देउडाबाटै मार्सीधान बचाउने सन्देश दिदै सिमखाडाका महिला


लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्ला चन्दननाथ नगरपालिका ३ का महिलाहरु देउडा गीतबाटै मार्सीधान बचाउनुपर्ने सन्देश दिइरहेका छन । भगवती आमा समुह सिमखाडाका महिलाहरुले पछिल्लो समयमा मार्सीधानमा रोगको संक्रमण फैलिइएको भन्दै निरोगी बिउको सिफारीस गर्नुपर्नेमा जोड दिन्छन् ।
सोमबार देखि जुम्लामा मार्सीधानको खेति सुरु भएको भन्दै मासीधानको संरक्षण र प्रर्बद्धनका लागि सबै सक्रिय हुनुपर्ने बताए । चैत १२ गते किसानहरुले बिउ भिजाएर मार्सीधानको खेति सुरु गर्ने प्रचलन छ । हरेक चैत १२ गते देखि मार्सीधानको खेति सुरु हुने भएकोले यो दिनलाई बारुअ पर्वका रुपमा मनाउदै आएको हो । मार्सीधानको क्लालेण्डर अनुसार यो बर्ष पनि खेति प्रारम्भ भएको चन्दननाथ ३ की उमा उपाध्यायले जानकारी दिइन् ।
उनले रोग लागेर लोप हुन लागेको धान संरक्षणमा किसान र कृषि संग जोडिएको निकायाहरु संवेदनशिल हुनुपर्ने बताइन् । विश्वको उच्च स्थानमा धानफल्ने उपमा पाएको मार्सीधानको खेति पछिल्लो समयमा घट्दै गएपनि किसानहरुले भने मार्सीधानको क्यालण्डेर अनुसार खेति गर्न छाडेका छैनन् । पहिले सामुहिक रुपमा बोरामा धानको बिउ राखेर नजिकैको धारा वा सिचाइकुलोमा भिजाउने चलन थियो । पछिल्लो समयमा बिउ भिजाएको बोरा नै चोरी हुने र सिचाइ अभावका कारण घरघरमा बिउ भिजाउन थालिएको उपाध्यायले बताइन् ।
समुहकी अर्की छैटा उपाध्यायले मार्सी फॉटहरुमा घरहरु बन्न थालेपछि खेतियोग्य जमिन मासिदै जान थालेको बताइन । उनले मार्सी बचाउने चिन्ता सबैमा हुनुपर्ने भन्दै रोग लाग्न नदिने उपाय अवलम्बन गर्न समेत आग्रह गरिन ।
संसारको सबैभन्दा उच्च स्थान अर्थात समुन्द्री सतह देखि २ हजार ८ सय ५० मिटर उचाइमा फल्ने भएकोले यो धानको महत्व अझै बढेर गएको हो । मार्सीधानमा रोगकिराको प्रकोप बढेर उत्पादनमा हरास आएपछि किसान निकै चिन्तत छन् । तर पहिचानका हिसाबले अब्बल धान भएकोले रोप्न भने छाडेका छैनन् ।
धानको बिउ बोरामा हालेर पानीमा भिजाइराख्ने दिनलाई धानखेती सुरु भएको दिनको रुपमा सम्झने चलन छ । महिलाले मागल गाउने, किसानले चन्दननाथ, भैरवनाथ, मस्टो, कालिका, मालिका र आफ्ना कुल देवता सम्झेर बीउ राख्ने परम्परा छ ।
चन्दननाथ ३ की उपाध्यायले हरेक वर्ष चैत १२ गते बिउ बोरामा राखेर पानीमा भिजाउने, १६ गते बाहिर निकाल्ने र २० गते छर्ने गरेको बताइन ।
चैत १६ मा भिजाएको धानको चिउरा कुट्ने चलन पनि छ । घरका दिदीबहिनी एकापसमा मिलेर चिउरा कुट्ने, मार्सीधानको रातो भातको खिर पकाउने र मिठो परिकारहरु बनाएर खाने चलन छ । मार्सी चामलको भात खाएमा उच्च रक्तचाप, मधुमेह, पेट तथा रगत सफा राख्न मद्धत गर्ने विश्वास छ ।
जुम्लामा २ हजार ८ सय हेक्टरमा धान खेती हुने कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ । १२ चैतमा बिउ भिजाएर, १६ चैतमा बिउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने गरिन्छ । १८ देखि २० चैतसम्म हिल्याएको माटो पिंधमा बसेपछि छरिसक्नुपर्छ । वैशाख १ मा बेर्नाको पानी सुकाएर बिउ हरियो देखिन्छ । स्थानीय भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिङ्गर चालेर मलका रूपमा प्रयोग हुने गरेको छ ।

सम्बन्धित शीर्षक