जिल्ला प्रशासन कार्यालयद्धारा जुम्लाका चन्दननाथ नगरपालिका ७ को मिचा गाउँ र तातोपानी गाँउपालिका १ को राँकागाउँमा सील

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै जुम्लाका दुई वडा सील गरेको छ । चन्दननाथ नगरपालिका ७ को मिचा गाउँ र तातोपानी गाँउपालिका १ को राँकागाउँमा कोरोना संक्रमित बढेपछि यी दुइ वटै वडा सील गरेको हो ।
विगत केहि दिन यता समुदायस्तरमा कोरोना संक्रमण फैलिन गई भयावह स्थिति सृजना हुन सक्ने देखिएकोले समयमै रोकथाम र नियन्त्रण गर्न वडा नै सील गर्नु परेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आदेश जारी गर्दै सबै सरोकारवाला अझै सक्रियताका साथ प्रतिकार्यमा लाग्नु पर्ने अपरिहार्य भैइसकेको जनाएका हुन ।
तातोपानी १ राँका र चन्दननाथ ७ मिचा गाउँमा अधिक मात्रामा संक्रमण देखिएकाले कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ नहुन्जेल सम्मका लागि सील गरिएको उनले भने । सील गरिएको अवधिभर विनाकाम घर वाहिर ननिस्कने, अनिवार्य मास्क लगाउने, बेला बेलामा सावुन पानी हात धुने वा सेनिटाईजर प्रयोग गर्नु साथै न्यूनतम २ मिटरको सामाजिक दुरी कायम गर्नु पर्ने आदेश गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको आदेशमा भनिएको छ,‘सील भएका वडाहरूबाट अर्को वडामा तथा अर्को गाँउपालिकामा आवत जावत हिडडुल गर्न पाइने छैन । विरामी तथा अत्यावश्यक काममा निस्किन परेमा सुरक्षा निकाय संग समन्वय गर्नुपर्ने छ । ’ प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,‘यस अवधिमा गाँउमा भेला, जमघट र अत्याधिक मानिसहरूको उपस्थिति हुने कुनै पनि किसिमको गतिविधि संचालन गर्न गराउन पाइदैन । सील गरिएको वडामा कुनै गाउँपालिका÷नगरपालिकाबाट मानिसहरू प्रवेश गर्न गराउन पाईने छैन ।‘
कन्ट्याक्ट ट्रेसिङमा व्यक्तिले आरडिटी,एन्टीजेन र पिसिआर चेक गराउन स्वास्थ्यकर्मीलाई सहयोग गर्नु पर्ने सुझाव समेत दिइएको छ ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश उल्लघन गर्ने जो सुकै लाई कोभिड–१९ संकट व्यवस्थापन आदेश,२०७८ र स्थानीय प्रशासन ऐन,२०२८ बमोजिम कारवाही गरिने चेतावनी समेत दिइएको छ ।
अहिले जुम्लाको तातोपानी गाउँपालिकको राँका र रावतबाडा गाउँ, चन्दननाथ नगरपालिकाको मिचा गाँउमा कोरोना संक्रमण बढेको छ । तातोपानी गाउँपालिकाले एक साता अघि रावतबाडा गाउँ सील गरेको थियो । संक्रमित सबैलाई आइसोलेसनमा राखिएको तातोपानी गाउँपालिका जुम्लाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार जुम्लामा बैशाख ८ देखि यता ५८९ संक्रमित भएकोमा ३३२ जना निको भएर घर फर्किसकेका छन ।२९ जना संक्रमितले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइराखेका छन । कोरोना संक्रमणका कारण जुम्लाका ४ जना र जुम्ला बाहिरका ३ जना गरेर ७ जनाले ज्यान गुमाइसकेका छन ।

जिल्ला प्रशासन कार्यालयद्धारा जुम्लाका चन्दननाथ नगरपालिका ७ को मिचा गाउँ र तातोपानी गाँउपालिका १ को राँकागाउँमा सील

सम्बन्धित शीर्षक