लक्ष्मी न्याैपाने
जुम्ला । वल्र्ड भिजन इन्टरनेशनल नेपाल र किर्डाक नेपाल जुम्लाको साझेदारीमा जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित परियोजनाहरूको संयुक्त अनुगमन गरिएको छ।
चन्दननाथ नगरपालिका, गुठीचौर, पातारासी, तातोपानी र तिला गाउँपालिकामा सञ्चालित विभिन्न कार्यक्रम तथा परियोजनाको अनुगमन गर्दै सरोकारवालासँग छलफल गरिएको हो।
अनुगमनका क्रममा गुठीचौर, तिला र तातोपानी गाउँपालिकामा गठन गरिएका जलवायुमैत्री कृषक समूहले सञ्चालन गरेका हाते ट्याक्टर, थ्रेसर मेसिनलगायत कृषि सामग्री तथा उपकरणको निरीक्षण गरिएको छ। साथै, कृषि उत्पादन, बचत तथा आयआर्जनका गतिविधिबारे समूहका सदस्यसँग छलफल गरिएको थियो।
तातोपानी गाउँपालिका–२ मा रहेको सिर्जनशील बाल क्लबमा आबद्ध बालबालिकालाई बाल अधिकार तथा उनीहरूको हकहितका विषयमा जानकारी प्रदान गरिएको छ। बाल क्लबमा दर्ता भएका बालबालिकालाई आफ्ना अधिकारप्रति सचेत गराउँदै बालमैत्री वातावरण निर्माणमा जोड दिइएको छ।
यसैगरी, तातोपानी गाउँपालिका–२ लिताकोटस्थित बुदबुदी माइ सिमी उत्पादन समूहमा सिमी बालीमा कागे किराको समस्या देखिएको र उत्पादित सिमीको बजारीकरणमा समेत समस्या रहेको समूहका सदस्यहरूले बताएका छन्। उत्पादन वृद्धि गर्न कृषि प्राविधिक सहयोग तथा बजार व्यवस्थापन आवश्यक रहेको उनीहरूको भनाइ छ।
तिला गाउँपालिका–३ मा रहेको लाछु जिउला सिमी उत्पादन समूहकी सचिव शारदा जिसी रोकायाका अनुसार समूहमा २१ जना सदस्य रहेका छन्। समूहका सदस्यले प्रत्येक महिना प्रतिव्यक्ति एक सय रुपैयाँका दरले बचत गर्ने गरेका छन्। यसबाट मासिक दुई हजार एक सय रुपैयाँ बचत संकलन हुने गरेको छ। बचत तथा सामूहिक सिमी उत्पादनमार्फत महिलाको आयआर्जनमा सहयोग पुगेको समूहले जनाएको छ।
त्यस्तै, तिला गाउँपालिका–३ कुडारीस्थित नौलो बिहानी सिमी उत्पादन समूहमा पनि कृषि तथा आयआर्जनसम्बन्धी गतिविधि सञ्चालन भइरहेका छन्। समूहकी सदस्य निर्माया नेपालीले झोलमल बनाउन सिकेको र त्यसलाई कृषि उत्पादनमा प्रयोग गर्दै आएको बताउनुभएको छ।
यस्तै, तिला गाउँपालिका–४ सापुल्लीस्थित श्री आधारभूत विद्यालय, नाभीडाँडामा विद्यार्थीको स्वास्थ्य तथा शैक्षिक वातावरण सुधारका लागि विभिन्न सहयोग गरिएको छ। विद्यालयमा कार्पेट, पीपी फर्म, राउन्ड टेबललगायतका सामग्री उपलब्ध गराइएको छ भने विद्यार्थीको स्वास्थ्य परीक्षणसमेत गरिँदै आएको विद्यालयले जनाएको छ।
विद्यालयमा करिब एक सय ४० जना विद्यार्थी अध्ययनरत छन्। भवन निर्माणलगायतका क्षेत्रमा समेत सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ। न्यून आयस्रोत भएका परिवारका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री सहयोग गर्न सकेमा अध्ययनमा थप सहज हुने विद्यालयको अपेक्षा छ।
त्यस्तै, तिला गाउँपालिका–४ जोगीबाडास्थित शिव भैरव आधारभूत विद्यालयमा समेत शैक्षिक तथा भौतिक पूर्वाधार सुधारका लागि विभिन्न सहयोग गरिएको छ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपाल जुम्लाको सहकार्यमा सञ्चालित यी कार्यक्रमले बालबालिकाको अधिकार संरक्षण, महिला तथा समुदायको आयआर्जन वृद्धि, कृषि उत्पादनमा सुधार तथा विद्यालयको शैक्षिक वातावरण निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
संयुक्त अनुगमनमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, सरोकारवाला निकाय तथा सञ्चारकर्मी पत्रकारहरूको सहभागिता रहेको थियो।














