कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएको ६ घण्टामा एक संक्रमित महिलाको मृत्यु

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएको ६ घण्टामा एक संक्रमित महिलाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका १ राँकागाउँकी ३४बषिया एक संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भट्टराईले संक्रमित महिला दिर्घ रोगी भएको जानकारी दिए । उनले भने,‘ संक्रमित महिलाको किड्नी मुटु, हेमोग्लोविन पनि कम थियो । विहिबार नै अस्पतालमा भर्ना गरिएको हो । आईसियू र भेण्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन सकिएन ।’
उनी संगै तातोपानी गाउँपालिकामा कोरोना संक्रमितको संख्या २४ जना थियो । गाउँमा रुघाखोकीमा बिरामी बढ्न थालेपछि गाउँमा राखिएका सुचना अधिकारीले दिएको सुचनाका आधारमा कोरोना परिक्षण गर्दा २५ जनामा २३ जना संक्रमित देखिएका थिए । अन्य संक्रमित संस्थागत आइसोलेसनमा राखिएको छ । गम्भीर प्रकारका बिरामीको कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ ।
कोभिड अस्पतालमा उपचार हुन नसक्ने बिरामी कर्णाली अस्पतालमा पठाउने तयारी भइरहेको छ । यो घटनासँगै जुम्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । हिमा गाउँपालिका – ७ का एक पुरुष, तिला गाउँपालिका – १ रारालिहिका एक जना पुरुष र गुठीचौर गाउँपालिका – ३ की एक महिलाको कोभिडका कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
जुम्लामा कोरोना संक्रमितको संख्या ५७४ पुगेको छ । संक्रमण मुक्त हुनेको संख्या ३३२ जना रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसन कक्षमा २७ जना उपचार गराइरहेका छन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराउन ल्याएका सुर्खेतको १,कालिकोटका जिल्लाको तिलागुफा नगरपालिकाका २ जनाको मृत्यु भएको थियो । कर्णाली अस्तालमा ३ जना जिल्ला बाहिरको र ४ जना जिल्ला भित्रको गेरर ७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

सम्बन्धित शीर्षक