चन्दननाथमा दिवाखाजा तयारी सम्बन्धि तालिम सम्पन्न

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाको चन्दननाथ नगरपालिकामा दुइ दिने पोषिलो दिवाखाजा तयारी सम्बन्धि तालिम सम्पन्न भएको छ । नगरपालिका भित्र रहेका विद्यालय सहयोगीहरुलाई तालिम दिइएको हो । नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाइले ३१ वटै सामुदायिक विद्यालयका सहयोगी र बालविकास केन्द्रका सहकर्ताहरुलाई तालिम दिइएको बताए ।
उनका अनुुसार कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा परियोजना अन्तर्गत स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम विश्व खाद्य कार्यक्रमको साझेदारीमा चलिरहेको छ ।
नगरपालिकाले अर्गानिक कृषि उपजमा आधारित भएर मेनु समेत कार्यन्वयनमा ल्याउन थालेको छ । जसले बालबालिकाको पोषणमा सुधार आउने र स्थानीय किसानहरुको आयआर्जन बढ्ने अपेक्षा गरिएको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए । उनले दिवा खाजा व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
दिवाखाजा कार्यक्रम प्रभावकारी बनाउनका लागि विद्यालयमा आउने समस्याहरु प्रक्रियागत रुपमा नगरपालिकामा पेस गर्न उपप्रमुख रामदेबी खड्काले आग्रह गरिन । उनले भनिन्,‘अनि मात्र दिवाखाजामा देखिएको समस्या पहिचान गरेर व्यवस्थापन गर्न सकिने अवस्था हुनसक्छ ।’
अहिले चन्दननाथ नगरपालिकाले कृषक समुह र सहकारी उत्पादनलाई दिवाखाजामा जोड्न लागेको छ । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले भने, ‘यो नीति नगरपालिकाले लिइएको छ । दिवाखाजाको लागि आवश्यक पर्ने भौतिक पुर्वाधारमा समेत सहयोग गर्नेछ ।’
दिवाखाजाको लागि कार्यविधि बनाउने र एकीकृत मेनु तयार समेत भइसकेकोले विद्यालयले अनिर्वाय कार्यन्वयनमा लैजानुपर्नेमा उनको जोड थियो । आगामी दिनमा विद्यालयमा मेनुमा आधारित खाजा तयारी र वितरण गर्न सहयोग पुगेको सहभागी कमला कुवरले जानकारी दिइन । लिबर्ड र विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा क्षमता विकास तालिम प्रभावकारी बनेको उनको भनाइ थियो ।
नविकरणीय उर्जा, खाद्य सुरक्षा, कृषिका क्षेत्रमा रेरास परियोजना विगत १ वर्ष देखि ३ वटा पालिकामा सञ्चालन भइरहेको छ । स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रमलाई संस्थागत रुपमा अगाडी बढाएको खण्डमा समग्र कृषकहरुको उत्पादन बजारीकरण हुने र शैक्षिक विकास हुने रेरासका क्लष्टर संयोजक ऋषिराज वलीले बताए ।

सम्बन्धित शीर्षक