कार्गोको नाममा चर्को हवाई भाडा असुल्दै

मुगु । जिल्लामा उडान भर्ने निजी एयरलाइन्सले कार्गोको नाममा चर्को हवाई भाडा असुल्न थालेपछि यात्रु मर्कामा परेका छन् । मुगुमा अहिले समिट र सीता एयरलाइन्सले नेपालगन्जबाट उडान भरिरहेका छन् । दुवै एयरलाइन्सले नेपालगन्ज जाने यात्रुबाट ८ हजार ५ सय रुपैयाँ भाडा असुल्न थालेको यात्रुको गुनासो छ ।

स्थानीय कमल शाहीले हवाई भाडा महँगो हुँदा जरुरी कामका लागि बाहिर जानेहरू समस्यामा परेको बताए । ‘सडक यातायात अवरुद्ध छ,’ उनले भने, ‘नेपालगन्ज र सुर्खेत जाँदा हवाई सेवाको विकल्प छैन, तर भाडा महँगो भएपछि गमगढीमै रोकिनुपर्ने बाध्यता भयो ।’

अर्का यात्रु मदन शाहीले निजी एयरलाइन्सले मनपरी भाडा बढाए पनि स्थानीय प्रशासनले बेवास्ता गरिरहेको बताए । ‘हामीले यसबारे प्रशासनमा ध्यानाकर्षण गराए पनि बेवास्ता भयो,’ उनले भने, ‘कार्गोका नाममा एयरलाइन्सले जथाभावी गर्न थाले ।’

तर नेपालगन्जबाट मुगु आउने यात्रु नहुँदा महँगो भाडा लिनुपरेको एयरलाइन्सका कर्मचारीको दाबी छ । ‘नेपालगन्जबाट आउने यात्रु नै हुँदैनन्,’ सीता एयरका कर्मचारी देवीकृष्ण रोकायाले भने, ‘उताबाट आउने कार्गो पनि नभएपछि भाडा महँगो परेको हो ।’

यसअघि निजी एयरलाइन्सहरूले नेपालगन्जदेखि मुगुसम्म ६ हजार रुपैयाँ भाडा लिँदै आएका थिए । वर्षाका कारण नाग्मा–गमगढी सडक अवरुद्ध भएपछि यात्रुलाई जहाज चढ्नुपर्ने बाध्यता भएको हो । ‘सडकमा यात्रा गर्दा जताततै जोखिम छ,’ शाहीले भने, ‘यात्रु बढेको मौका छोपी एयरलाइन्सले जथाभावी भाडा बढाए ।’ उनले टिकट पाउन पनि मुस्किल हुने गरेको बताए ।

एयरलाइन्सले यात्रुबाट कति भाडा उठाए भन्ने विषयमा जानकारी नभएको विमानस्थल कार्यालयले जनाएको छ । ‘हामीलाई भाडाबारे जानकारी हुँदैन, अहिलेसम्म गुनासो पनि आएको छैन,’ रारा नागरिक उड्डयन प्राधिकरणका प्रमुख किशोर आचार्यले भने, ‘हामीले त एयरलाइन्सलाई उडानको अनुमति मात्र दिने हो ।’ उनले यात्रुको गुनासो आए एयरलाइन्ससँग छलफल गरिने बताए ।

कोरोना महामारीको मौका छोपी एयरलाइन्सले चर्को भाडा असुलिरहेको स्थानीयको गुनासो छ । यात्रुबाट गुनासो आएपछि निजी एयरलाइन्ससँग छलफल गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताए ।

सम्बन्धित शीर्षक