स्वास्थ्यका सहप्रवक्ता भन्छन्, ‘कोरोना संक्रमण रोक्न अब निषेधाज्ञा मात्रै अन्तिम विकल्प हैन’

सुर्खेत । कोरोना महामारीको संक्रमण रोक्न अब निषेधाज्ञा मात्रै अन्तिम विकल्प नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. शमिरकुमार अधिकारीले बताएका छन् । विश्व स्वास्थ्य संगठनको टोलीसँगै सुर्खेत आइपुगेका अधिकारीले संक्रमण रोक्न स्वास्थ्य मापदण्डको पालनालाई कडाइका साथ लागु गर्न आवश्यक रहेको बताएका हुन् ।


निषेधाज्ञाले नागरिकहरुमा गम्भीर आर्थिक संकट परेकाले मन्त्रालयले फेरि मास्क अभियान थालनी गरेको सहप्रवक्ता अधिकारीले उल्लेख गरे । ‘सडक निर्माण लगायतका विकासलाई जसरी हामीले पहिलो प्राथमिकतामा राखेका छौं, त्यसैगरी स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेर अब्बल स्वास्थ्य सेवा प्रदान गर्नमा सक्षम हुनसक्नुपर्छ,’ अधिकारीले भने, ‘कोरोना महामारीको तेस्रो लहर भित्रन नपाउँदै कम्तिमा हामीले सबै नागरिकहरुलाई घरबाट बाहिर निस्कदा अनियार्व मास्क लगाउनु पर्छ, सेनिटाइजरको प्रयोग गर्नुपर्छ भन्ने स्वास्थ्य मापदण्डलाई प्राथमिकतामा राखे कोरोना संक्रमणको महामारी रोक्न सकिनेछ ।’

पहिलो र दोस्रो चरणमा भएका निषेधाज्ञाले आर्थिक संकट व्यहोरेकाले अब हरेक नागरिकलाई स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न लगाउनेतर्फ सचेतना फैलाउन जरुरी रहेको सहप्रवक्ता अधिकारीले उल्लेख गरे ।

‘फेरि हामीले मास्क अभियान थाल्नुको अर्थ निषेधाज्ञा लागु गरेर नागरिकमा अर्को समस्या पार्न नखोज्नुको विकल्प हो,’ अधिकारी भन्छन्, ‘कम्तिमा घरबाट निस्कदा भीडभाडमा नजाने र मास्क अनिवार्य गर्न सकेमा कोरोना संक्रमण धेरै हदसम्म रोक्नमा टेवा पुग्छ ।’

कोरोना महामारीका दुई चरण पार गरिसकेकाले अब सबै नागरिकहरु जिम्मेवार भइदिन उनले आग्रह गरेका छन् । मास्क अभियान थाल्नुको कारण नै तेस्रो लहरको कोरोनाबाट सबै नागरिकलाई बचाउनु भएको भन्दै अधिकारीले यसलाई ग्रामिण वस्तीका टोल टोलसम्म सचेतना फैलाउन जरुरी रहेको उल्लेख गरे । देशका सबै स्वास्थ्य निकायहरूलाइ याे अभियान कडाइका साथ लागु गर्न निर्देशन दिएकाे उनकाे भनाइ छ ।

‘संक्रमणको अवस्था बुझ्न अव तथ्याङ्क संकलन’
यसैविच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको अवस्था, निको दर, रोगप्रतिरोधात्मक क्षमताको विकास लगायतको अवस्था बुझ्न तथ्याङ्क संकलन गर्ने भएको छ । देशव्यापी रुपमा यो तथ्याङ्क संकलन गर्न लागेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

महामारीको बेला कहाँ कस्तो काम भयो वा भएन् भन्ने समिक्षा गर्न र आगामी दिनमा चाल्नु पर्ने कदमको रोडम्याप बनाउनमा यो तथ्याङ्कले सहयोग पुग्ने अधिकारी बताउँछन् । नमुनाको रुपमा तथ्याङ्क संकलन गर्ने र त्यसको विश्लेषणसहित प्रतिवेदन सार्वजनिक गरिने उनको भनाई छ ।

सम्बन्धित शीर्षक