कोरोनाबाट एमाले नेता सतमान पुनको निधन

रुकुम पूर्व — नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य सतमान पुनमगरको निधन भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ६० वर्षीय पुनको मंगलबार बिहान मृत्यु भएको एमाले लुम्बिनी प्रदेशका सचिव खेममान खड्काले जानकारी दिए ।

उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या बढेपछि वैशाख ३१ गते जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएकोमा अवस्था जटिल भएको भन्दै त्यहाँबाट कोहलपुर पठाइएको थियो ।

उनलाई जेठ १ गते हेलिकप्टरबाट कोहलपुर लगिएको हो । हाल रुकुम पूर्वको भूमि, व्यवस्था तथा सुकुम्बासी आयोगका अध्यक्ष रहेका उनी २०४९ देखि २०५४ सालसम्म जिल्ला विकास समिति रुकुमका सदस्य थिए । केही समय एमालेका जिल्ला संयोजक पनि भएका थिए । पुन पुथाउत्तरगंगा गाउँपालिका–१० का स्थायी बासिन्दा हुन् ।

सम्बन्धित शीर्षक