भरतपुर अस्पतालमा सर्पदशंका बिरामी बढे

 

चितवन : पछिल्लो दुई हप्तादेखि सर्पदंशका बिरामी बढेको भरतपुर अस्पतालले जनाएको छ। सर्पले टोकेको बिरामीलाई सर्पदंशका बिरामी भनिन्छ।

दैनिक औसत ५ देखि ७ जनासम्म सर्पदशंका बिरामी आउन थालेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। चितवनसहित तनहुँ, गोर्खा, लमजुङ, नवलपरासी, मकवानपुर, रौतहट र कपिलवस्तु लगायत जिल्लाबाट सर्पले टोकेका बिरामी भरतपुर अस्पताल आउने गर्छन्।

सर्पदंशपछि उपचार गर्न भरतपुर अस्पतालमा विशेषज्ञ चिकित्सकहरू भएकाले पहाड तथा तराईका विभिन्न जिल्लाबाट बिरामीहरू यहाँ आउँछन्। ‘पछिल्लो दुई हप्तादेखि सर्पले टोक्यो भनेर दैनिक पाँचदेखि सात जनाको हाराहारीमा बिरामी आउने गरेका छन्’, पौडेलले भने, ‘बैशाखपछि ३० जना बिरामीलाई एन्टी स्नेक भेनम दिइएको छ। मृत्यु भने कसैको भएको छैन।’ सर्पले टोकेको बिरामीको उपचारमा एन्टि स्नेक भेनम (प्रति विष) औषधी प्रयोग गरिन्छ।

गोमन र करेत सर्पलाई खतरनाक सर्पका रूपमा लिइन्छ। हरेउमा तुलनात्मक रूपमा विष कम हुन्छ। चितवनमा सर्पदंशका बिरामीको उपचार भरतपुर अस्पतालमा मात्रै हुने गरेको छ। बिरामीको उपचारमा प्रयोग हुने औषधी एन्टी स्नेक भेनम सरकारले भरतपुर अस्पताललाई मात्रै उपलब्ध गराएको छ।

वैशाखपछि आएका बिरामीमा हरेउले टोकेका बिरामी धेरै रहेको भरतपुर अस्पतालको आकस्मिक कक्ष इन्चार्ज राजकुमार ढुंगानाले बताए। असारदेखि असोजसम्म गोमन र करेतले टोकेका बिरामी धेरै आउने उनी बताउँछन्। विशेषगरी नवलपरासीबाट त्यस्ता बिरामी धेरै आउने गरेका उनको भनाइ छ।

सर्पले टोकेपछि मानिसलाई उपचारका लागि शुरूमा अस्पतालको आकस्मिक कक्षमा लगिन्छ। विषालु सर्पले टोकेका बिरामीलाई उपचारका लागि आइसीयूमा दुईवटा बेड छुट्याइएको छ। आकस्मिक कक्षमा भर्ना भएका बिरामीमा विषले असर गर्न थालेको देखिए तुरुन्तै आइसीयूमा सारिन्छ।

सर्पले टोकेको शंका लागेमा जतिसक्दो छिटो अस्पताल पुग्नुपर्ने चिकित्सकहरू बताउँछन्। टोकेको भागमा धेरै हलचल नगराइ अस्पताल जानुपर्छ। अस्पताल पुगेपछि त्यस्ता बिरामीलाई स्वास्थ्यकर्मीले २४ घण्टासम्म प्रत्यक्ष निगरानीमा राख्छन्।

‘सर्पले टोकका बिरामीमा २४ घण्टासम्म पनि केही लक्षण देखिएन भने अस्पतालले डिस्चार्ज गर्छ’, उनी भन्छन्, ‘अहिलेसम्म भएको अध्ययन अनुसार २४ घण्टामा लक्षण देखिएको छ। गोमन र करेतले टोकेका बिरामीमा भने आधा घण्टादेखि डेढ घण्टाभित्रैमा पनि लक्षण देखिएको रेकर्ड छ।’

सर्पले औँलाको टुप्पो र टाउकोमा टोकेमा बिरामीमा छिटो लक्षण देखिन्छ। गत वर्षदेखि हालसम्म अस्पतालमा उपचारका क्रममा सर्पदंशका बिरामीको मृत्यु हुन पाएको छैन। गएको शुक्रबार एकैदिन आइसीयूमा भर्ना गर्नुपर्ने तीनजना सर्पदंशका बिरामी आएपछि व्यवस्थापनमा चुनौती थपिएको उनले बताए।

