प्रभा भण्डारी।
सुर्खेत। सुर्खेतकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि अन्ततः उठाइएको छ। फागुन २३ गते मृत अवस्थामा फेला परेकी इनिशाको घटनामा संलग्न भनिएका चार जनालाई जिल्ला अदालत सुर्खेतले बाल सुधार गृह पठाउने आदेश दिएपछि आफन्तले शव बुझेका हुन्।
आइतबार र सोमबार दुवै पक्षबीच बहस सम्पन्न भएपछि न्यायाधीश दीपक ढकालको इजलासले चारै जनालाई अनुसन्धान पूरा नभएसम्म बाल सुधार गृहमा राखेर मुद्दा अघि बढाउन मंगलबार राति आदेश दिएको हो।
ती चार जनाविरुद्ध जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगको अभियोग लगाइएको छ। अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलका अनुसार घटनाको गम्भीरता र उपलब्ध प्रारम्भिक प्रमाणका आधारमा यस्तो निर्णय गरिएको हो।
सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतसहित अन्य सरकारी वकिलहरूले बहस गरेका थिए भने पीडित पक्षका कानुन व्यवसायीहरूले पनि अदालतमा आफ्नो पक्ष राखेका थिए। प्रतिवादी पक्षका वकिलहरूले पनि छुट्टै बहस गरेका थिए।
अदालतले एक जना आरोपी किशोरको एसईई परीक्षाको व्यवस्थापन गर्न, पीडित परिवारलाई सुरक्षा दिन र साक्षी तथा पीडितलाई कुनै प्रकारको दबाब वा अवरोध पुर्याउने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन समेत निर्देशन दिएको छ।
इनिशा फागुन २३ गते ट्युसन जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। पछि वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले उनका प्रेमी भनिएका एक किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। त्यसपछि थप तीन जनालाई पनि पक्राउ गरिएको थियो। पक्राउ परेकाहरूले प्रारम्भिक बयानमा शारीरिक सम्पर्कपछि अत्यधिक रक्तस्रावका कारण उनी अचेत भएको बताएका थिए।
तर प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै चारै जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।














