जुम्ला चिनाउँदै सीता

लक्ष्मी न्यौपाने,
जुम्ला चन्दननाथ नगरपालिका १ तलिचौरकी २४ बर्षिया सीता न्यौपानेले पहिलो पटक २०६८ सालको चैतमा नेपाली सेनाको टुडिखेल मैदानमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक सय मिटर दौडमा भाग लिइन । उतिबेला १५ बर्षकी सीता प्रथम भइन । जिल्लाभरीका माबि स्तरका विद्यार्थी प्रतिश्पर्धी थिए । तर सीता सबै प्रतिश्पर्धीलाई उछिनेर प्रथम भइन । यो उनको दौड यात्राको पहिलो खुड्किलो बन्यो ।
२०६९ सालमा भैरब मावि नराकोटमा भएको प्रतियोगितामा एकसय मिटर र दुई सय मिटरको लङजम्पमा उनी सर्वोत्कृष्ठ भइन् । सीताको लागि दौड क्षेत्रमा लाग्ने यी प्रेरणादायी क्षण हुन । जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ठ भएपछि क्षेत्रीय स्तरको खेलमा भाग लिने मौका मिल्यो । उनी उत्साहित भइन् । जुम्लामा चुलोचौकोमै सिमित रहनु पर्ने अवस्थालाई उनले गलत सावित गरिन । महिला हरेक क्षेत्रमा अब्बल छन भन्ने सन्देश छर्न सफल भइन ।
२०६९ जेठ महिनामा नेपालगंजमा भएको क्षेत्रीय खेलमा सहभागि भइन । उनी तेस्रो भइन । त्यो एक सय मिटरको दौड थियो । जब उनी स्कुल स्तरीय खेलकुदमा सफल हुदै गइन । तब उनले दौड क्षेत्रलाई प्राथमिकता दिन थालिन । विश्व कृतिमानी धावक हरीबहादुर रोकायासंग दौड अभ्यासमा जोडिन् । धावक रोकायाले खेल क्षेत्रको महत्वका बारेमा राम्ररी परिचित बनाए । धावक रोकायाले खेलकुदले सिंगो देशको नाम उचो राख्ने भनिरहँदा सीताको दौड प्रतिको मोह बढ्थ्यो ।
२०७३ सालमा इटहरीमा भएको सातौ राष्ट्रिय खेलकुदमा सहभागि भइन । क्रमश ८ सय र १५ सय मिटर दौडमा चौथो र पाँचौ भइन । भुगोल पनि नयाँ थियो । नयाँ खेलाडी संग प्रतिश्पर्धा गर्नु पक्कै पनि सहज थिएन । तर पनि चौथो र पाँचौमा आउँदा निकै उत्साहित भइन । यो राष्ट्रिय स्तरको खेलकुदमा पहिलो प्रवेश थियो । उनका लागि यो प्रवेश निकै सुखद रह्यो ।
उनले भनिन्,‘उच्च आत्मबल र काम प्रतिको लगाव नै सफलताको शुत्र हो । खेलकुद क्षेत्रमा पनि नियमित अभ्यास र उच्च आत्मबल हुन जरुरी छ । उच्च आत्मबलकै कारण खेलकुद क्षेत्रमा यहाँ सम्म पुगिएको छ । ’ उनी २०७६ सालमा दाङमा आयोजित आठौँ राष्ट्रिय खेलकुदमा सहभागि हुन सकिनन । सातौँमा चौथो र पाँचौ स्थानमा चित्त बुझाएकी सीताको आठौँमा प्रथम हुने धोको थियो । उनी बिरामी भइन । खेलकुदमा सहभागि हुन सकिनन् । चिकित्सकले तीन महिना आराम गर्नु पर्ने सुझाव दिएपछि दौड्न सक्ने अवस्था नै रहेन । सीताले भनिन्,‘स्वर्ण जित्ने धोको अधुरो रह्यो ।’ उनी आठौँ क्षेत्रीय खेलकुदमा प्रथम भएर छनौट भइसकेकी थिइन । ‘मनको धोको मनमै रह्यो । खेलकुद भएको स्थानमा गएर हेरेर बसिरहेँ । निकै पीडा भयो । त्यो अवस्था हेर्दा अहिले पनि मन भक्कानिन्छ,’ सीताले थपिन ।
