जुम्लामा उत्पादन भएको जुम्ली स्याउको माग उच्च

  ।   १६ भाद्र २०७८, बुधबार ०७:०५

जुम्ला । जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ। देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ। किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न सुरु भइसकेको जानकारी दिए। जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालयले जनाएको छ।

कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो। कृषिफर्म सञ्चालन गरेका तथा स्याउ बगैँचा भएका किसानले आफ्नो स्याउ बिक्रीका लागि सम्बन्धित स्थानीय तहबाट सिफारिस लिनुपर्ने प्रावधान छ। स्याउको पहिचान बचाउन लोगो टाँसिएको कार्टुन व्यापारीलाई उपलब्ध गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन एकाइले जनाएको छ।

स्याउ निर्यात खुला गरिएपछि अहिलेसम्म दुई हजार टनभन्दा बढी बाहिरी जिल्लामा निर्यात भइसकेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए। यहाँ उत्पादित स्याउ ए‚ बी र सी ग्रेडमा छुट्याइएको छ यी मध्ये ए र बी ग्रेडको स्याउ निर्यात गरिएको छ। सी ग्रेडको स्याउ प्रशोधन केन्द्रमा बिक्रीका लागि दिइने गरिएको कार्यालयले जनाएको छ।

स्याउ बजारमा पठाउन यस वर्ष ३१ हजार आठ सय कार्टुन वितरण गरिएको छ। स्याउ सुपोरजन कार्यालयले १० हजार आठ सय र कृषि विकास कार्यालयले २१ हजार वितरण गरेको हो। स्याउ जिल्लाबाहिर निर्यात गर्न सहज होस् भनी ५० प्रतिशत अनुदानमा किसानलाई कार्टुन उपलब्ध गराइएको हो। कार्यालयमा पाँच सय १६ उद्योगी, कृषिफर्म तथा सहकारी कृषक समूह सूचीकृत छन्।

जिल्लामा १५ हजार स्याउ बगैँचा भएको तथ्याङ्क छ। जिल्लाको कूल १८ हजार घरधुरीमध्ये करिब १५ हजार घरमा स्याउ बगैँचा स्थापना रहेको कार्यालयले जनाएको छ। जिल्लाको तीन हजार आठ सय हेक्टरमा स्याउ खेती हुन्छ। यस वर्ष व्यापारीले बगैँचामा नै पुगेर प्रतिकिलो रु ५० देखि ६० मा स्याउ खरिद गर्दै आएका छन्। गत वर्ष करिब रु. १२ करोड बराबरको स्याउ बिक्री भएको थियो।

किसानलाई कृषि औजार
यसैबीच पातारासी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले किसानलाई कृषि औजार वितरण गरेको छ। सो गाउँपालिका २४ किसानलाई किर्डाक नेपालले औजार वितरण गरेको हो।

ती सामग्रीमा सिल्पोलिन,फरुवा र हजारी, त्रिपाल एकएक थान, गार्डेन पाइप दुई रोल, प्लाष्टिक केरेट तीन थान र नाइलन डोरी चार केजी रहेका छन्। एक किसानलाई रु १४ हजार ६ सय ४१ बराबरको औजार वितरण गरिएको सस्थाका कार्यक्रम अधिकृत धिरनाथ योगीले बताए। औजार पाएपछि स्थानीयवासी खुसी छन्। स्थानीयवासी तुलराम बोहोराले औजारबाट तरकारी खेती गर्नका लागि सहज हुने बताए।

Next Post

कर्णालीमा २० वर्ष मुनिका १९ प्रतिशत बालबालिकामा कोरोना सङ्क्रमण

१६ भाद्र २०७८, बुधबार ०७:०५
सुर्खेत। कर्णाली प्रदेशमा पछिल्लो समय कोरोनाको सङ्क्रमण बालबालिकामा देखिन थालेको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता बालबालिका पनि सङ्क्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको कोरोना सङ्क्रमण दोस्रो लहरमा बढेको हो । कर्णालीमा हालसम्म २० वर्ष मुनिका १९ प्रतिशत बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका […]