देउडा संस्कृति बचाउदै ढाणथपला देउडा समुह

लक्ष्मी न्यौपाने
जुम्लाको चन्दननाथ नगरपालिका २ ढाणथपलाका स्थानीय देउडा बचाउने अभियानमा जुटेका छन । उनीहरु गाउँमा देउडा समुह गठन गरेर पटक पटक एकै थलोमा जमघट भएर देउडा खेल्ने गर्दछन । देउडा समाजको प्रतिबिम्ब भएकोले उजागार गर्नु सबैको दायित्व भएकोमा उनीहरुले जोड दिएका छन ।
बर्षमा हुने मेला,पर्व र हरेक सुखद कार्यमा देउडा खेल्ने गरिएको स्थानीय कालीबहादुर बुढ्थापाले बताए । उनले भने,‘देउडा मार्फत सुखदुख साट्ने गरिएको छ । एक आपसमा रमाइलो सवाल जवाफ खेलिन्छन । भावि सन्ततीलाई समेत देउडा खेलमा लाग्न अभिप्रेरित गरिएको छ । ’उनीहरुले देउडा संगै मागल,चुटटीकला, झोडा गाउने गरेका हुन ।
अहिले आधुनिक संस्कृतिका कारण गाउमा आधुनिक र रिमिस्क गीतको बर्चश्व रहेको छ । अर्का स्थानीय जयलाल बानियाँले भने,‘देउडाले यहाँको जनजीवन बोलेको हुन्छ । यहाँ रितिरिवाज,संस्कृत र चालचलन दर्शाएको हुन्छ । मनोरञ्जन गरेर एक अर्कामा सवाल जवाफ आदान प्रदान हुने भएकोले सबैको आकर्षणको केन्द्र बनेको हो । ’ उनीहरुले नयाँ बर्ष नजिकिदै गर्दा खेतबारीमा भेला भएर देउडा गाउन थालेका हुन । नयाँ बर्षको दिनमा तागा लगाउने र तागा लगाउने बारेको चुटकीला समेत गाउने गरिएको छ ।
स्थानीय मालिका भण्डारीले देउडाले संस्कृतिको संरक्षण गर्नुको साथै भावनामा एकरुपता ल्याउने बताइन् । उनले भनिन्,‘अहिले देउडा संस्कृति लोप हुदैछ । युवापुस्तालाई देउडा प्रति आकर्षित गर्न थालिएको हो । ’उनले देउडा खेल्दा सबैको सुखदुखको आदानप्रदान हुनुका साथै संस्कृतिको संरक्षण हुने पनि बताइन् ।
उनले युवापुस्तालाई देउडा संस्कती हस्तान्तरण गर्न लागि परेको सुनाइन् । आधुनिक संस्कृतिले रैथानी संस्कृति माथि धावा बोलेको छ । अब आयतित गीत विस्थापित गर्न हाम्रो संस्कृति, रितिरिवाज,मौलिकताबाट प्रशोधित भएर आएको देउडा नै काफी देखिन्छ । देउडा समुहले देउडा खेल खेल्दा हेर्नेको समेत लर्को लाग्ने गरेको छ । एकुमाया बुढथापाले देउडाले समाजका राम्रा नराम्रा पाटा पक्ष केलाउने गरेको भन्दै अबको अभियान देउडा संस्कृतिको जगेर्ना बाहेकको विकल्प नभएको बताइन् । स्थानीय पोशाक सहित देउडा खेल्दा सुनमा सुगन्ध थपिएको अनुभुती हुने गरेको स्थानीय बताउँछन । कर्णालीको देउडा बचाउनको लागि सबै सरोकारवाला सक्रिय हुनुपर्नेमा जोड दिइएको छ ।

सम्बन्धित शीर्षक