गजवको शिक्षा : कितावी ज्ञानसँगै पढ्दै कमाउन सिकाउने विद्यालय

बड्डीचाैर (सुर्खेत) । पश्चिम सुर्खेतको बड्डीचौरमा एउटा गवजको शैक्षिक मन्दिर छ । जहाँ पढ्न आउने हरेक विद्यार्थीहरु कितावी ज्ञानसँगै कमाउँन सिक्छन् । प्राविधिक शिक्षा प्रदान गर्ने जनज्योति माध्यमिक विद्यालयबाट ऋण लिएर विद्यार्थीहरु पढाइसँगै व्यवसाय गर्न गर्दै आएका छन् । बराहताल गाउँपालिका–५ बड्डीचौरमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीले पढाइसँगै दुई वर्षयता सुरु गरेको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम अन्तरगत विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको हो ।

विद्यालयमा प्राविधिक विषयसमेत पढाइ हुन्छ । भेटेरिनरी र कृषितर्फ १८ महिने र तीनवर्षे कक्षा सञ्चालन भइरहेको छ । विद्यार्थीले माछा, बंगुर, कुखुरा तथा मौरीपालन, तरकारी र च्याउलगायत खेती गर्दै आएका छन् ।

पढ्दै कमाएको रकम विद्यार्थीहरुले पढाइ खर्च तिरेर बचत समेत गर्दै आएका छन् । ‘पढ्दै–कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत जो सुकै विद्यार्थीले ऋण लिएर कृषि व्यवसाय गरिरहेको टिका कँडेलले जानकारी दिइन् । ‘पढाइसँगै व्यवसाय कसरी गर्ने भन्ने शिक्षा व्यवहारत लागु गरिरहेका छौं,’ कँडेलले भनिन्, ‘दिउँसो पढ्ने र साँझविहान आफूले सञ्चालन गरिरहेको व्यवसायमा समय दिइरहेका छौं ।’ विद्यार्थीलाई व्यवसायमा संलग्न गराउन विद्यालयले नै जग्गा उपलव्ध गराउँछ ।

विद्यालयले आफूसँग भएको जग्गा नपुगेपछि थप पाँच रोपनी जग्गा भाडामा लिएको प्रधानाध्यापक नारायण सिग्देलले जानकारी दिए । विद्यार्थीलाई कम्तीमा ५ हजारदेखि एक लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाएको सिग्देलले बताए ।

पढ्दै कमाउँदै गरेका विद्यार्थीले ऋणको ब्याज पनि तिर्नुपर्दैन । विद्यालय छोड्ने बेलासम्म साँवा रकम मात्रै तिरे पुग्छ । ऋण लिएर व्यवसाय गर्न चाहने विद्यार्थीले पहिले समूह गठन गर्छन् । त्यसमा आफुले रोजेको व्यवसायबारे कक्षा शिक्षकलाई प्रस्तावना दिन्छन् । त्यसअनुसार शिक्षकले ऋण दिन विद्यालयलाई सिफारिस गर्छन् । हालसम्म २ सय बढी विद्यार्थी यो कार्यक्रमबाट लाभान्वित भएका छन् ।

सटीइभीबाट सम्बन्धन विद्यालयमा शैक्षिक सत्र २०७८/०७९ का लागि साधारण र प्राविधिक विषयहरुमा कक्षा ११ मा आइएस्सी एजी बाली विज्ञान, आइएस्सी एजी पशु विज्ञान, टिएसएलसी कार्यक्रमका लागि १८ महिने कृषि जेटिए र १८ महिने भेटेरिनरी जेटिएतर्फको भर्ना खुलेकाे प्रधानाध्यापक सिग्देलले जानकारी दिए ।

सम्बन्धित शीर्षक