सीताले एथ्लेटिक्स संघले काठमाण्डौमा आयोजना गरेको ८ सय मिटर दौडमा भाग लिइन् । तेस्रो स्थान हासिल गरिन । दर्जन बढि रिलेदौडमा सीताले सफलता हात पारीसकेकी छिन । कर्णालीमा खेलकुदलाई सामान्य तरिकाले हेरिदै आएको छ । तर कुनैपनि देशको नाम संसारभर चिनाउने माध्यम नै खेलकुद हो । खेलकुद क्षेत्र उपेक्षामा परिरहेको देख्दा निकै पीडानुभुति हुने गरेको छ ।
गोदावरी फेस्टिवलमा ३० किलोमिटर दौडमा प्रथम भइन । उनले हाल सम्म दुई दर्जन बढि इभेन्टमा भाग लिइसकेकी छिन । पहिलो पटक कर्णालीको पर्यटन प्रवद्र्धनका लागि गरिएको जुम्ला रारा अल्ट्रा म्याराथनमा भाग लिएर तेस्रो स्थान ओगट्न सफल भइन । सीताले भाग लिएको यो म्याराथन स्तरको पहिलो खेल थियो । एक सय मिटरको अभ्यास गरिरहेको थिए । रारा हेर्ने रहरले दौडिए । तेस्रो स्थान आए । निकै सन्तुष्ट भएर फकिएँ,सीताले सुनाइन् ।
सीताले २०१७ मा भएको धरान रनमा तेस्रो र २०१८ मा भएको अन्नपुर्ण ट्रेल रेसमा दोस्रो भइन । उनले भारतको राजिस्थानमा भएको माउण्ट हाफ म्याराथनमा भाग लिइन । पाँचौ स्थानमा आइन । यो विदेशमा भाग लिन सुनौलो अवसर थियो । उनलाई विदेशमा हुने खेलकुदमा सहभागि बन्न पनि ठुलै अवसर आएका थिए । तर पासपोर्ट नबनेकोले जान पाइनन । स्वीटजरल्याण्डमा खेल खेल्न जाने अवसर मिलेको थियो । सीताले भनिन्,‘पासपोर्ट भएन । जान पाइएन ।’ देश तथा विदेशमा आयोजना भइरहेका खेलकुदमा सहभागि भएर कर्णालीको नाम उचो राख्ने अवसर मिल्दा गर्वानुभुति हुने गरेको सीता बताउँछिन ।
दौडमा घाटा फाइदा छैन । तर यहाँ दौड अभ्यास गरेका सबै खेलाडीलाई राम्रै भएको छ । राष्ट्रिय खेल्दा क्षेत्रले र क्षेत्रीय खेल्दा जिल्लाले साथ दिदै आएको छ । अल्ट्रा खेल्न जाँदा कर्णाली स्पोर्ट क्लवले बेहोरीरहेको छ । पहिले पहिले घरबाटै खर्च गरेर खेलकुदमा सहभागि हुने गरेको थिएँ । आर्थिक अभावका कारण अवसरबाट बञ्चित हुनुपर्ने अवस्था थियो । अहिले खेलकुद क्लव बनेपछि खेलाडीलाई निकै सहज बनेको छ । धेरै ठाउँ खेलखेल्न पाएका छौँ । आफ्नो प्रतिभा देखाएर फर्किन पाएका छौँ ।
सीताले पढाइ र दौड संगसंगै अघि बढाएकी छिन । बिएड चौथो बर्षमा अध्ययनरत छु । पढाइ प्रभावित हुन्छ । तर मिलाएर दौड अभ्यास गरिरहेको छु । उनले भनिन्,‘सबैभन्दा समस्या पोषण खाना ,पोशाक,जुत्ताको हुन्छ ।’ अहिले क्लवले मिल सञ्चालन गरेकोले त्यसैबाट खेलाडीको गुजारा चलेको छ ।
