विश्वासको मतका लागि आज मतदान

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको संसद्को विशेष अधिवेशन सोमबार बस्ने भएको छ। विश्वासको मतमा सोमबार नै मतदान हुनेछ।

संसद्को पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान गरिएको पत्र सभामुखले पढेर सुनाउने र विश्वासको मतका लागि समय तोक्ने कार्यक्रम छ। दोस्रो बैठकमा दलीय आधारमा नेताहरूलाई बोल्न समय दिइनेछ। नेताहरूले बोलेपछि विश्वासको मत लिने प्रस्तावमा मतदान हुने स्रोतले बतायो।

प्रतिनिधिसभा नियमावली, २०७५ मा तोकिएको दिन र समयमा सभामुखको अनुमति लिई प्रधानमन्त्रीले सो सम्बन्धमा आफ्नो वक्तव्य दिई सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र विश्वासको मतमा छलफल गर्न सभामुखले समयावधि निर्धारण गर्ने व्यवस्था छ। जसअनुरुप दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्य दिई विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन्। सभामा उठेको प्रश्नको जवाफ प्रधानमन्त्री वा उनले तोकेका मन्त्रीले दिनेछन्। त्यसपछि सभामुखले प्रधानमन्त्रीमाथि सभाको विश्वास छ वा छैन भन्ने प्रस्ताव निर्णयार्थ बैठकमा प्रस्तुत गर्र्नेछन्।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने व्यवस्था छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा वर्तमान संसद्मा विश्वासको मतको पक्षमा १३६ मत प्राप्त हुन नसकेमा सभामुखले त्यसको जानकारी राष्ट्रपतिलाई दिनुपर्ने हुन्छ।

कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमित सांसदलाई पनि मतदानमा सहभागी गराउने व्यवस्था गरेको छ। संक्रमित सांसद २६ जना रहेको संसद् सचिवालययका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

सम्बन्धित शीर्षक