स्यानु उपाध्याय जुम्ला ।
जुम्ला : जुम्ला बजारको कालेखोलीस्थित एक होटलमा जातीय विभेद भएको घटनाको भिडियो सार्वजनिक भएको छ।
गुठिचौर गाउँपालिका–३ की कविता बुढाले तातोपानी खान गएका राजबहादुर सुनारमाथि अपमानजनक शब्द प्रयोग गर्दै खुलेआम विभेद गरेको भिडियोमा देखिन्छ।
भिडियोमा उनले सुनारलाई ‘डुम’ भन्दै बारम्बार अपमानजनक अभिव्यक्ति दिएकी छन्। साथै, आफूलाई त्यसरी बोल्न रोक्न नपाइने भन्दै विवादास्पद भनाइ राखेकी छन्।
उनले आफ्नो परिवारको पहुँचको समेत उल्लेख गर्दै, आफूलाई कुनै कारबाही भए पनि छुटाइने दाबी गरेकी देखिन्छिन्।
उक्त घटनाप्रति सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।














