प्राङ्‍गारिक मलले बजार पाएन

पोखरा । झन्डै एक वर्षअघिबाट सञ्चालनमा आएको गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्‍गारिक मल उत्पादन गर्दै आए पनि बजार व्यवस्थापनमा समस्या देखिएको छ ।

पोखरा महानगरपालिकाको ३२ नम्बर वडामा रहेको सो कम्पनीले अहिले महानगरभित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल उत्पादन गरिरहेको हो । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्य साथ स्थापना भएको कम्पनीले पर्याप्त मात्रामा बायोग्यास र प्राङगारिक मल उत्पादन गरे पनि बजार अभावको समस्या भोगिरहेको छ ।

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमै उत्पादन भएको प्राङ्‍गारिक मलले बजार पाउन सकेको छैन । बजार अभाव हुँदा न त उत्पादित मल बिक्री भएको छ न बायोग्यास नै बिक्री गर्न सकिएको कम्पनीले जनाएको छ ।

उत्पादित मल र बायोग्यास सबै स्टकमा थुप्रिएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्‍न क्षेत्रबाट फोहोर संकलन गरिरहे पनि पोखरा महानगरपालिकाको फोहोर भने वर्गीकरण गरी नछुट्याएका कारण फोहोर नलिने गरेको सञ्चालक कुशल गुरुङले बताए ।

कम्पनीले निरन्तर खेर गएको फोहोरलाई प्रयोग गरी अर्ग्यानिक मल उत्पादन गर्दै आइरहेको छ । दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरी दिनको ५ देखि ७ टनसम्म उत्पादन गर्ने क्षमता भएको कम्पनीको दाबी छ ।

अर्ग्यानिक फार्मका कृषकहरु र अनुदानमा टनेल खेती गर्ने कृषक नै यस कम्पनीका ग्राहक हुन् । कास्कीमा अहिले तीनवटा प्राङ्‍गारिक मल उत्पादन गर्ने कम्पनी छन् । गण्डकी प्रदेश सरकारले प्रत्येक प्रदेशको निर्वाचन क्षेत्रमा मुख्यमन्त्री नमुना वातावरणमैत्री गाउँलाई पूर्ण प्राङ्‍ग्रारिक गाउँ बनाउने लक्ष्य लिएको छ ।

सम्बन्धित शीर्षक