प्रधानमन्त्रीबाटै चुनावी आचारसंहिता उल्लंघन कांग्रेस र माओवादी केन्द्रद्वारा कारबाहीको माग

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै राष्ट्रियसभाको बिहीबार हुन लागेको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पक्षमा भोट मागेका छन्। राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि सुरु भए पनि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक अपिल जारी गर्दै आफ्नो पार्टीका आधिकारिक उम्मेदवाार थापालाई भोट मागेका हुन्। ओलीले एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सांसदहरूलाई पार्टीको आधिकारिक उम्मेदवार थापालाई भोट नदिई अरूलाई दिए क्षम्य नहुने चेतावनीसमेत दिएका छन्।

‘जेठ ६ गते वाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ, तसर्थ एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु,’ प्रधानमन्त्रीद्वारा जारी अपिलमा भनिएको छ, ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टीको विपक्षमा उभिएर मत खसाउने विषय हाम्रो पार्टीमा त कल्पनाबाहिरको कुरा हो, यस्ता प्रणाली बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पार्टीका लागि स्वीकार्य एवं क्षम्य हुन सक्तैन।’

यसअघि आयोगले मंगलबार राति १२ बजेपछि मौन अवधि सुरु भएकाले यस अवधिमा मत माग्न, प्रचारप्रसार गर्न, विद्युतीय माध्यम एवं सामाजिक सञ्जालबाट उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार नगर्न उम्मेदवार, राजनीतिक दल, सञ्चारमाध्यम र सर्वसाधारणलाई ध्यानाकर्षण गराएको थियो। तर त्यसकै भोलिपल्ट बुधबार आचारसंहिता उल्लंघन हुनेगरी प्रधानमन्त्रीले मत मागेका हुन्। प्रधानमन्त्रीको अपिल जारी गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै विपक्षी दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रले कारबाहीको मागसमेत गरेका छन्।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन हुनुभन्दा ४८ घन्टाअगाडि मौन अवधि सुरु हुने भएकाले यस अवधिमा कसैले कसैलाई मत माग्न र प्रचारप्रसार गर्न नपाइने बताए। ‘निर्वाचनको मैदानमा सबैलाई बराबर अधिकार हुन्छ, निर्वाचन आचारसंहिता आफैंमा कानुन हो,’ उप्रेतीले भने, ‘मौन अवधिमा प्रधानमन्त्रीले कसैलाई मत माग्नु वा प्रचार गर्नु आचारसंहिताको उल्लंघन हो, आयोगले यसको अभिलेख राख्ला।’

प्रधानमन्त्री ओलीले उम्मेदवारको पक्षमा अपिल जारी गर्दै भोट मागेपछि आयोगले ध्यानाकर्षण गराएको छ। आयोगले उपनिर्वाचनका लागि आचारसंहिताअनुसार मंगलबार रातिदेखि १२ बजेपछि मौन अवधि सुरु भइसकेकाले कसैको पक्षमा मत माग्न र प्रचारप्रसार नगर्न ध्यानाकर्षण गराएको हो। ‘आयोगले अनुरोध गर्दागर्दै केही व्यक्तिहरूले आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चारमाध्यमले उम्मेदवाारको जितहारको पूर्वानुमानका सामग्रीहरू प्रकाशन गर्ने, व्यक्तिहरूको अन्तर्वार्ता लिने गतिविधि गरेकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताविपरीत कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानुनबमोजिम कारवाही गर्न सक्ने कुरा प्रस्ट गर्दै आचारसंहिताविपरीत कार्य गर्नेको अभिलेखसमेत राखिनेछ।’

एकातर्फ आयोगले निर्वाचन आचारसंहिता पालना गराउन सकेन भन्ने, अर्कातर्फ आफैं आचारसंहिताविपरीतका गतिविधिमा संग्लन हुनु कुनै हालतमा स्वीकार्य नहुने चेतावनी आयोगले दिएको छ। आचारसंहिताविपरीतका क्रियाकलापले निर्वाचनको निष्पक्षता एवं विश्वसनीयतामै आघात पार्न सक्ने भन्दै आचारसंहिताको पूर्ण पालनामा सहयोग गरिदिन सबै सरोकारवालालाई आग्रह गरेको छ।

निर्वाचन तयारी पूरा

वाग्मती प्रदेशअन्तर्गत रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि बिहीबार मतदान हुँदैछ। राष्ट्रियसभा सदस्य एक सिटका लागि वाग्मती प्रदेशका प्रदेश सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्नेछन्। निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार उपनिर्वाचनका लागि बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हेटौंडा उपमहानगरपालिकास्थित भुटनदेवी माविमा मतदान हुनेछ। उपनिर्वाचनमा वाग्मती प्रदेशभित्रका स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३८ जना र वाग्मती प्रदेशका प्रदेशसभा सदस्य १ सय १० जना गरी ३ सय ४८ जनाले मतदान गर्नेछन्।

गृहमन्त्री थापा माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेसँगै उनी निर्वाचित वाग्मती प्रदेशको अन्य समूहतर्फको राष्ट्रियसभा सदस्य पद रिक्त भई उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री थापा नै प्रतिस्पर्धामा छन् भने कांग्रेस, माओवादी केन्द्र र माधवकुमार नेपाल–झलनाथ खनाल (विपक्षी गठबन्धन) का तर्फबाट खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ प्रतिस्पर्धामा छन्।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड र सुरक्षा सतर्कता अपनाएर उपनिर्वाचनन गराउन लागिएको बताए। ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट सम्पन्न गर्न आयोग प्रतिबद्ध छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने, ‘निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनलाई निष्पक्ष ढंगबाट सम्पन्न गर्ने कार्यमा सहयोग पु¥याइदिन आयोगसम्बद्ध सबैमा अनुरोध गर्दछ।’

सम्बन्धित शीर्षक