लिवर्ड जुम्लाले गरेका कार्यक्रमको अनुगमन तथा समिक्षा सम्पन्न

लक्ष्मी न्यौपाने,जुम्ला ।
लिवर्ड जुम्लाको नेपालको कृषि प्रर्णालीमा दिगो परागसेचन व्यवस्थापन परियोजना अन्तर्गत सञ्चालन भएका विभिन्न क्रियाकलापहरुको अनुगमन गरिएको छ ।
परियोजनाको समय सकिनै लाग्दा कार्यक्रमको समिक्षा संगै अनुगमन गरिएको थियो । अनुगमनमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको अगुवाइमा जिल्लास्थित स्थानीयतहका प्रमुख उपप्रमुखहरु र कृषिसंग सम्बन्धित सरोकारवाला निकाय र किसानहरुको सहभागिता थियो ।
चन्दननाथ १,चन्दननाथ ४ र तातोपानी ४ हा“कुमा सञ्चालन भएका क्रियाकलापहरुको अनुगमन गरिएको लिवर्डका प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार हाँकुमा तातोपनी धौलीघाड कृषि सहकारी संस्थाद्धारा २०७७ सालदेखि बीउँ बैंक स्थापना भएको छ । जसमा १८ बालीका ५६ जात राखिएको छ । सहकारीले तातोपानीका १० वटा विद्यालयमा ६ लाख रुपैयाँ बराबरको रैथानेबालीहरुको खान्की समेत खुवाइरहेको छ । सिमी,मार्सीचामल,चिनो,कागुनो,मकैको पिठो,कोदोको पिठो र आलु तरकारीहरु समेत प्रदान गरिएको प्रमुख न्यौपानेले बताए ।
यो कार्यक्रमले रैथाने बालीहरुको प्रवद्र्धन गर्नुको साथै खानपानमा समेत सुधार आएको अनुगमन टोलीको निष्कर्ष छ । बिउबैंकले स्थानीय बालीको संरक्षणका साथै किसानहरुलाई समेत खेति गर्न उत्साहित गरेको देखिएको छ ।
चन्दननाथ ४ मा स्याउ तथा तरकारी पकेट क्षेत्र र चन्दननाथ १ मा स्याउ बगैंचा परागसेचन व्यवस्थापन सम्बन्धि कृर्षक पाठशाला समेत सञ्चालन गरिएको थियो । जसबाट स्याउको रेखदेख,काँटछाँट र परागसेचनका बारेमा किसानहरु जानकारी भएका छन ।
परियोजनाले चन्दननाथ नगरपालिकाको अगुवाइमा स्याउ बगैंचा व्यवस्थापन तरकारी पकेट कार्यक्रम सञ्चालनमा ल्याएको छ । जलवायुमैत्री प्रविधिहरुको हस्तान्तरण गरेर आयआर्जनमा बृद्धि गर्ने परियोजनाको मुख्य लक्ष्य रहेको प्रमुख न्यौपानेको भनाइ छ ।
कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका प्रमुख रामभक्त अधिकारीले बगैंचामा मौरीपालन व्यवस्थापन गर्नुपर्ने,किसानहरुले उत्पादन भन्दा गुणस्तरीय फल उत्पादन गर्नुपर्ने,तीनै तहका सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पातारासीबाट सुरु भएको परियोजनाले मानव जीवनमा आउने स्वास्थ्य समस्याका बारेमा उजागार गरेको बताए । उनले किसानहरुको उत्साह र हौसलाको लागि परियोजना सञ्चालन गरेकोमा धन्यवाद दिए ।
यो परियोजना चन्दननाथ,पातारासी र सिंजा गाउँपालिकामा सञ्चालन भइरहेको छ ।

सम्बन्धित शीर्षक