दामा आकाशपातालको फरक थियो। काठमाडौंले जिस्काएर ‘जुम्ली’ भनेर सम्बोधन गर्ने जुम्लाबासी धेरै थोकमा अगाडि छन् अहिले। मोबाइल हातहातै छ। सामाजिक सञ्जाल चलाउँछन्। स्तरीय होटल छन्। बैंकका धेरै शाखा पुगिसके। फेसन पुग्यो। गाडी चल्छन्। युवापुस्ता अध्ययनशील छन्। सम्पन्नता छ। खानपान बदलिएको छ। जुम्लीहरू परम्परागत शैलीले बाँचेका होलान् भन्ने मेरो सोचसमेत परिवर्तन भयो।

सरकारको नजरमा सधैं टाढा भएको कर्णालीका कार्यालयमा कर्मचारी नियमित भेटिँदैनन्। त्यसैले स्थानीय बासिन्दा रुष्ट छन्। बाहिरबाट आएका मानिस हाम्रो सेवा गर्न आएका होइनन् भन्ने मानसिकता छ अधिकांश जुम्लीमा। ‘ठग्न’ आएका झैं लाग्दो रहेछ उनीहरुलाई।

सरकारको नजरमा सधैं टाढा भएको कर्णालीका कार्यालयमा कर्मचारी नियमित भेटिँदैनन्। त्यसैले स्थानीय बासिन्दा रुष्ट छन्। बाहिरबाट आएका मानिस हाम्रो सेवा गर्न आएका होइनन् भन्ने मानसिकता छ अधिकांश जुम्लीमा। ‘ठग्न’ आएका झैं लाग्दो रहेछ उनीहरुलाई।पिछडिएको क्षेत्रका रूपमा चिनिएको कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित सरकारले २०६८ कात्तिक ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको हो। त्यसपछि कर्णाली प्रदेशअन्तर्गत जुम्लाले विकासोन्मुखको पखेटा हाल्यो।

परम्परागत शैलीका घर, कच्ची सडक, स्थानीय संस्कार र संस्कृतिले मात्रै लोभ्याउँदैन अब कर्णालीको प्राकृतिक सम्पदा र भौतिक पूर्वाधारअन्तर्गतका आधुनिक संरचनाले पनि लोभ्याउन सक्छ। सहज रूपमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन तथा सर्वसाधारण जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठान सक्रिय भए पनि स्थानीयमा जनस्वास्थ्यसम्बन्धी थुप्रै समस्या देखें।

प्रयोग गरिएका कन्डम र सेनिट्यारी प्याड सडकमा यत्रतत्र

जुम्लाको चन्दननाथ नगरपालिकाभित्र टोल सुधार व्यवस्थापन हुन सकेको देखिनँ। यो अत्यन्त ठूलो समस्या हो। बजारमा ठाउँठाउँमा सिसाको डंगुर छ। प्रयोग गरिएका कन्डम र सेनिट्यारी प्याड सडकमा यत्रतत्र देखें। यो समस्या पार लगाउन नगरपालिका गम्भीर हुनुपर्थ्याे। केही पढेलेखेका महिलाले महिनावारी हुँदा प्रयोग गर्ने भेजिनल क्याप खुलेआम फालिएको देखें। प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न सकिएको छैन। नगरपालिकालाई फोहोर कहाँ व्यवस्थापन गर्ने भनेर सोधियो भने ‘जहाँ फाल्दिए पनि भो’ भन्ने गरेको स्थानीय बताउँछन्। बजारमा असरल्ल परेको फोहोर फाल्ने डम्पिङ साइड छैन। जनस्वास्थ्यका हिसाबले बजारलाई ‘क्लिन सिटी’ बनाउन फोहोर व्यवस्थापन जरुरी छ।

डाक्टर फर्किने आसैआसमा मृत्युका मुखमा

यहाँका बिरामीलाई चिकित्सकले चिन्दैनन्। थोरै जनसंख्या भएको जिल्लामा चिकित्सकले बिरामी नचिन्नुको कारण पनि निकै दुःखद छ। धेरै बिरामी जाँच गर्ने डाक्टरले सबै बिरामीलाई याद नराख्लान् त्यो स्वाभाविक हो। तर बिरामीले चिकित्सक बिर्सिंदैनन्। बिरामीको मनस्थितिले के हुन्छ भने आफ्नो रोगबारे एकपटक डाक्टरलाई देखाइसकेपछि अर्को डाक्टरसँग खुल्न त्यति मन पराउँदैनन्। डाक्टरले नै अर्को डाक्टरलाई देखाउनु नभनेसम्म कुनचाहिँ बिरामीले अर्को डाक्टरलाई देखाउलान् र! तर जुम्लाका स्थानीय बिरामीले यहाँ कार्यरत चिकित्सकलाई दोहोर्‍याएर भेट्न आधा वर्ष नै लाग्दोरहेछ।