अहिले सहायक प्रशिक्षक भएर प्रशिक्षार्थी खेलाडीलाई प्रशिक्षण दिइरहेकी छिन । २६ जनाले दौड अभ्यास गर्छन । जुम्ला विश्व कृतिमानी धावक हरीबहादुर रोकाया जन्माएको जिल्ला हो । तर यहाँका सरोकारवालाले खेलकुद बुझेका छैनन् । खेल क्षेत्रको महत्वका बारेमा जब बुझ्दैनन् । तब खेल क्षेत्र र खेलाडी प्रोत्साहनका क्षेत्रमा समस्या आइरहने देखिएको छ। सीताको घरपरिवारले पहिले खेलकुदमा प्रथम आउनुपर्छ भन्दै दबाव दिन्थे । घरपरिवारले खेलकुद जित्नको लागि निकै प्रेसर दिन्थे । तर सबै इभेन्टमा जित नहुन पनि सक्छ । सीताले भनिन्,‘खेलकुद आफ्नो ठाउँलाई चिनाउने अवसर पनि हो । टाइमपास गर्नुभन्दा खेल क्षेत्रमा लाग्नुपर्छ । धेरैको जीवन खेलबाटै बनेको छ । यो सुनाउँदा घरपरिवार सन्तुष्ट हुने गरेका छन । ’
जब सीताले दौड्नि थालिन् । त्यतिबेला देखि नै जुम्लालाई चिनाउने संकल्प बोकेको बताउँछिन । जुम्ला भौगोलिक रुपमा निकै विकट,स्वास्थ्य,शिक्षा लगायतका क्षेत्रमा निकै पछि परेको भनिन्थ्यो । सीताले भनिन्,‘खेलकुदका क्षेत्रबाट जुम्ला चिनाउन सकिन्छ भन्ने लागिरहन्थ्यो । अहिले दौड,म्याराथन भन्ने वित्तिकै सबैले जुम्लालाई चिन्छन् । यो एक नमुना काम हो । ’
शुरुमा पुलिस आर्मीका खेलाडी भन्ने वित्तिकै डराउने अवस्था हुन्थ्यो । अहिले सबै सामान्य नै लाग्छन । सीताले पुलिसको असइमा दुइपटक सम्म लडिन । तर सफल भइनन । पुलिसमा जागिर खाएर खेलकुद क्षेत्रमा लाग्ने ठुलो धोको थियो । त्यो पुरा हुन सकेन ।
कर्णाली खेलकुद क्लव नहुँदा दुई तीन बर्षको एक पटक खेल हुन्थ्यो । अहिले महिनै पिच्छे खेलकुद भइरहन्छन । घरपरिवार दौडेर के गर्छेस भनेर भनिरहेका हुन्थे । अहिलेखेलमा जित्न थालेपछि सन्तोष छन । सीता लोक सेवा आयोगको तयारी गरिरहेकी छिन । आर्थिक रुपमा परिपक्क भएपछि दौडलाई अझै प्रभावकारी बनाउदै लैजाने सोचमा छिन ।
भारतमा खेल्दा नेपाल चिनाउने अवसर पाएँ । राष्ट्रिय तथा क्षेत्रीय खेल्दा जुम्ला चिनाउन पाएँ । उनले भनिन्,‘खेलकुद क्षेत्रमा लागेर जिल्ला चिनाउन पाउँदा निकै भाग्यमानी ठाँनिरहेकी छु । ’ सीतालाई खेलकुद क्षेत्रमा लाग्न धावक रोकायाले निरन्तर हौस्याइँरहे । उनकै प्रेरणाले खेलकुद क्षेत्रमा सफलता हात लाग्ने गरेको सीता बताउँछन । सीताले अहिले शिखर इन्स्योरेन्समा काम गरिरहेकी छिन । उनले भनिन्,‘विहान बेलुकी दौड अभ्यास गराउँछु । दिउँसो अफिस जान्छु । ’ सीताको ११ जनाको परिवार छ । उनलाई जुम्ला रारा अल्ट्रा म्याराथनमा कनकासुन्दरीको बुम्रामाडीचौरले सम्मान गरेको थियो । खेल क्षेत्र देशलाई चिनाउने माध्यम हो । जुम्ला चिनिएको पनि खेल क्षेत्रले नै हो । तर खेल क्षेत्रको प्रोत्साहन हुन सकेको छैन । खेलकुद क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । यो दु:खद बिषय हो ।’
सीता सार्कस्तरीय खेलकुदमा स्वयमसेवकको भुमिकामा थिइन । उनले हरेक बर्ष जुम्ला रारा अल्ट्रा म्याराथनको आयोजना गरेर खेलकुद पर्यटनलाई वढावा दिने काम भइरहेको बताइन् । उनले भनिन्,‘आगामी चैत २६ गते जुम्लामा जुम्ला रारा अल्ट्रा म्याराथन हुदैँछ । सबैले उत्साहजनक सहभागिता जनाउन आव्हान गर्दछु । ’

सम्बन्धित शीर्षक