सुर्खेत । कर्णाली प्रदेशमा कोरोनाकोभाइरस (कोभिड–१९)को तेस्रो लहरविरुद्ध पूर्वतयारी थालिएको छ ।
संक्रमणको तेस्रो लहर फैलिन नदिन प्रदेश सरकारले अस्पतालहरुको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापनमा ध्यान केन्द्रित गर्दैछ । पहिलो र दोस्रो लहरका अनुभवका आधारमा प्रदेश सरकारले तेस्रो लहरसँग जुध्ने तयारीमा ध्यान दिन थालेको हो ।
त्यसका लागि मुख्य काम भनेको प्रदेश भित्रिने प्रमुख नाकामा हेल्थ डेस्क सञ्चालन र परीक्षणको दायरालाई बढाउने प्रदेश सरकारको योजना छ । प्रदेश भित्रिने सल्यानको कपुरकोट तथा सुर्खेतको बबई र कुइने गरी तीनवटै नाकामा प्रदेश सरकारले स्वास्थ्य चेकजाँच र अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ ।
उनका अनुसार जिल्ला अस्पतालहरुको क्षमता बढाउन आईसीयू र भेन्टिलेटर थप गरिनेछ । हाल प्रदेशमा ८ सय अक्सिजन सिलिन्डर र ३ सय अक्सिजन कन्सनटे«टर छन् । प्रदेशभर अहिले ६ वटा अक्सिजन प्लान्ट स्थापना भएका छन् भने अन्य तीनवटा ठुला अक्सिजन प्लान्ट निर्माण गरिँदैछ ।
कर्णालीका सबै जिल्लामा अझै अक्सिजन र भेन्टिलेटर चलाउन सक्ने जनशक्तिको अभाव छ । प्रदेश सरकारले दक्ष जनशक्तिलाई परिचालन गर्न तालिमको समेत व्यवस्था गर्ने बताएको छ ।
‘सीमा नाकामा लापरबाही गरेकै कारण कोरोनाको दोस्रो लहरमा ठूलो क्षति बेहोर्नुप¥यो,’ निर्देशक खड्का भन्छन्, ‘तेस्रो लहर रोक्न सीमा नाकामा चेकजाँचलाई व्यवस्थित गर्ने योजना प्रदेश सरकारले बनाएको हो ।’
हालसम्म कर्णालीका मुख्य नाका लगायत विभिन्न स्थानमा ११४ भन्दा बढी हेल्थ डेस्क स्थापना भई सञ्चालनमा आए पनि दोस्रो लहरमा कोरोना समुदायस्तरमा फैलिसकेको थियो । त्यसैले प्रदेशको प्रवेश विन्दुमा सुर्खेत विमानस्थल, बबई, हुम्ला विमानस्थल, कुईने, हिल्सा, कपुरकोट र घोरखानी लगायतका स्थानमा पनि टेस्टिङको व्यवस्था गर्ने प्रदेश सरकारको योजना छ ।
अहिले कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहेक अन्य स्थानमा अक्सिजन प्लान्ट छैन । प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेशको स्वास्थ्य प्रणालीको सुदृढीकरण गरी गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताका लागिमात्र २ अर्ब ६१ करोड रकम छुट्याएको छ भने कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि गरिने परीक्षण, उपचार र प्रतिकार्यका लागि ५३ करोड ९८ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
प्रदेशमा स्वास्थ्यसम्बन्धी जनशक्तिको अवस्था
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तयार पारेको कोभिड–१९ आकस्मिक योजना अनुसार कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई लक्षित गर्ने हो भने प्रदेशमा धेरै संख्यामा जनशक्ति थप गर्नुपर्ने देखिन्छ ।
अहिले कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक ३००÷३०० बेड छ भने जाजरकोट, दैलेख र मेहलकुना (सुर्खेत) अस्पतालमा ५०÷५० बेड छ । बाँकी सबै अस्पतालमा २५ बेडको संरचना छ ।
स्वास्थ्य सम्बन्धी मापदण्ड ०७७ अनुसार ३००, १००, ५० बेड वा सोभन्दा कम बेडका लागि अपेक्षा गरेको दरबन्दी अनुसार आधाभन्दा बढी जनशक्ति कर्णालीमा अपुग देखिन्छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी अस्पताललाई छोड्दा कर्णाली प्रदेश अस्पताल लगायतका जिल्लामा विशेषज्ञ चिकित्सकको पदपूर्ति (अस्थायी÷करारसमेत) जम्मा १६ प्रतिशत छ । चिकित्सक ६४ प्रतिशत, प्यारामेडिक्स ५४, नर्सिङ ७४, ल्याब ६४, जनस्वास्थ्य ११ र सहयोगी कर्मचारी १०० पदपूर्ति भएको छ । तीमध्ये अधिकांश करारमा छन् । कर्णालीको कुलमध्ये ५५ प्रतिशत दरबन्दी पदपूर्ति भएको देखिन्छ । दरबन्दी अनुसारको जनशक्ति पदपूर्तिलाई उच्च प्राथमिकता दिनुपर्ने देखिन्छ भने अपुग जनशक्तिलाई करारमार्फत नियुक्त गर्ने व्यवस्था छिटो, छरितो बनाउन जरुरी रहेको जनस्वास्थ्यविद्हरुको भनाइ छ ।
कर्णालीमा कोरोनाको वर्तमान अवस्था
झण्डै १८ लाखभन्दा बढी जनसंख्या रहेको कर्णाली प्रदेशमा अहिलेसम्म आरटी–पीसीआर र एन्टिजेन विधिबाट गरी हालसम्म १ लाख ७० हजार ३०६ जनामा कोरोना परीक्षण गरिएको छ । त्यसमध्ये ३२ हजार २१९ जना कोरोनाबाट संक्रमित भएको देखिन्छ ।
कुल संक्रमितमध्ये २९ हजार ९६५ जनाले कोरोनालाई परास्त गरेका छन् भने ३६५ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशमा हाल ७६० जना सक्रिय संक्रमित छन् ।
प्रदेशका १० जिल्लामध्ये कोरोनाबाट सबैभन्दा धेरै सुर्खेत जिल्ला प्रभावित भएको देखिन्छ । सुर्खेतमा ११ हजार ७५२ जना कोरोनाबाट प्रभावित बनेका छन् भने २१० जनाले ज्यान गुमाएका छन् ।