कोरोनालाई गम्भीररुपमा लिन पुर्वमन्त्री भण्डारीको अपिल

कर्णाली प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कोरोना भाइरसको संक्रमणलाई गम्भीरतापुर्वक लिन अपिल गरेका छन । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना सहित अघि बढ्न सरोकारवाला सबैलाई अपिल गरेका हुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको अन्तरक्रिया कार्यक्रममा पुर्वमन्त्री भण्डारीले कोरोना संक्रमण दर न्युनिकरण गर्न बन्दाबन्दीको पुर्ण रुपमा पालना गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको कार्यन्वयन आवश्यक रहेको बताए ।
उनले भने,‘कोरोना भाइरस मानवजातिकै चुनौतिका रुपमा उभिएको छ । मानवजाती माथि आक्रमण गरिरहेको छ । यसको वृत्ति र प्रवृति बदलिदै झन स्ट्रोङ बनेको छ । यो बेला सबै चनाखो भएर कोरोना संक्रमण फैलन दिनुहुदैन । ’
उनले कोरोना भाइरसले नयाँ भेरियन्ट मार्फत आक्रमण गरिरहेकोले यसले ठुलो क्षति पुर्याउन सक्ने बताए । यो लामो लडाइ हो । दिर्घकालिन लडाईको शुरुवात पनि हो । यसलाई दिर्घकालिन योजना बनाएर परास्त गर्न सक्नु अहिलेको चुनौति हो । उनले भने,‘कोरोना लडाईमा जीत सुनिश्चित हुने गरि योजना बनाउँदै हरेक नागरिकको घरदैलोमासचेतना फैलाउनु आवश्यक छ । ’
पहिले एक सिजनमा आउने र हराउने जस्तै लागेको थियो । तर अहिले नयाँ नयाँ भेरियन्ट सहित आउन थाल्यो । उनले भने,‘अब कोरोना विरुद्धको योजना बनाउनुपर्छ । सिंगो जिल्लालाई कोरोना संक्रमण हुनबाट जोगाउनुपर्छ । ’
उनले कर्णाली कोरोना विरामीका लागि अन्तिम भरोसा गर्न योग्य स्थान भएको बताए । उनले थपे,‘जतिबेला काठमाण्डौँमा कोरोनाको भयाभह अवस्था थियो । अक्सिजन र बेड नपाएका बिरामीको अन्तिम आशा थियो,‘अन्तिम विकल्प कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छदैँछ । हेलिकप्टर लिफ्ट गरेर भएपनि लैजान्छौँ । ’
अहिले सुगमका बिरामी दुर्गममा आएर उपचार गर्नु राम्रो भएको बताउँदै मन्त्री भण्डारीले मानव जातिको जीवन रक्षाका लागि कर्णाली उर्वर थलो भएकोमा खुसि व्यक्त गरे । कर्णाली प्रतिष्ठान छ र त यहाँका मानिस हामी बाँच्छौँ भन्ने मनोबलका साथ अघि बढिरहेका छन । उनले थपे,‘कोरोना संक्रमण फैलन नदिनको लागि गर्नु पर्ने सबै काम गर्नेछौँ । नयाँ संयन्त्र बनाएर भएपनि गाउँ सम्म सचेतनाका कार्यक्रम लिएर पुग्नेछौँ । ’ उनले कोरोना सचेतनाका लागि शिक्षक परिचालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कर्णाली प्रदेशका सांसद पदमबहादुर रोकाया, पुर्वमन्त्री बलबहादुर महत,प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, बाहिनीपति यमबहादुर सापकोटा ,कर्णाली प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल लगायतका सहभागिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामुहिक प्रयासको खाँचो रहेको औल्याएका थिए ।

सम्बन्धित शीर्षक