डिपोमा चामल अभाव भएपछि स्थानीय महँगीको मारमा

अहिले जुम्लाका गाउँका डिपो देखि सदरमुकामको डिपोमा चामल अभाव भएपछि स्थानीय महँगीको मारमा परेका छन् । यता व्यापारीले कोभिड र खाद्यको चामल अभाव भएको मौका छोपी मनपरी मूल्यवृद्धि गरेका छन् ।जुम्लामा झन्डै २० हजार घरधुरीको १ लाख ९ हजार बढी जनसङ्ख्या रहेको छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्याङ्क छ । बाँकी ६ महिना खाद्य संस्थान र बजारको चामलले खाद्यान्न पूर्ति गरिँदै आएको छ ।

तातोपानी गाउँपालिका वडा नम्बर ७ का अनिल रावतले खाद्यको चामल पाउन मुस्किल भएपछि बजारको महँगो चामल किन्न बाध्य भएको दुखेसो पोख्नुभयो । गाउँबाट एक दिन बास बसी खाद्यमा चामल लिन आउनुपर्छ । तर चामल सकिएको भन्ने जवाफ पाएर रित्तै फर्किने गरेको उहाँको गुनासो छ ।
अनिल रावत जस्तै सयौँ नागरिक सदरमुकाम खाद्य संस्थानबाट चामल नपाएर रित्तै फर्किने गरेका छन् ।

चालू आर्थिक वर्षको ३ महिना अझै बाँकी रहेको र वैशाखमै चामल सकिन थालेपछि खाद्यमा पुगेका स्थानीयलाई रित्तै पठाउनुपर्ने अवस्था आएको खाद्य प्रमुख तिलक सुनाले बताउनुभयो ।
वार्षिक कोटा मध्ये ५ हजार १९३ क्विन्टल ढुवानी भई वितरण भइसकेको छ । भने, ठेकेदारले अझै ४ सय ५६ क्विन्टल चामल  ढुवानी गर्न बाँकी रहेको छ । तर आर्थिक वर्ष सकिन लाग्दा समेत कहिले ढुवानी गर्ने टुङ्गो छैन । ढुवानी कर्तालाई पटक पटक ताकेता गर्दा पनि अझै गाउँका डिपोमा २ हजार क्विन्टल चामल ल्याएको छैन । गाउँका डिपो रित्तो भएपछि सदरमुकाम आउँछन् सदरमुकाममा पनि चामल दिन अवस्था नभएपछि रित्तै घर फर्किनु पर्ने बाध्यता आइपरेको छ ।जुम्लाको वार्षिक कोटा ५ हजार ६ सय ५० क्विन्टल चामल हो । जसमध्ये ९ सय क्विन्टल डोल्पाको सर्मी र काईगाउँ डिपो पठाउनुपर्दछ । भने, जुम्लाका लागि ४ हजार २५० क्विन्टल मात्रै बाँकी रहन्छ ।“जुम्लाको खाद्य व्यापार कम्पनीमा पनि चामल अभाव हुन थालेको छ ।  ‘अहिले गोदाममा ८ सय ८० क्विन्टल चामल मात्रै मौज्दात छ । यो चामल बिक्री गरिए २ दिनमै सकिन्छ । अब गोदाममा ताला लगाउनुको विकल्प छैन ।”

सम्बन्धित शीर्षक