गाउँले जडिबुटी संकलन गर्न गए, जनगणनामा छैन वास्ता

मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकास्थित माथिल्ल्लो बस्तीका स्थानीय जडिबुटी टिप्‍न वनपाखातिर लागेपछि जनगणना प्रभावित भएको छ । गाउँपालिकाका चितै, मुगु, डोल्फु, कार्ती, किम्री, महलगायत बस्तीका अधिकांश स्थानीय घरको ढोका नै बन्द गरेर कटुकी, भोल्ते, चिराइतो, वन लसुन बटुल्न हिमाली भेगतिर उक्लिएपछि घरदैलोमा पुगेका गणकलाई घरधुरी संकलन गर्न गाह्रो भएको हो ।

गाउँपालिकाको माथिल्लो बस्तीका स्थानीय जडिबुटी संकलन गर्न वनतिर जाँदा जनगणना कार्य प्रभावित भएको जिल्ला जनगणना अधिकारी कृष्णप्रसाद चौलागाईंले बताए । विशेषगरी मुगु गाउँका कोही स्थानीय घरमा नहुँदा गणकलाई विवरण संकलन गर्न कठिन भएको बताइएको छ । ३० भदौदेखि जिल्लामा पहिलो चरणको जनगणना कार्य सुरु गरिएको छ ।

फाइल फाेटाे

जनगणनाका निम्ति जिल्लाका चारवटा स्थानीय तहमा पाँच महिला र १५ पुरुष गरी २० जना जनगणक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । स्थानीयबासीहरू जडिबु्टी संकलनका लागि पाटनतिर हिँडेपछि गणकहरूलाई तथ्यांक संकलन गर्न पनि अप्ठ्यारो पर्ने गरेको छ ।

यहाँका स्थानीयहरूको मुख्य आयस्रोत नै जडिबुटी हुने गरेको छ । उनीहरू वैशाख(जेठ महिनातिर बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न जाने गरेका छन् भने अन्य महिनामा पाटनमा पाइने जडिबुटीहरू संकलन गर्न जाने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।

सम्बन्धित शीर्षक