बेड नभएपछि एक जनालाई चितवन मेडिकल कलेज रिफर गरिएको हो। उपचारमा प्रयोग हुने औषधी एन्टी स्नेक भेनमसहित बिरामीलाई रिफर गरिएको उनले बताए। यो औषधी बिरामीले निःशुल्क पाउँछन्।

‘दुईवटा मात्रै आइसीयू बेड भएकोमा तीन जना बिरामी आएपछि सिएमसीसँग समन्वय गरेर औषधीसहित बिरामीलाई पठायौँ’, पौडेलले भने, ‘त्यो केश बाहेक अरू बिरामी व्यवस्थापन यहीँ भएको छ।’

गत वर्ष आकस्मिक कक्षकै कर्मचारीमा कोभिड देखिएपछि आइसीयूमा राख्नुपर्ने सर्पदंशका सबै बिरामीलाई औषधी दिएर सिएमसी रिफर गरिएको थियो।

चितवनमा करेतको जोखिम

चितवनमा करेत सर्पको जोखिम रहेको सर्प विज्ञ डा. देवप्रसाद पाण्डे बताउँछन्। करेत र गोमन विषालु सर्प हुन्। उनका अनुसार चितवनमा ३२ प्रजातिका सर्प पहिचान भएका छन्।

पूर्वी नेपालमा भने गोमनको जोखिम बढी रहेको उनले बताए।

बिरामीमा विषको असर नदेखिँदासम्म प्रतिविषको प्रयोग गर्न नहुने उनले बताए। ‘श्वासप्रश्वास सम्बन्धी पुरानो रोग भएका वा दमका रोगीहरूको शारीरिक प्रणालीमा विषका चिह्न तथा लक्षणहरू देखिएमा मात्र प्रतिविष दिई उपचार गर्नुपर्छ’, उनले भने।

पाण्डेले ७० प्रजातिका सर्पमाथि अनुसन्धान गरेका छन्। नेपालमा करिब ९० प्रजातिका सर्प पाइने उनको अनुमान छ।

अस्पताल नपुग्दै मृत्यु

गएको जेठ २५ गते सर्पको टोकाइबाट इच्छाकामना गाउँपालिका–३ माझगाउँका ६० वर्षीय टोपबहादुर गुरुङको मृत्यु भएको थियो। उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसअघि २०७७ असोज ३ गते सर्पले टोकेर भरतपुर महानगरपालिका–१९ शारदानगरका दुई वर्षीय बालक रायन रामदामको मृत्यु भएको थियो। चितवन मेडिकल कलेजमा उपचार क्रममा उनको मृत्यु भएको हो।

‘चितवनमा सर्पको राम्रो बासस्थान’

चितवनमा सर्पको राम्रो बासस्थान रहेको सर्पको उद्धार तथा संरक्षणमा सक्रिय सुनिल सापकोटा बताउँछन्। संस्थाले हरेक दिन दुईदेखि तीन वटासम्म सर्प उद्दार गरी संरक्षण गर्ने गरेको उनले बताए।

राति सुत्नेबेला आफू सुत्ने बेड राम्रोसँग सफा गरेर सुत्नुपर्ने उनी बताउँछन्। चितवनमा मात्रै ३२ प्रजातिका सर्प भेटिएका छन्। ती मध्ये करिब १० प्रजातिका सर्प खतरनाक मानिन्छन्।

‘सर्पको बासस्थानका हिसाबमा चितवन राम्रो ठाउँ हो। कृषि र मानव बस्ती बढ्दै जाँदा सर्पहरू घरमा पस्ने गर्छन्। मान्छे जहाँ बस्छन्, त्यहाँ सर्पका प्रजाति पनि बढ्दै जान्छन्’, उनी भन्छन्, ‘मान्छेले फालेको फोहोर र घरमा हुने मुसा खान सर्प घरभित्र पस्छन्। घर वरपर किराहरू पनि हुन्छ। त्यो खान भ्यागुतो र छेपारो आउँछन्। भ्यागुता र छेपारो खान फेरि सर्प आउने गर्छ।’

कसैको घरभित्र सर्प फेला परेको उनी त्यहाँ पुगेर सर्पको उद्दार गर्ने गर्छन्। रेज हेन्ड्स नेपालका संस्थापक अध्यक्ष समेत रहेका सुनिल सापकोटाले देशका विभिन्न जिल्लामा पुगेर सर्पको उद्धार र संरक्षणबारे जनचेतना जगाउने काम गरेका छन्।

रेज हेन्ड्स नेपालले सर्प संरक्षण लगायत वातावरण संरक्षण र मानव स्वास्थ्यका विषयमा युवाहरूमा जागरण ल्याउने काम गरिरहेको छ।

 

सम्बन्धित शीर्षक