जुम्लाको पातारासीमा ग्यास चुलो विस्फोटपछि आगलागी, दुई तला घर पूर्ण रूपमा जलेर नष्ट

दीपक विश्वकर्मा जुम्ला।

जुम्ला जिल्लाको पातारासी गाउँपालिका–६ मा आज बिहान ग्यास चुलोको प्रयोगका क्रममा एक घरमा भीषण आगलागी भएको छ। आगलागीबाट घरका दोस्रो र तेस्रो तला पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहान करीब ६:३० बजे रणु महतारा (उमेर करिब ३२ वर्ष) को तिनतले कच्ची घरको दोस्रो तलामा ग्यास चुलो बाल्ने क्रममा अचानक आगो लागेर फैलिएको हो।

इलाका प्रहरी पोस्ट उर्थुचौताराका अनुसार आगलागीले अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामग्री पूर्ण रूपमा खरानी बनाएको छ। घरमा रहेका दुई तला पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने मानवीय क्षति भने नभएको पुष्टि भएको छ।

घटनाको खबर बिहान ८:३० बजे प्रहरी चौकी उर्थुचौतारामा टेलिफोनमार्फत प्राप्त भएको थियो। त्यसपछि प्रहरी हवल्दार मनोजराज गिरीको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार आगलागी भएको घर प्रहरी चौकीबाट करिब पाँच किलोमिटर उत्तरमा पर्छ। स्थानीयवासीका भनाइमा कच्ची घर र टिनको छानाले आगोले तीव्र रूपमा फैलन सघाएको हो।

हाल आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ भने क्षतिको विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरी स्रोतले जनाएको छ। साथै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ।

सम्बन्धित शीर्षक