जुम्ला तिला गाउँपालिका २ का मानबहादुर बोहोराको एक दशक अघिसम्म कालापहाड यात्रा निरन्तर चल्थ्यो। उनी घरपरिवारको रोजीरोटी र छोराछोरीको पठनपाठन खर्चको लागि कालापहाड नगई हुन्थेन। उनको आयआर्जनको एकमात्र विकल्प थियो, कालापहाड। कालापहाडबाट कमाएर ल्याएको रकमले परिवारको लुगो फेर्थे। तर पछिल्लो समयमा उनलाई कालापहाड जानु परेको छैन। उनी आफ्नै बारीमा उत्पादन गरिएको टमाटर बेचेर मनग्गे आम्दानी गर्छन्। उनी अहिले गाउँलेका लागि तरकारी व्यापारी बनेका छन्। किसानका लागि असल किसान। उनको बारीमा पुगेर तरकारी खेतीबारे परामर्श लिने पनि धेरै छन्।
२०५२ सालदेखि टमाटर खेती थालेका उनले बीचमा छाडे। त्यो बेला उनले तरकारी खेतीमा राम्रो गरेको भन्दै एक हजार रुपैयाँले पुरस्कृत भएका थिए। एक हजार रुपैयाँको उतिबेला महत्व निकै धेरै थियो। तत्कालिन रारालिही गाविसको एकमात्र पुरस्कृत हुने किसानको सुचीमा थिए। तर बीचमा जनयुद्ध भएपछि टमाटर खेती छोडे। उनले कालापहाडको यात्रा रोजे। हिउँदका अधिकांश महिना उनी कालापहाडमै बस्थे। कालापहाडमा रहेर पनि गाउँमा तरकारी फलाएको सपना देखिरहन्थे। तर त्यो प्रकारको माहोल थिएन।
देशमा शान्ति प्रक्रिया शुरु भएसँगै उनले फेरि टमाटर खेती थालेका छन्। टमाटरसहित उनीसँग सबैजसो तरकारी पाइने गरेको छ। उनले भने, ‘अहिले तरकारी खेती आम्दानीको स्रोत बनेको छ। घरखर्च जुटाउन कालापहाड धाउनु परिरहेको छैन। परिवारसँग बसेर ढुक्कले तरकारी खेती गर्ने परिस्थिति छ। यो नै खुसीको कुरा हो।’
उनले आफ्नै बारीमा उत्पादन गरेको ५ क्वीन्टल टमाटर यो वर्ष बेचे। आफ्नो बेचेर उनले गाउँलेको तरकारी खरिद गरेर जिल्ला बाहिरसमेत पठाए। एक महिनामा उनको आम्दानी ९५ हजार भयो। यो उनको परिवारका लागि वर्षभरीको खर्च हो। गाउँले किसानबाट प्रतिकेजी ५० रुपैयाँ खरिद गरेर ६० रुपैयाँमै आफूले बेचे। उनले कनकासुन्दरी गाउँपालिकाको गोठिज्युला, जुम्ला सदरमुकाम खलंगा, पातारासी गाउँपालिका, कालिकोट सदरमुकाम मान्मसम्म तरकारी पठाए।
अहिले पनि ठाउँठाउँबाट तरकारीको माग आइरहेको उनी बताउँछन्। तर गाउँमा फलेको सबै तरकारी सकिएकोले पुर्याउन सकिने अवस्था छैन। उनले भने, ‘पहिलो चरणमा लगाएको तरकारी सकियो। दोस्रो चरणमा लगाएको तरकारी बर्षाले गर्दा बारीमै कुहियो।’ उनले आफ्नो अधिकांश खेतबारीमा तरकारी फलाएका छन्।
उनको बारीमा आलु, सिमी, खुर्सानी, भेन्टा, काँक्रो, करेला, ठूलो खुर्सानी, फर्सी, मुला, गाँजर सबै पाइन्छ। उनले भने, ‘तरकारी खरिद गर्न संकलन केन्द्रमै व्यापारी पुग्छन्। गाउँ नजिकै पेस नेपालले संकलन केन्द्र स्थापना गरेपछि गाउँभरीको सबै तरकारी एकै ठाउँमा संकलन हुन्छ। त्यहाँबाट व्यापारीले लैजान्छन्। उनी अहिले त्यो संकलन केन्द्रको व्यवस्थापक भएर चलाउँदैछन्।
उनले स्याउ पनि बेच्ने तयारी थालिरहेका छन्। उनले भने, ‘सबै कालापहाड भन्छन्। तर कालापहाडभन्दा आफ्नैबारीमा गरिएको मेहनतले गरेको फल कैयौँ गुणा मिठो हुन्छ। आफ्नै खेतबारीमा अर्गानिक तरकारी फलाउन सकेको खण्डमा न कालापहाड जानुपर्छ। नत कुनै खाडीमुलुक। बसीबसी घरमै सबै समस्याको समाधान हुन्छ। यही नै पारिवारिक सन्तुष्टी हो।’