डाक्टरहरू बिदामा बसिदिन्छन्। यति लामो समय बिदा लिएर ‘फलानो जिल्लामा कार्यरत छु’ भनेर किन भन्नु? ‘अफिसियली’ कर्मचारी पनि कार्यरत हुँदैनन्। हाजिरमा देखिए पनि सेवाग्राहीको सेवामा हुँदैनन्।

डाक्टरहरू बिदामा बसिदिन्छन्। यति लामो समय बिदा लिएर ‘फलानो जिल्लामा कार्यरत छु’ भनेर किन भन्नु? ‘अफिसियली’ कर्मचारी पनि कार्यरत हुँदैनन्। हाजिरमा देखिए पनि सेवाग्राहीको सेवामा हुँदैनन्। गाउँबाट एक दिन लगाएर बिरामी अस्पताल पुग्छन् तर डाक्टर भेटिन्न। जब भनेका बेला चिकित्सक, स्वास्थ्यकर्मी भेटिन्नन् तब बिरामी बोकेर सुर्खेत, नेपालगन्ज, काठमाडौं झर्नुपर्ने बाध्यता छ। ४० प्रतिशत गरिबीको रेखामुनि रहेका कर्णालीका कैयौं बिरामी डाक्टर फर्किने आसैआसमा मृत्युका मुखमा पुग्छन्। सेवामा खटिएका व्यक्तिले आफैंलाई महत्त्व दिन थालेपछि यस्तो दुर्दशा देख्नुपरेको छ कर्णालीमा। यस्तो हुनु कर्णालीको दोष होइन, यो सरकारी प्रणालीको दोष हो।

छाक टार्नै मुस्किल छ सन्तुलित आहार कहाँ पाउनु?

कर्णाली प्रदेशमा औसत आयु ५६ प्रतिशत छ। नवजात शिशु मृत्युदर कर्णालीमा ५३ प्रतिशत छ। पाँच वर्षमुनिका बच्चाको मृत्युदर कर्णालीमा ७७ प्रतिशत छ। कुपोषणको अवस्था कर्णालीमा ५३.८ प्रतिशत छ। कुपोषणका कारण बालबालिकाले ज्यान गुमाउनुपर्ने समस्या भने निकै डरलाग्दो छ।

बालबालिकालाई कसरी कुपोषणमुक्त बनाउने भन्ने स्थानीयमा चिन्ता देखिनँ। बजारबासीलाई चिन्ता नभएको त होइन तर स्रोत र पहुँच अभाव छ। अब ‘स्कुल अफ पब्लिक हेल्थ’ का डिन मुनिराज क्षेत्री र मेरो संयोजनमा ‘क्लिनिकल न्युट्रेसन’ को अभियान सुरु हुँदै छ कर्णालीमा।

यहाँका नागरिक सन्तुलित आहारबाट मात्रै वञ्चित छैनन्, उनीहरूलाई छाक टार्नै मुस्किल छ। यस्तो परिस्थितिमा पोषिलो खाना खुवाउनुस् भन्न कसरी सक्नु?

बालबालिकालाई कस्तो खाना खुवाउने, पोषणयुक्त खानाको संयोजन कसरी गर्ने, स्वास्थ्य हेरचाह किन आवश्यक छ, स्थानीय खाना उपभोग गर्न कसरी सिकाउने भन्ने जनचेतनाको असाध्यै कमी छ। खानपानको समयावधिमा ख्याल नराख्दा, भनेको समयमा खोप नपाउँदा बालबालिका पुड्कोपना, रक्तअल्पता, सुकेनासजस्ता रोगले ग्रस्त छन्। कर्णालीले कुपोषणले जरा गाड्नुको प्रमुख कारण पर्याप्त पोषिलो खाना नपाउनु हो।

यहाँका नागरिक सन्तुलित आहारबाट मात्रै वञ्चित छैनन्, उनीहरूलाई छाक टार्नै मुस्किल छ। यस्तो परिस्थितिमा पोषिलो खाना खुवाउनुस् भन्न कसरी सक्नु? पोषण सुधारका लागि सरकारबाटै लगानी न्यून छ। र त्यो पनि समान वितरण हुन सकेको छैन।

