शुक्लागण्डकीको नीति, कार्यक्रम तथा बजेट पारित

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । नवौँ नगरसभामा प्रस्तुत गरिएको नीति, कार्यक्रम तथा बजेट बिहीबार पारित भएको हो ।

चालू आर्थिक वर्षका लागि शुक्लागण्डकीले १ अर्ब २८ करोड ४९ लाख २९ हजार १ सय रुपैयाँको बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को तुलनामा ५ करोड ९९ लाख ४२ हजार ९ सय १४ रुपैयाँले बढी बजेट ल्याइएको हो ।

अघिल्लो वर्ष १ अर्ब २२ करोड ४९ लाख ८६ हजार १ सय ८६ रुपैयाँको बजेट सार्वजनिक भएको थियो । चालू वर्षमा सबैभन्दा बढी बजेट पूर्वाधार विकासलाई विनियोजन भएको छ ।

नगर उपप्रमुख सविता रसाइलीले नगरसभामा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासलाई मात्र १७ करोड रुपैयाँ विनियोजन भएको छ ।

पूर्वाधार विकासमा विनियोजन भएको रकम गत वर्षको तुलनामा कम छ । गत वर्ष पूर्वाधार विकास शीर्षकमा २० करोड ९४ लाख रुपैयाँ विनियोजन भएको
थियो । सामाजिक विकासतर्फ ८ करोड ३० लाख ४ हजार १ सय रुपैयाँ बजेट छुट्याएको रसाइलीले बताइन् ।

आर्थिक विकासमा २ करोड ७५ लाख ३५ हजार, वातावरण तथा विपद्मा २ करोड ४२ लाख ५० हजार, सुशासन तथा संस्थागत विकासमा १ करोड ३६ लाख, चालू पुँजीगतमा १२ करोड ३६ लाख, प्रदेश समपुरकमा २ करोड, वडागत सिलिङमा १० करोड ८७ लाख, क्रमागत अल्या योजनामा ९ करोड ३४ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

गरिबसँग विश्वेश्वर कार्यक्रमका लागि ५ लाख, ससर्त अनुदानमा ३८ करोड ४३ लाख, सडक बोर्डमा ६० लाख, जनसहभागिताका लागि ५ करोड र सामाजिक सुरक्षा शीर्षकमा १८ करोड रुपैयाँ विनियोजन भएको उपप्रमुख रसाइलीले जानकारी दिइन् ।

आम्दानीतर्फ संघ सरकारको समानीकरण अनुदानमा १५ करोड ४७ लाख, राजस्व बाँडफाँटमा १० करोड ३९ लाख २३ हजार, ससर्त अनुदानमा ३८ करोड ४३ लाख, प्रदेश सरकारको समानीकरण अनुदानमा १ करोड ८८ लाख ३८ हजार, राजस्व बाँडफाँटमा १ करोड ३७ लाख १९ हजार र समपुरक अनुदानमा २ करोड रुपैयाँ अनुमान गरिएको छ ।

यस्तै, आन्तरिक आम्दानी १९ करोड ९१ लाख ५९ हजार १ सय रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । अल्या ४ करोड, सामाजिक सुरक्षा भत्ता १८ करोड, क्रमागत अल्या गरिएको योजना ९ करोड ३४ लाख ४० हजार, सडक बोर्ड ६० लाख, घरजग्गा रजिस्ट्रेसन शुल्क २ करोड, वनबाट ३ लाख ५० हजार आम्दानी अनुमान गरिएको छ ।

पक्की नाला, कालोपत्रे, कल्भर्ट निर्माणमा जनसहभागिताबाट ५ करोड रुपैयाँ आम्दानी हुने जनाइएको छ । गत १० असारमा सुरु भएको नवौँ नगरसभा शोक प्रस्ताव पारित गरेर स्थगति भएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्न डाकिएको नगरसभा वडा नम्बर ६ का वडा सदस्य श्रीबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

नगरसभामा प्रस्तुत नगरिएपनि नगरसभा सदस्यलाई बजेट, नीति तथा कार्यक्रमको प्रति उपलब्ध गराई सार्वजनिक गरिएको थियो ।

बजेट, नीति तथा कार्यक्रमको अध्ययन गरी नगरसभा सदस्यले बिहीबार सुझाव दिएका थिए । बिहीबार नै बजेट पारित गरेको नगरप्रमुख किसान गुरुङले जानकारी दिए ।

नगरसभामा प्रमुख गुरुङले पेस गरेको विनियोजन विधेयक, २०७८, आर्थिक ऐन, २०७८ सँगै स्थानीय तह कर्मचारी व्यवस्थापन ऐन, न्यायिक समितिको कार्यविधि व्यवस्थित गर्ने ऐन र अनुगमन समिति सञ्चालन कार्यविधि ऐन सर्वसम्मत पारित भएको नगर प्रवक्ता खिमबहादुर कुमालले बताए ।

कोभिड नियन्त्रणमा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने नीतिसमेत पारित भएको कुमालले जानकारी दिए ।

शुक्लागण्डकीका जनप्रतिनिधिले आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम कृषि, पर्यटन, पूर्वाधार, कोरोना नियन्त्रणलाई दृष्टिगत गरी बनाएका छन् ।

सम्बन्धित शीर्षक