वैशाखमा कोरोना संक्रमणबाट कर्णालीमा १ सय ३ को मृत्यु

सुर्खेत — कर्णाली प्रदेशमा वैशाख महिनामा कोरोना संक्रमणबाट १ सय ३ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २०७७ सालमा प्रदेशभर मृतकको संख्या ३१ जना थियो ।

कर्णालीमा सबैभन्दा पहिले २०७७ जेठ ६ गते दैलेखका एक व्यक्तिको मृत्यु भएको थियो । उनी भारतबाट आएका थिए । जेठमा ती व्यक्तिसहित अन्य २ जनाको मृत्यु भएको थियो । साउन, भदौ, फागुन र चैतमा मृतकको संख्या शून्य छ । वैशाख लागेसँगै सुरु भएको कोरोनाको दोस्रो लहरले कर्णालीलाई पनि गाँजेको छ ।

सामाजिक विकास मन्त्रालयले जारी गरेको विवरणअनुसार वैशाखमा पीसीआर परीक्षणबाट ४ हजार ८ सय १८ जना र एन्टिजेन परीक्षणबाट ३ हजार १ सय २ जनामा कोरोना पुष्टि भएको छ । वैशाखमा २ हजार २ सय २० जना कोरोनामुक्त भएका छन् भने ५ हजार २ सय ५६ जना आइसोलेसनमा छन् ।

यसैबीच, पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ८ जनाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रदेश अस्पतालमा ६ जना र सल्यान तथा रुकुम पश्चिममा एक/एक जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । वैशाखमा रुकुम पश्चिममा १२ जनाको मृत्यु भएको छ । ४ वर्षीया बालिकादेखि ६२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको कोभिड–१९ फोकल पर्सन इश्वर रावलले बताए ।

होम आइसोलेसनमा ७ जनाको मृत्यु

सल्यानमा होम आइसोलेसनमा बसेका ७ जनाको मृत्यु भएको छ । पछिल्लोपटक शनिबार छत्रेश्वरी गाउँपालिका–१ का २७ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।

रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा केही दिनअघि ती व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । जिल्ला अस्पतालका क्लिनिकल इन्चार्ज भीमकान्त जैशीका अनुसार अवस्था सामान्य रहेकाले उनी होम आइसोलेसनमा बसेका थिए । योसँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य चेतनाको कमी र उपचार अभावको कारण होम आइसोलेसनमा बसेका व्यक्तिको मृत्यु हुने गरेको जैशीको भनाइ छ ।

सम्बन्धित शीर्षक