लक्ष्मी न्याैपाने
चन्दननाथ नौमुडे बचत तथा ऋण सहकारी संस्थाले कार्य समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा संस्थाको आर्थिक अवस्था, ऋण असुली, शेयर सदस्य वृद्धि तथा आगामी आर्थिक वर्षका योजनाबारे समीक्षा गरिएको छ । संस्थाले चालु आर्थिक वर्षमा ७४ लाख ७६ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये २ लाख ९३ हजार ६८० रुपैयाँ खुद आम्दानी गर्ने अनुमान गरिएको संस्थाका अध्यक्ष तीर्थसिंह कठायतले बताउनु भयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा ५० जना नयाँ शेयर सदस्य थप गर्ने लक्ष्यसमेत राखिएको छ । संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा ६२ लाख २७ हजार ९४५ रुपैयाँ खर्च गरेको छ । सो अवधिमा ६२ लाख ५७ हजार २०८ रुपैयाँ कुल आम्दानी गरेको व्यवस्थापक श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो । हाल सहकारीमा ५ करोड २४ लाख ४७ हजार ७३१ रुपैयाँ बचत रहेको छ भने ६ करोड १४ लाख १६ हजार ४७२ रुपैयाँ ऋण लगानी भएको व्यवस्थापक आचार्यले बताउनुभयो। सहकारीमा हाल १ हजार १७६ जना शेयर सदस्य रहेका छन् । तीमध्ये ६८८ जना महिला र ४८८ जना पुरुष छन् । ऋण असुलीमा समेत सहकारीले सुधार गरेको जनाएको छ। गत वर्ष ७५ प्रतिशत ऋण असुली गर्ने लक्ष्य राखिएकोमा ८० प्रतिशत ऋण असुली गर्न सफल भएको उपाध्यक्ष तिलकप्रसाद न्यौपानेले बताउनुभयो। चालु आर्थिक वर्षमा पनि ८० प्रतिशत ऋण असुली गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ । उपाध्यक्ष न्यौपानेका अनुसार सहकारीको कुल सम्पत्ति ६ करोड ७८ लाख ३३ हजार ५२९ रुपैयाँ बराबर रहेको छ। अन्य कतिपय सहकारी संस्थाहरू संकटमा परिरहेको अवस्थामा चन्दननाथ नौमुडे बचत तथा ऋण सहकारीको अवस्था सन्तोषजनक रहेको उहाँले बताउनु भयो । योजना तर्जुमा गोष्ठीमा बोल्दै अध्यक्ष तीर्थसिंह कठायतले सहकारीलाई थप व्यवस्थित र सबल बनाउन शेयर सदस्य, कर्मचारी तथा सञ्चालक समितिको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । संस्थालाई राम्रो बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । सहकारीका पूर्वअध्यक्ष रमानन्द आचार्यले आफूहरूसँगै स्थापना भएका कतिपय सहकारी संस्था अहिले अस्तित्वमा नरहेको अवस्थामा चन्दननाथ नौमुडे सहकारी निरन्तर सञ्चालनमा रहनु महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । संस्थालाई चलायमान बनाउन योगदान गर्ने सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । जिल्ला सहकारी संघका उपाध्यक्ष जयबहादुर रावलले सहकारीले सहकारीका सिद्धान्तअनुसार काम गरिरहेको बताउनु भयो । संस्थाले योजना तर्जुमा गरेर त्यसलाई साधारणसभामार्फत अघि बढाउने अभ्यास नमुनायोग्य रहेको उहाँको भनाइ छ । यस्तै, जिल्ला बचत संघका उपाध्यक्ष पूर्ण तिमिल्सिनाले सहकारी राम्रो अवस्थामा सञ्चालन भइरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । चन्दननाथ नौमुडे बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक समिति, शेयर सदस्य तथा अन्य सरोकारवालाको सहभागितामा प्रत्येक वर्ष कार्य समीक्षा तथा योजना तर्जुमा गर्दै आएको जनाएको छ । जिल्लाका अन्य सहकारीको तुलनामा संस्थाले नियमित रूपमा यस्तो अभ्यास गर्दै आएको सहकारीको भनाइ छ ।














