कन्याम घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

  ।   २ माघ २०७७, शुक्रबार ११:२१

झापा । इलामको कन्याम घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना परी झापामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ७ स्थित मिलडाँडा निवासी २१ वर्षीय कविराज भनिने कमल चौधरी र सोही ठाउँका २० वर्षीया हेमा महत रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार मेची राजमार्गमा अन्तरगत बुद्धशान्ति गाउँपालिका(४ स्थित बर्ने चिया बगान क्षेत्रमा बिहीबार साँझ टाटा सुमोसँग मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो। इलामबाट झापा झर्दै गरेको मे ७ प ९४६२ नम्बरको मोटरसाइकललाई मे १ ज २०९३ नम्बरको सुमोले ठक्कर दिएको थियो।

दुर्घटना परी मोटरसाइकलमा चालक चौधरी र पछाडि सवार महत गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारका लागि बिएण्डी अस्पताल बिर्तामोड लगिएको थियो। अस्पतालका चिकित्सकले चालक चौधरीलाई पुर्याउन साथ मृत घोषणा गरिदिएका थिए भने महतको उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको हो।

माघे सङ्क्रान्तिको अवसरमा उनीहरू बिहीबार साथीभाइसँग इलामका कन्याम घुमेर फर्किने क्रममा दुर्घटनामा परेका थिए। यता दुवै जनाको मृत्युले अहिले सिङ्गो गाउँ नै शोकमग्न बनेको छ।

Next Post

सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ सार्वजनिक (भिडियाेसहित)

२ माघ २०७७, शुक्रबार ११:२१
काठमाण्डौं । सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई अनुमति नेपालीले साथ दिएकी छन्। गीतमा अरुण तिवारीको शब्द र दीपक शर्माको संगीत, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र विष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको छ।