बाढीपहिरो पीडितका लागि जुम्लामा राहत संकलन सुरु

लक्ष्मी न्यौपाने
जुम्लाबाट रसुवाको भोटेकोशी बाढीपहिरो प्रभावित नागरिकका लागि राहत संकलन अभियान सुरु गरिएको छ। यही भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि खाद्यान्न तथा लत्ताकपडा संकलन गर्न थालिएको हो।
जुगाड खोला सरसफाइ तथा समाज रूपान्तरण अभियान, जुम्लाको आयोजनामा राहत संकलन अभियान सुरु गरिएको अभियानका संयोजक उपेन्द्र बुढथापाले जानकारी दिनुभयो।
उहाँका अनुसार अभियानको पहिलो दिन शुक्रबार करिब ४५ हजार रुपैयाँ बराबरको राहत सामग्री संकलन भएको छ। पहिलो दिन जुम्लाका १५ जना मनकारी व्यक्तिले खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्। अभियानमा जुम्लामा उत्पादन हुने कृषि उपजसमेत सहयोग गर्न संयोजक बुढथापाले आग्रह गर्नुभएको छ।
विपद्को समयमा जुम्लाका जनता पनि बाढीपहिरो पीडितको साथमा छन् भन्ने सन्देश दिन राहत संकलन अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो।
जुम्ला सदरमुकामस्थित कृष्ण मन्दिर अगाडि शुक्रबार राहत संकलन गरिएको थियो। शनिबार कालीखोली र पातारासी गाउँपालिका–६ अन्तर्गत उर्थुमा समेत राहत संकलन गरिएको अभियानले जनाएको छ।
सडकको अवस्था सहज नभएसम्म राहत संकलन जारी राख्ने र त्यसपछि सम्बन्धित क्षेत्रमा पुर्‍याउन  योजना रहेको बुढथापाले बताउनुभयो। बाटोको अवस्थाका कारण हाल संकलन भएको राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा लैजान सक्ने अवस्था नरहेको उहाँको भनाइ छ।
राहत सामग्री सम्बन्धित ठाउँमा पुर्‍याउन  जिल्ला प्रशासन कार्यालय, जुम्लासँग समन्वय भइरहेको उहाँले बताउनुभयो। यता, जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले पनि जुम्लाबाट राहत संकलन सुरु भएको पुष्टि गर्नुभएको छ। राहत संकलनका विषयमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
सडकको अवस्था सहज नभएकाले संकलित राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा  पुर्‍याउन  कठिनाइ रहेको उहाँको भनाइ छ।
यसैबीच, तातोपानी गाउँपालिकाले बाढीपहिरो पीडितका लागि जुम्लामा उत्पादित स्याउ राहतस्वरूप पठाउने तयारी गरेको छ। स्याउ ढुवानीका विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी प्रसाईँले जानकारी दिनुभयो।

सम्बन्धित शीर्षक