जर्मी गाउँका महिलाहरुको लोभलाग्दो तरकारीखेति

लक्ष्मी न्यौपाने,जुम्ला ।,
जुम्ला तातोपानी गाउँपालिका २ जर्मीगाउँकी कबिता बुढा एकाबिहानै तरकारी बारीमा पुग्छिन् । उनको हरेक दिन तरकारीखेतिको रेखदेखमै वित्छ । पहिलो पटक गाउँका महिलाहरुले सामुहिक रुपमा तरकारी खेति गरेपछि उनी निकै व्यस्त छिन् । उनका अनुुसार तरकारीको सामुहिक खेति भएपनि उत्पादन व्यक्तिगत हुनेछ । तरकारी खेतिबाट महिलाहरुको आर्थिक अवस्था बलियो हुदैं जानेमा उनी विश्वस्त छिन ।
यो समयमा तरकारीबारीमा काउली, बन्दा, गोलभेडा,आलु, गाँजर, मुला ,फर्सी र प्याजले हरियाली छ । तरकारी बेचेर लाखौं रुपैयाँ आम्दानी गर्ने महिलाहरुको योजना छ । गत बर्षहरुमा जौं, गहुँ र धानखेति खेती भइरहेको खेतबारीमा अहिले तरकारी फलेका छन ।
बारीमा उत्पादन भइरहेको तरकारी स्थानीय बजारमा लैजाने गरेको महिलाहरुले बताएका छन । तातोपानी गाउँपालिकाको लिताकोट र तातोपानी बजारमा तरकारी बेच्न लैजान गरिएकोछ । जौं,गहँु र धानखेतिले फाइदा दिएन्,कबिताले भनिन्, ‘ अहिले तरकारी खेतिले आर्थिक रुपमा सबल बनाउला भन्ने आशा पलाएको छ ।’
जलवायु परिवर्तनका कारण परम्परागत खेती प्रर्णालीमा प्रत्यक्ष रुपमा असर पार्न थालेपछि महिलाहरुले वैकल्पिक खेतिका रुपमा तरकारी फलाउन थालेका हुन । विषादीरहित अर्गानिक तरकारी रोपिएकाले तरकारीको माग अहिलेदेखि आउन थालेको छ ।
स्थानीय बजारले धान्न नसकेको खण्डमा खलंगामा समेत तरकारी बेच्न लैजाने तयारी किसानको छ । अर्की जर्मी गाउँकी माया बुढा तरकारी खेतिले महिलाहरु आत्मनिर्भर बन्नेमा अग्रसर देखिएको बताउँछिन । उनले तरकारी खेतिसंगै भैसीपालन समेत गरेकी छिन । भैसीको मल तरकारीमा प्रयोग हुन्छ । तरकारी पातहरु भैसीको लागि प्रयोग भइरहेको छ । उनले भनिन्, ‘अबको विकल्प भनेको तरकारी खेति नै हो ।’ पहिले आफ्नो लागि मात्रै निकै कम मात्रमा तरकारी खेति गरिरहेकी मायाले यो बर्षदेखि थप व्यवसायिक र आधुनिक तबरले तरकारी खेति गर्न थालेकी छिन । बिगतमा आफुलाई चाहिने मात्रै तरकारी फलाइरहेकी थिए,मायाले भनिन्, ‘अहिले ताजा तरकारी बजार सम्म पु¥याउने जमर्को थालेकी छु ।’
संघीयताको कार्यन्वयनसंगै स्थानीय स्तरमा पनि बजारहरु बढेका छन । ति बजारहरुको मागको आधारमा तरकारी फलाउन सुरु भएको छ । ‘तरकारी खेति गरेर घरपरिवारसंग खर्च माग्नुपर्ने अवस्थाको अन्त्यहोस भन्ने चाहना छ,उनले भनिन् ।’
पहिले तरकारी खरिद गरेर ल्याउने चलन थियो । अहिले तरकारी बेच्न लैजाने भएका छौं,उनले भनिन्, ‘तरकारीखेतिमा लगानी गरेर फाइदा नै छ ।’ तातोपानीका महिलाहरु आर्थिक रुपमा सबल छन । सामान्य घरखर्चको लागि श्रीमानसंग रुपैयाँ माग्नुपर्ने अवस्था छैन ।
बिगतको भन्दा यो बर्ष तरकारी धेरै पलेको छ । सदरमुकाम खलंगा सम्म पु¥याउने योजना किसानको छ । गोठे मल र गाई भैसीको पिसाव संकलन गरेर तरकारी बारीमा हाल्ने गरेकोले पनि निकै राम्रो फलिरहेको छ । गोठ सुधारको कार्य चलिरहेको छ । महिला समुहका सदस्यहरु गाई,भैंसीको पिसाव संकलनमा जुटेका छन ।
यूएनडीपीको आर्थिक सहयोग तथा तातोपानी गाउँपालिका र पेस नेपाल जुम्लाको साझेदारिमा सन्चालित कृषि खाद्य प्रणालीको लागि नवीकरणीय उर्जा परियोजना अन्तरगत जर्र्मी गाउँमा तरकारी खेती भइरहेको पेस नेपाल जुम्लाका परियोजना संयोजक हरि शर्माले बताए । उनका अनुसार किसानहरु व्यवसायिक तरकारी खेतिमा हौसिएका छन ।
खाद्य तथा पोषण स्तरमा सुधार गर्ने, विषादी रहित अर्गानिक तरकारी उत्पादन गर्ने,गोठ,तथा भकारो सुधार गर्ने,जैविक विषादी निर्माण गर्ने लगायतका कामहरु जर्मीगाउँमा चलिरहेका छन ।
कर्णाली राजमार्गको छेउमै व्यवसायिक रुपमा तरकारीखेति गरिएकोले सहजै रुपमा अवलोकन गर्न सकिन्छ । अहिले हरेक बारीमा प्लाष्टिक टनेल राखिएकोछ । सिचाइँका लागि ड्रमहरु दिइएको छ । तातोपानी धारामा नुहाउन आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकहरुको नजरमा यो तरकारी खेति निकै प्रेरणादायी बन्ने गरेको छ । जर्मीगाउँका २८ जना महिलाहरुले सामुहिक रुपमा तरकारी खेति प्रारम्भ गरेका हुन ।
धानखेतिमा रोगको संक्रमण बढेको,जौं र गहुँ खेति भित्र्याउने समयमा असिना पानीले सखाप पार्ने समस्याले ग्रसित भइरहेका किसानहरु अहिले मौसमी तथा बेमौसमी तरकारी खेति गरेर आयआर्जन बढाउनमा लागि परेका छन ।

सम्बन्धित शीर्षक