दिपक विश्वकर्मा जुम्ला
जुम्ला । करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका पत्रकार नौरते नेपाली यस वर्ष कर्णाली प्रदेश सरकारले स्थापना गरेको कर्णाली समावेशी पत्रकारिता पुरस्कार बाट सम्मानित भएका छन् ।
बुधबार प्रदेश स्थापना दिवस तथा सहिद दिवसको अवसरमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशी र मुख्यमन्त्री यामलाल कँडेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । यस पुरस्कारमा ३५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र रहेको छ ।
गुठिचौर गाउँपालिका–५ देपालगाउँका स्थायी बासिन्दा नेपाली हाल रेडियो कर्णाली जुम्लाका कार्यक्रम संयोजक र गोरखापत्र दैनिकका जुम्ला संवाददाता छन् । पत्रकारितामार्फत सामाजिक रुपान्तरण, सुशासन र विकासका सवालमा निरन्तर कलम चलाउँदै आएका उनी प्रदेशस्तरीय यो पुरस्कार प्राप्त गर्ने पहिलो पत्रकार बनेका हुन् ।
पुरस्कार ग्रहण गर्दै उनले भने, “यो सम्मान व्यक्तिगत मात्र होइन, समग्र क्रियाशील पत्रकारहरूको सम्मान हो । यसले मलाई अझ जिम्मेवार र निष्ठापूर्ण पत्रकारिता गर्न प्रेरित गरेको छ ।”
हाल नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्षसमेत रहेका नेपाली जिल्लाका पत्रकारहरूको पेशागत सुरक्षा र अधिकारको वकालतमा समेत सक्रिय छन् ।