छाउपडीकाे पीडा पनि यहीं

कर्णालीबासी कुलदेवतामा गहिरो विश्वास गर्छन्। मष्टो मान्छन्। यिनै देवीदेवताको डरले महिनावारी भएका महिला अनकन्टार छाउगोठमा बस्न विवश छन्। खासमा कर्णाली प्रदेशदेखि सुदूरपश्चिमसम्मले छाउपडी प्रथालाई संस्कारमा परिवर्तन गर्नुचाहिँ दुर्भाग्य हो।
महिनावारी भएका महिलालाई फोहोरी भई भनेर छिःछिः दुरदुर गरिन्छ। तर हामीले त्यसरी लिन हुन्थेन। लोग्नेमानिसले महिनावारी नभएका केटीसँग बिहेको कुरा चलाउन सक्छन्? सक्दैनन्। महिनावारी भएको छैन, स्तन बढेको छैन, गुप्तांगको विकास भएको छैन भने तपाईं बिहे गर्नुहुन्छ? गर्नु हुन्न। यी सबैको विकास हुनुलाई त महिनावारी अनिवार्य हुनुपर्‍यो। शारीरिक परिवर्तन हुनु मान्छेको उमेरसँगै जरुरी छ।

आर्थिक अभावका कारण यहाँका कैयौं ग्रामीण महिला स्यानिटरी प्याड प्रयोग गर्न सक्दैनन्। कपडाको प्रयोग गर्नाले अनेक किसिमका बिरामीको सिकार (इन्फेक्सन) भएका छन्। स्वास्थ्य जनचेतनाको कमी भएका कारण पनि छाउपडी प्रथाबाट पीडित छन्।

२८–२८ दिनमा महिनावारी हुनु प्रकृतिको नियम हो। योनीबाट रगत बग्दा हामी नेपालीले सही व्यवस्थापन गर्न जानेनौं। व्यवस्थापनको तरिका केही फरक होला। तर व्यवस्थापन गर्न नजानेर महिलालाई निरिह बनाइयो। यसबाट कर्णालीका महिला बढी पीडित छन्। महिनावारी बार्न विवश छन् तर पुुरुषले अनावश्यक चर्चा–परिचर्चा गरिदिएर धर्मिक पाठ पढाइरहे।

कतिपय महिला स्यानिटरी प्याड किन्न लाज मान्छन्। आर्थिक अभावका कारण यहाँका कैयौं ग्रामीण महिला स्यानिटरी प्याड प्रयोग गर्न सक्दैनन्। कपडाको प्रयोग गर्नाले अनेक किसिमका बिरामीको सिकार (इन्फेक्सन) भएका छन्। स्वास्थ्य जनचेतनाको कमी भएका कारण पनि छाउपडी प्रथाबाट पीडित छन्।

सुत्केरी गराउन महिलालाई समयमा स्वास्थ्य चौकी पुर्‍याउन सकिन्न

कर्णालीका महिला प्रजनन समस्याबाट पनि पीडित छन्। सन् २०२० को अन्तिमसम्म अस्पतालमा सुत्केरी हुने महिला २० प्रतिशत मात्रै छन्। दक्ष स्वास्थ्यकर्मीसँग गर्भवती सेवा पाउने १५ देखि ४९ वर्षका विवाहित महिला ७३ प्रतिशत छन्। यस्तो दयनीय स्वास्थ्य अवस्था रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय जना मात्र चिकित्सक छन्। जहाँ २ सय चिकित्सक चाहिन्छ। सुत्केरी गराउन महिलालाई समयमा स्वास्थ्य चौकी पुर्‍याउन सकिन्न। कारण बाटो र सवारीसाधनको अभाव उस्तै छ। महिला स्वास्थ्यमा संवेदनशील भए पनि स्वास्थ्य सेवा र सुविधा अभावले पछाडि छन्। दिसापिसाबको समुचित व्यवस्थापन हुन नसक्दा झाडापखालाले महामारीकै रूप लिन्छ। यसो हुनु प्राथमिक स्वास्थ्य हेरचाहको ज्ञान नभएर पनि हो।

लोप हुँदै परम्परागत व्यवसाय

अधिकांश हुनेखाने जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख र पश्चिम रुकुम जस्ता उच्च पहाडी भेगका जनता जाडोयामको पुसदेखि माघसम्म साठी दिन तराई झर्ने चलन छ। यो परम्परा आजसम्म कायम छ। यसरी जाडो छल्न तराई झर्दा हातले ऊन कातेर बनाएका लिउ, काम्ला, राडी, पाखी, पछौरा टोपी जस्ता सामान तयार गरी बेच्दछन् भने यसै समयमा संकलित जडिबुटी, यार्सागुम्बा, सिलाजित, जिम्बु र टिमुर जस्ता जैविक उत्पादनको व्यापार गर्दछन्। भेडाच्यांग्रा चरनमा लाँदा स्थानीय सरकारले महँगो कर उठाइदिनाले यी परम्परागत व्यवसाय क्रमशः लोप हुँदैछन्। स्वदेशमा श्रम र सीप सदुपयोग गर्नु भन्दा विदेशमा गई आय आर्जन गर्ने सोच एवं अभ्यासका कारणले यौनजन्य रोग र महिला हिंसा नेपालका अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा बढी छ।

