कालीकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

कालीकोट : जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान भएको छ। अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले कर्णाली प्रदेश सरकारले छुट्याएको बजेटले प्लान्ट जडान गरेको जानकारी दिए।

अक्सिजन प्लान्ट जडानपछि अस्पतालमा अक्सिजनको अभाव नहुने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक महतले बताए।

‘अक्सिजन भर्न नेपालगन्ज जानु पर्दथ्यो। त्यहाँ जाँदा पनि तुरुन्तै नपाउँदा धेरै समय कुर्नुपर्दथ्यो‚’ उनले भने‚ ‘अहिले हामी प्लान्ट जडान गर्न सफल भएका छौं। अब अक्सिजन अभावको कारण यहाँका जनताले कुनै हैरानी र सास्ती व्यहोर्नु पर्दैन। यसले दैलेख, अछाम, मुगु, बाजुरा, कालीकोट, जुम्ला र हुम्लासम्मलाई अक्सिजन फिलिङ गर्न सहयोग पुग्छ।’

अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष सरोज बोगटी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. किरण शाही र लेखा अधिकृत मुनबहादुर रावलले पनि सबैको सकारात्मक सहयोग र योगदानका कारण अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सफल भएको बताएका छन्। र, आगामी दिनमा अस्पतालमा अब अक्सिजनको अभाव नहुने पनि उनीहरुको विश्वास छ।

जिल्ला अस्पताल कालीकोट चौरमा दैनिक ४० लिटर क्षमताको ४०–५० वटा सिलिन्डर अक्सिजन ग्यास भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो। अब प्लान्ट र मेसिन सन्चालनका लागि पर्याप्त विद्युत आपूर्तिको आवश्यक भएकाले सोको लागि नियमित विद्युत आपूर्तिमा ध्यान दिन सम्बन्धित सबैमा महतले आग्रह गरेका छन्।

सम्बन्धित शीर्षक