सुर्खेत । वीरेन्द्रनगरकी जानकली मल्ललाई अझै पनि आफ्नी छोरी जिउँदै छिन जस्तो लाग्छ । २०५५ सालदेखि बेपत्ता भएकी उनकी छोरी भगवती मल्लको अवस्था अझै अज्ञात छ । अमर ज्योति विद्यालयमा कक्षा ७ मा पढ्दै गरेकी उनी दिउँसो नजिकैको पसलमा जान्छु भनेर घरबाट निस्किएकी थिइन् । ‘०५५ को साउन महिनामा साँझसम्म पनि उनी घर नफर्किएपछि हामीले खोजी ग–यौँ,’ आमा जानकलीले भनिन्,‘२–४ दिनसम्म कुनै पत्तो लागेन । चार दिनपछि मात्र हामीलाई जानकारी भयो की माओवादी कार्यकर्ताले लगेका रहेछन्।’
पाँच वर्षपछि भगवती आफै घर फर्किन् । ‘माओवादीमा नजान हामीले धेरै आग्रह ग–यौँ । ‘मैले त मर्छु नजा भनेँ । भगवतीले हाम्रो कुरा पनि सुनिन् । तर, यहाँ (सुर्खेत) बस्न सहज थिएन । हामीले सल्लाह गरेर दैलेख मामाघर पठायौँ,’ जानकली दु:खी हुँदै भनिन्, ‘माओवादीले त्यहाँ बसेको थाह पाएछन् । झण्डै सात महिनापछि पुन: माओवादी कार्यकर्ताहरूले त्यहाँबाट उठाएर लगे। त्यसपछि मेरो छोरीको अहिलेसम्म कुनै अत्तोपत्तो छैन।’
‘छोरी अझै पनि जिउँदै छे जस्तो लाग्छ । तर, न त अहिलेसम्म लास पाएका छौँ नत सास नै,’ उनले भनिन्,‘ छोरीको कारण आज म पनि मानसिक रूपमा अशक्त झैँ छु । छोरीकै तनावका कारण श्रीमानको निधन भयो । छोरीको कि लास कि सास उपलब्ध गराइदिनुपर्यो,’ उनले सरकारसँग माग गरिन् । सुर्खेतकी शान्ति ढकालका श्रीमान् पनि २०५५ साल वैशाख २७ गते दैलेखबाट सुर्खेत आउँदै गर्दा बीच बाटोमै बेपत्ता पारिएका थिए । श्रीमानको न्यायका लागि लड्न थालेको २३ वर्ष पुगिसके पनि अझै न्याय नपाइएको उनले सुनाइन् ।
उनीहरू दुई जना मात्र हैन त्यो समयमा राज्य र विद्रोही पक्ष माओवादीबाट कर्णालीका ९९ जना बेपत्ता पारिएका छन् । इन्सेक कर्णाली प्रदेशको तथ्याङ्क अनुसार सशस्त्र द्वन्द्वमा सल्यान जिल्लाबाट २८ जना, सुर्खेतका १४ जना, जाजरकोटका २१ जना, दैलेखका एक, डोल्पाका २, कालिकोटका २६, मुगुका २ र जुम्लाका ५ जना दुवै पक्षबाट बेपत्ता पारिएका छन्। ।
कर्णालीका बेपत्ता पारिएका व्यक्तिका परिवारले कर्णाली प्रदेश समक्ष बेपत्ता भएका व्यक्तिको स्थिति जानकारी गराउन माग गरेका छन् । छानबिन आयोगले अहिलेसम्म बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक नगरेको भन्दै बेपत्ता परिवारले प्रदेश सरकारमार्फत छानबिन आयोगलाई यथाशीघ्र बेपत्ता भएका व्यक्तिको स्थिति के हो भनेर जानकारी गराउन आग्रह गरेका छन् ।