प्राकृतिक विपत्ति

मौसमअनुसारको प्राकृतिक जटिलताले पनि यहाँ समस्या पारेको छ। सुख्खा पहिरोसँगै मंसिर १५ देखि फागुन १५ सम्म कष्टकर जीवन बाँच्दै आएका छन् जुम्लालगायत उच्च हिमाली भेगमा बस्ने कर्णालीबासी। हावामा पानीको मात्र कम हुँदा निकै कष्टकर हुँदोरहेछ। त्यसो हुनाले गाला फुट्ने, चाउरिने र चाँडो बूढो हुने समस्या छ। पानी पनि एकदमै कम पर्छ। स्थानीय महिला घामबाट बच्न बर्को ओड्छन्। सुरक्षित पिउने पानीको समस्या छ।

अन्त्यमा,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बामे सर्दै गर्दा सडकबाट चिकित्सा विधेयक पास गराउन सफल माननीय नरेश भण्डारी, डा. गोविन्द केसी, चिकित्सा शिक्षा आयोग र नेपाल सरकार सम्झिन्छु। यी चतुर्भुजको सहकार्यले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जग हालेको थियो। कृपा गरेर अब मेडिकल माफियाको आँखा नलागोस्।

स्थानीय तहका अधिकारीले सही व्यवस्थापन गर्न सके स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आउनेछ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नमुनाका रूपमा स्थापित गर्न सकिनेछ।

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन मेडिकल माफियाविरुद्ध लामो समयदेखि आन्दोलन चलिरहेको छ। अझै निकास निस्किएको छैन। हरेक स्वास्थ्य प्रतिष्ठान माफियाले चलाएका छ भनिन्छ। उपचारका क्रममा पाइएको दुःख र खर्च हेर्दा त्यसो लाग्नु स्वाभाविक पनि हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिंगो कर्णालीको कायाकल्प गर्न नसके पनि कम्तीमा रोगबाट अकालमै कर्णालीबासीले मर्नु पर्दैनथ्यो। स्थानीय सरकार र स्थानीयले चाहेमा एक वर्षभित्र जुम्लाले आफूलाई बदल्न सक्छ। प्रचारप्रसार हुनेछ। मेडिकल पढ्ने विद्यार्थीको बाक्लो उपस्थिति हुँदैछ। पर्यटन विकासमा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भूमिका रहन्छ। किनकि त्यहाँ पढ्ने विद्यार्थीले नजिक पर्ने पर्यटकीय क्षेत्र घुम्न पाउनेछन्। र तिनका आफन्त अभिभावक भेटघाट गर्न जाने क्रममा आन्तरिक पर्यटक भएर जानेछन्। हुम्ला, सिमिकोट, रारा, डोल्पा जस्ता ठाउँमा जान सक्नेछन्।

अब कर्णालीमा नभएको पूर्वाधारभन्दा पनि भएका जेजति पूर्वाधारमा टेकेर काम गर्नपर्ने अवस्था छ। प्राविधिक स्रोतसाधनको सहयोगमा स्वास्थ्य सेवा दिन जरुरी छ। यसका लागि स्थानीय तह बढी सक्रिय हुनुपर्ने देखिन्छ। स्थानीय तहका अधिकारीले सही व्यवस्थापन गर्न सके स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आउनेछ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नमुनाका रूपमा स्थापित गर्न सकिनेछ।

Next Post

दैलेखमा एकीकृत समाजवादी रोज्ने २० प्रतिशत मात्र

२३ भाद्र २०७८, बुधबार १८:१८
दैलेख : राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै स्थानीय तहमा पार्टी रोज्न पाउने अवधी सकिँदा दैलेखमा नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्ने निर्वाचित जनप्रतिनिधिको संख्या मुस्किलले २० प्रतिशत पुगेको छ। ११ स्थानीय तह र जिल्ला समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिको कुल संख्या ३ सय १५ रहेकोमा मंगलबार बेलुकी ५ बजेसम्म ६२ जना निर्वाचित जनप्रतिनिधिले मात्र एकीकृत समाजवादीमा जान […]