भुरचौर गाउँमा भेरीको पुग्यो पानी, स्थानीयवासीको मनमा छायो खुसी

जाजरकोट : दुई वर्षअघि भेरी नगरपालिका–१० भुरचौरका थेपो कामीले भेरी नदीमा पानी ल्याउन पठाएका आठ वर्षीय छोरा नरबहादुरलाई भेरीले बगाएको थियो। नदीले छोरो बगाएपछि अशान्त भएका थेपेको आँगनमै अहिले पानी पुगेको छ।

पानी लिन जाँदा नै चार वर्षअघि १५ वर्षीय कृष्ण खत्रीलाई भेरीले बगाएको थियो। यस्तै, ६  वर्षअघि  १२ वर्षीय कर्णबहादुर विकलाई समेत नदीले बगाएको  थियो।

पानी गाउँमा पटक–पटक ल्याउन माग गरेका थेपेलगायत धेरै गाउँलेहरुले पानीकै काराण आफन्त गुमाएपछि बल्ल आँगनमा पानी पाएका छन्। पानी लिन जाँदा भेरीकै सिकार भएपछि पीडाको सीमा नाघेको बताउने भुरचौरबासी अब गाउँमै पानी आएपछि खुसी मात्र भएका छैनन्, मानवीय क्षति हुनबाट जोगिएको बताएका छन्।

एक घण्टा उकालो दूरीमा पानी बोकेर पिउनुपर्ने बाध्यता अन्त्य भएपछि भेरी नगरपालिका–१० भुरचौरका सर्वसाधारणहरु पानीको दुःख कम भएको बताउँछन्। खानेपानी  सिँचाइ तथा ऊर्जा विकास कार्यालयको आर्थिक सहयोगमा लिप्ट खानेपानी निर्माण गरेसँगै भुरचौरमा खानेपानी गाउँमै पुगेको छ।

भुरचौरमा बस्ती बसेसँगै खानेपानीको समस्या झेल्दै आएका थिए। पटक–पटक मन्त्रीदेखि नगरपालिकासम्म धाएर खानेपानीको माग राखेका भुरचौरबासीको माग सम्बोधन भएपछि खुसीको सीमा नै नरहेको स्थानीय अस्मिता शाहीले बताइन्।

६० लाख रुपैयाँमा भेरी नदीको किनारबाट भुरचौरमा खानेपानी पुर्‍याउन सफल भएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयकाका प्रमुख ज्वालाराज शाहीले बताए। भेरी नदीको किनारबाट १९४ मिटर उचाईमा सोलार र विद्युतबाट चल्ने मल्टी पम्पिङ्ग सेटबाट पानी चढाएर ६५ एमएमको जिआई पाइपमा ४०० मिटर दूरीमा प्रतिसेकेण्ड पाँच लिटर पानी भुरचौरमा पुर्‍याएको शाहीले बताए।

अहिले भुरचौरमा एक लाख लिटरको पानी टेंकी निर्माण गरेर २५० घरधुरीको घर–घरमा पाइपलाइन विस्तार गरी खानेपानी धारा निर्माण गर्ने काम अझै बाँकी रहेको कार्यालय प्रमुख शाहीले बताए। आयोजनालाई दिगो बनाउनुको साथै उपभोक्ताहरुले नियमित रुपमा तिर्नुपर्ने विद्युत महसुललाई कम गर्न मर्मसम्मार कोषको आबश्यकता रहेको जानकारी दिँदै कार्यालय प्रमुख शाहीले दुई वटा पम्पिङ्ग सेटको व्यवस्था गरिएको बताए।

सम्बन्धित शीर्षक