असोज २ जुम्ला
तातोपानी गाउँपालिकाले शिक्षा क्षेत्रमा गर्दै आएका गतिविधि तथा उपलब्धि शैक्षिक मेलामार्फत सार्वजनिक गरेको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर गाउँपालिकाले शैक्षिक मेला तथा प्रदर्शनी आयोजना गरी शिक्षा क्षेत्रमा गरिएका काम र विद्यालयमा विद्यार्थीले निर्माण गरेका शैक्षिक सामग्री प्रदर्शन गरेको हो ।
तातोपानी गाउँपालिकामा रहेका २९ वटा विद्यालय मध्ये १९ वटा विद्यालय शैक्षिक मेलामा सहभागी भएका थिए । सहभागी विद्यालयले स्थानीय स्रोत साधनको प्रयोग गरी निर्माण गरेका विभिन्न शैक्षिक सामग्री प्रदर्शनीमा राखेका थिए । विद्यार्थी तथा शिक्षकको सहभागितामा निर्माण गरिएका यस्ता सामग्रीले सिकाइलाई व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ । मेलामा विद्यालयमा प्रयोग हुने शैक्षिक सामग्रीसँगै तातोपानी गाउँपालिकाले विद्यालयमा उपलब्ध गराउँदै आएको अर्गानिक तथा रैथाने बालीमा आधारित दिवा खाजाको नमुना समेत प्रदर्शन गरिएको थियो ।

स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीबाट विद्यालयमा तयार गरिने दिवा खाजालाई मेला मार्फत अभिभावक तथा सरोकारवाला माझ समेत देखाइएको हो । मेलालाई सम्बोधन गर्दै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाँईले शिक्षा क्षेत्रमा गाउँपालिकाले अब्बल काम गर्दै आएको दाबी गर्नुभयो । उहाँका अनुसार जुम्ला जिल्लामै रैथाने बालीमा आधारित दिवा खाजा खुवाउने पहिलो स्थानीय तह तातोपानी गाउँपालिका हो ।
उहाँले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न नियमित अनुगमनसँगै शैक्षिक मेला आयोजना गरिएको बताउनुभयो । शैक्षिक मेलाले विद्यार्थीमा सिकाइ आदानप्रदान गर्ने वातावरण सिर्जना गर्नुका साथै उनीहरूको प्रतिभा र सिर्जनशीलता उजागर गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । पूर्वमन्त्री माधव चौलागाँईले शिक्षा क्षेत्रको विकासका लागि तातोपानी गाउँपालिकाले गरिरहेका काम अनुकरणीय रहेको बताउनु भयो । विद्यार्थीको मनोबल बढाउन तथा उनीहरूमा सिर्जनशीलता विकास गर्न शैक्षिक मेलाले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले तातोपानी गाउँपालिकाले विकास निर्माणसँगै शिक्षा क्षेत्रमा पनि राम्रो काम गरिरहेको बताउनु भयो । शिक्षा क्षेत्रको विकासबिना अन्य क्षेत्रमा गरिएको विकासको पूर्ण अर्थ नहुने उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले शिक्षा क्षेत्रमा गाउँपालिकाले गरेका गतिविधि स्वागतयोग्य रहेको बताउनुभयो । बालबालिकाले आफ्नै हातले निर्माण गरेका शैक्षिक सामग्रीको प्रदर्शनीले उनीहरूमा पढाइप्रति रुचि र लगाव बढाउन सहयोग पुग्ने उहाँले बताउनु भयो ।
चार विद्यालय उत्कृष्ट
शैक्षिक मेलामा सहभागी विद्यालयमध्ये दुर्गा माध्यमिक विद्यालय लाम्रा प्रथम, आधारभूत विद्यालय राँका द्वितीय, हिमशिखर माध्यमिक विद्यालय तातोपानी तृतीय र कालिका आधारभूत विद्यालय हियाँखोला सान्त्वना भएका छन् । उत्कृष्ट विद्यालयले स्थानीय स्रोत साधनको प्रयोग गरी निर्माण गरेका विभिन्न शैक्षिक सामग्री प्रदर्शनीमा राखेका थिए । कालिका आधारभूत विद्यालय हियाँखोलाका प्रधानाध्यापक रमेश न्यौपानेले शैक्षिक मेलाले विद्यालय बीच सिकाइ आदानप्रदान गर्ने अवसर प्रदान गरेको बताउनु भयो ।

उहाँले विद्यार्थीको प्रतिभा पहिचान गर्न तथा उनीहरूमा रहेको सिर्जनशीलता बाहिर ल्याउन शैक्षिक मेला उपयोगी भएको बताउन ुभयो । दुर्गा माध्यमिक विद्यालय लाम्रामा कक्षा ९ मा अध्ययनरत विद्यार्थी अनुराधा चौलागाँईले आफूले निर्माण गरेको शैक्षिक सामग्री प्रदर्शनीमा राख्न पाउँदा खुसी लागेको बताउनु भयो । विद्यार्थीको सहभागितामा आयोजना गरिएको मेलाबाट नयाँ कुरा सिक्ने अवसर प्राप्त भएको उहाँको प्रतिक्रिया थियो ।
शैक्षिक मेलासँगै राष्ट्रिय शिक्षा दिवसको अवसरमा तातोपानी गाउँपालिकाले सात जना शिक्षकलाई सम्मानसमेत गरेको छ । तातोपानी गाउँपालिकाको आयोजनामा तथा किर्डाक नेपाल तातोपानीद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजना, सेभ द चिल्ड्रेन र विद्यालय खाद्य कार्यक्रमको समन्वय तथा सहकार्यमा राष्ट्रिय शिक्षा दिवस तथा शैक्षिक मेला आयोजना गरिएको हो ।















