कर्णालीमा देउडा खेलेर मनाईयो साउने संक्रान्ति

 

कर्णाली प्रदेशमा खासगरी व्यक्ति तथा मानव समाजमा विद्यमान विकृत अर्थात् विकारयुक्त प्रवृति एवं तत्व सकिएर जाओस् भन्ने कामना गर्ने दिनका रुपमा बुझिन्छ साउने संक्रान्ति ।

कर्णालीमा यसको ऐतिहासिक, सामाजिक र साँस्कृतिक महत्व छ । कर्णालीवासीहरुले यसलाई विशेष महत्वका साथ साउने संक्रान्ति मनाउने गर्दछन् । विगतमा मौलिक संस्कृतिका रुपमा मनाईदै आएको साउने संस्कृति सूचना र प्रविधिसँगै यसका केही मौलिक पक्षहरु विस्मरण गर्न थालिएको छ ।

सूचना र प्रविधिको तीव्रतम विकास, बढ्दो शहरीकरण, बसाईसराईले कर्णालीमा अधिकांश मौलिक संस्कृतिहरुको पनि रुप फेरिँदै जान थालेको छ । यसबाट यहाँको भाषा, कला, साहित्य र संस्कृति हराउने हो कि भन्ने चिन्ता संस्कृतिसम्बन्धी जानकारहरुले गर्दै आएका छन् ।

बन्धुत्व, भातृत्व, मित्रता र भगिनीत्वलाई कायम राख्ने पर्व संरक्षणका लागि ढिलै भएपनि यहाँको युवा जमात र कर्णाली प्रदेश सरकारले विशेष कदम चालेको छ । प्रदेश सरकारले राजपत्रमै प्रकाशन गरेर साउने संक्रान्तिमा देउडा पर्व थपेर आधिकारिकरुपमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

त्यस्तै, जुम्ली एकता सेवा समाजसँग आवद्ध युवाहरुले ढिलै भएपनि कर्णालीको ऐतिहासिक, सामाजिक, साँस्कृतिकसहित राजनीतिक जीवनसमेतका बारेमा गितीलयबाट बोल्ने देउडा संरक्षण र सम्वद्र्धनको प्रारम्भिक यात्रा तय गरेका छन् । उनीहरुले आज मात्र प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मैत्रीपूर्ण फुटबल, देउडा खेल्नुका साथै बेलुका ७ः०० बजे राँको बालेर साउने संक्रान्ति तथा देउडा पर्व मनाएएको जुम्ली एकता सेवा समाजका सदस्य अमृत पाण्डेले जानकारी दिनुभयो ।

यसको पर्वमा कर्णाली प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको सहभागिता रह्यो । उहाँले कर्णाली प्रदेश सरकारले खुशीयाली मनाउने, ऐतिहासिक महत्वको दिनको आवश्यकता बोध गर्दै मौलिक संस्कृतिको जगेर्ना गर्न सघाउने मात्र नभई चैत्र १२ गते धान दिवस र असोजमा चन्दननाथ मन्दिरमा लिङग् हाल्ने (ठठ्याउने) दिनलाई पनि कर्णाली सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको बताउनुभयो ।

सम्बन्धित शीर्षक