कर्णालीका २७ हजार विद्यार्थी पढाइबाट बञ्चित

कर्णाली प्रदेशको शिक्षा क्षेत्रमा कोराेनाले निकै प्रभाव पारेकाे एक अध्ययनले देखाएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले गरेकाे अध्ययनमा कोराेनाका कारण कर्णालीका २७ हजारभन्दा बढी बालबालिका पढाइबाट वञ्चित भएको देखिएको जनाइएको हाे ।

कुल विद्यार्थीको नौ प्रतिशत अर्थात् २७ हजार विद्यार्थी शिक्षा पाउनबाट वञ्चित भएको अध्ययनमा उल्लेख छ । भौगोलिक विकटता र वैकल्पिक माध्यमको अभावका कारण २७ हजार भन्दा बढी विद्यार्थी कोराेना महामारीका कारण पढाइबाट पूर्ण रूपमा वञ्चित भएका छन् । उनीहरूले अनलाइन, रेडियाे र टेलिभिजन जस्ता वैकल्पिक माध्यमबाट समेत शिक्षा लिन नपाएकोअध्ययनमा उल्लेख छ ।

कालीकोट, मुगु, हुम्ला र डोल्पाका धेरै विद्यार्थी कोराेना महामारीका कारण पढाइबाट पूर्ण रूपमा वञ्चित हुन पुगेको सो अध्ययनमा उल्लेख छ । प्रदेशका तीन लाखभन्दा बढी विद्यार्थीमध्ये ८३ प्रतिशत अर्थात् दुई लाख ४९ हजार विद्यार्थी कोराेना महामारीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । प्रभावित हुने विद्यार्थीमा दुर्गमको तुलनामा सुगम क्षेत्रका विद्यार्थी कम छन् । प्रदेशका ५७ प्रतिशत विद्यार्थी अनलाइन शिक्षाको पहुँचमा छैनन् ।

अनलाइनको पहुँचमा नभएका विद्यार्थीले कोराेना महामारीमा रेडियाे तथा टेलिभिजनबाट अध्ययन गरेका छन् । सदरमुकाम र सुगम क्षेत्रका केही विद्यार्थीले वैकल्पिक माध्यमबाट शिक्षा लिएको अध्ययनमा उल्लेख छ । प्रदेशमा कुल विद्यार्थीमध्ये १८ प्रतिशत अर्थात् ५४ हजार विद्यार्थी मात्रै विद्युत्को पहुँचमा छन् । विद्युत्को पहुँचमा भएका केही विद्यार्थीले भने इन्टरनेट तथा मोबाइलको अभावमा शिक्षा लिन पाएका छैनन् ।

अध्ययनअनुसार प्रदेशका ६ प्रतिशत अर्थात् १८ हजार विद्यार्थीले भने कोराेना महामारीमा पनि सहज रूपमा शिक्षा लिन पाएको अध्ययनले देखाएको छ । कोराेनाका कारण विगत दुई वर्षदेखि साक्षर अभियान नै प्रभावित भएको सामाजिक विकास मन्त्रालय शैक्षिक विकास महाशाखाका प्रतिनिधि बलवीर सुनारले बताए । प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोट हालसम्म साक्षर जिल्ला घोषणा हुन बाँकी छन् ।

ती जिल्लामा अझै चार लाख ७७ हजार ८४१ जना निरक्षर छन् । तथ्याङ्कअनुसार १५ देखि ६० वर्ष उमेर समूहका १२ हजार ६४८ जना नागरिक निरक्षर छन् । १५ वर्षदेखि ६० वर्ष उमेर समूहका कालीकोटमा चार हजार २७० जना, मुगुमा तीन हजार दुई सय जना, जुम्लामा दुई हजार ८६० जना, हुम्लामा एक हजार ७६३ जना र डोल्पामा पाँच सय ५५ जना नागरिक निरक्षर छन् । सुनारले कोराेना महामारीका कारण दुई वर्षदेखि साक्षर अभियान नै पूर्ण रूपमा राेकिएको बताए ।

सरकारले छिट्टै प्रदेशलाई साक्षर बनाउने लक्ष्य लिए पनि कोराेनाका कारण अभियान प्रभावित भएको उनको तर्क छ । अभियानका कर्णाली प्रदेश सहसंयोजक मधुरानी ढकालले दीर्घकालीन यो जनासहितको लगानी नभएसम्म शिक्षा क्षेत्रमा सुधार नहुने बताइन । उनले अध्ययनलाई हेर्ने हो भने कर्णालीमा गुणस्तरीय शिक्षाको पहुँच हुन अझ धेरै समय लाग्ने जानकारी दिइन । अभियानका केन्द्रीय कोषाध्यक्ष टीकाराम आचार्यले कर्णालीको शिक्षामा सुधार गर्न धेरै मेहनत गर्नुपर्ने बताए ।

सम्बन्धित शीर्षक