संकटमा खच्चड व्यवसाय

कर्णाली राजमार्ग सञ्चालन आउनुअघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको एक मात्र माध्यम थियो । खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्चीसडकको ट्याक्टर भनिन्थ्यो । बजार देखि गाउँ सम्म सामान ढुवानी गर्ने साधन थिए । पछिल्लो समयमा गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसाय खुम्चिएको छ ।
साघुँरो बाटोमा दुइतीर बोरा बोकाएर घण्टी बजाउँदै गाउँ सम्म सामान ढुवानी गर्ने गरेको तिला ९ का खच्चड व्यवसायी मुनबहादुर थापाले बिर्षेका छैनन । उनले अहिले पनि चारपाँच घर पालेर नजिकैको सीतानगर बजार देखि सामान लैजान्छन । उनले भने,‘पहिले खच्चड व्यवसाय निकै राम्रो थियो । तर अहिले सडक सञ्जालको विस्तार संगै खच्चड लो हुने अवस्थामा पुगिसकेका छन । ’
ढुवानीका लागि उत्कृष्ट र भरपर्दो माध्यम भए खच्चड नै थिए । सवारी साधनहरुको प्रयोग र गाडी गुड्ने सडक बनेपछि खच्चडमा ढुवानी गर्दा निकै महंगो पर्र्न गयो । जसकारण किसानले खच्चड पाल्न छाडे ।
गुठिचौर गाउँपालिका१ गडिगाउँका राजकुमार थापाले २०५९ देखि २०६६ सम्म खच्चडमा सामान ढुवानी गर्ने व्यवासय थाले । उनको कमाई पनि रामै्र भएको थियो । उनले कमाई संगै सेवा पनि दिइरहेका थिए । तर पछि सडक सञ्जाल विस्तार सँगै ढुवानीका लागि खच्चडको माग कम हुन थाल्यो । अहिले त्यो व्यवसायबाट उनी अलग्गीए ।
उनले भने,‘अहिले जब म खच्चड देख्छु । तब बिगतको याद आउँछ । मलाई व्यवसायमा लाग्न प्रेरित गर्ने साधन नै खच्चड थिए । ’ खच्चड व्यवसायले गरेको फाइदा उनका लागि भविष्य निर्माण गर्ने आधार बन्यो । अहिले उनले आफ्नो घरको सामान ढुवानी गर्नको लागि मात्रै खच्चड पालन गरेका छन ।
पहिले कर्णालीका विभिन्न हाटबजारबाट भारी बोकिन्थ्यो तर अहिले गाउँमा मोटरबाटो पुगेपछि ढुवानीसमेत पाँउदैनन । सबै ट्क्याक्टर, जीपले नै घरघरमा सामान पु¥याउँछ । यसले गर्दा खच्चड पाल्न समेत धौ धौ भएको छ,गुठिचौर गाउँपालिका २ कुडी गाउँका खच्चड व्यवसायी राजवहादुर बोहोराले खच्चड व्यवसाय निकै संकटमा छ ।
अहिले गाउँमा खच्चडलाई घाँस दाउरा बोकाउने,मोटर बाटो नपुगेको बस्ती सम्म सामान ओसार्न प्रयोग गर्ने,घर निर्माण गर्ने क्षेत्रमा ढुंगा खच्चडबाट बोकाउने कार्य गरिदै आएको छ । कतै कतै जडिबुटी,मल,सिमी आलु,मकै,दाउरा बोकाउने गरिन्छ । सस्तो र छिटो हुने भए पछि गाउँका व्यवसायीहरु समेत यातायातका साधन प्रति आकर्षित हुन थालेपछि खच्चड विस्थापित हुन थालेका हुन ।
खच्चड बिक्री गर्न खोज्दा बिक्री हुँदैन । लामो समय पालेर राखेको खच्चडको माया लाग्छ,। गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं, राजबहादुरले भने,‘खच्चड व्यवसाय धरापमा पर्दा निकै मर्का त छ । तर खच्चड पाल्न छोडिएको छैन । ’
संघीय व्यवस्था कार्यन्वयन संगै गाउँमा पुगेका सिंहदरबारले पाँच बर्ष सडकलाई नै प्राथमिकता दिए । जिल्लाको ८ पालिकामा रहेका ६० वडामा सडक जोडिएको छ । गुठिचौर ३ का गंगाराम गिरीले भने,‘ सडक सञ्जालको पँहुच पुगेका क्षेत्रमा खच्चडको प्रयोग हुने कुरो भएन । अहिले त खच्चड व्यवसायबाट जीविकोपार्जन गर्नेहरु नैे विस्थापित हुनु पर्ने अवस्था आइपुग्यो ।’
सामान बोकेर हिडेको खच्चड नदेखेको पनि धेरै भयो, गंगारामले थपे,‘पुरानो समयको निकै महत्वपूर्ण ढुवानीको साधन खच्चड अहिले आएर एकादेशको कथा जस्तै बनेको जस्तो लाग्छ । बस्नेतले आफ्नो ब्यापार ब्यवासय सञ्चालन गर्नका लागि दर्जन बढि खच्चड पाल्ने गरिन्थ्यो । खच्चड पाल्ने नै गाउँका हुने खाने कहलिन्थे । सडक सञ्जाल विस्तार हुँदै गएपछि खच्चडको ब्यवसाय खुम्चिदै गयो । २०७० पछि यहाँ पालिका खच्चड विकाउन थाले । अहिले खच्चड चलेको बिरलै पाइन्छ ।

सम्बन्धित शीर्षक