जुम्लामा २६ दिनमा १ सय ३० जना कोरोना संक्रमित

जुम्लामा वैशाख १ गतेदेखि हालसम्म १ सय ३० जना कोरोना संक्रमित देखिएका छन्। जिल्ला स्वास्थ्य सेवा कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेकजाँच गरिएकोमा १ सय ३० जना संक्रमित देखिएका हुन्। स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार ४ सय ७२ एन्टिजेन जाँच गरेकोमा ४० जनामा कोरोना पोजेटिभ देखिएको थियो। २ सय ३३ जनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण गरेकोमा ९० जनामा कोरोना पोजेटिभ देखिएको थियो।

हाल १९ जना संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसन बेडमा राखेर उपचार भइरहेको छ। कोरोनो पोजेटिभ देखिएका तर लक्षण नदेखिएका संक्रमित होमआइसोलेसनमा बसेर उपचार गराइरहेको स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख सापकोटाले बताए।

अहिले जिल्ला स्वास्थ्यको टीम एन्टिजेन जाँचको लागि गाउँमा खटिँदै आएको छ। स्थानीय तहले एन्टिजेन जाँचका लागि आग्रह गरेको सबै ठाउँमा पुगेर चेकजाँच गरिरहेको उनले बताए। उनले भने,‘कोरोना चेकजाँजको लागि खबर आउँछ। स्वास्थ्य सेवा कार्यालयको टोली परिचालन हुन्छ।’

अहिले सम्म जिल्लाको पातारासी, तिला, गुठिचौर गाउँपालिकामा स्वास्थ्यको टोली पुगेर कोरोना परीक्षण गरेको छ। चन्दननाथ नगरपालिका क्षेत्रका बिरामी आफै स्वास्थ्य सेवा कार्यालयमा पुगे कोरोना जाँच गराउँदै आएका छन्।

गाउँमा कोरोनालाई खेलाँची ठान्ने चलन छ। सामान्य रुघाखोकीको दर्जामा राखेर हेरिराखेका छन्। प्रमुख सापकोटाले भने,‘अब कोरोनाको परीक्षणका लागि स्थानीय तहले जिम्मेवारी रुपमा प्रस्तुत हुन जरुरी छ।’ पालिकास्तरमा आइसोलेसन बेड तयार गरेर धमाधम एन्टिजेन र पिसिआर गर्दै संक्रमितको उपचार गर्नु पर्ने अवस्था छ। गाउँ सहर सबै क्षेत्रमा कोरोना संक्रमणको त्रास तीव्र छ।

स्वास्थ्य सेवा कार्यालयसंग हरेक स्थानीय तहका स्वास्थ्य शाखासंग समन्वय भइरहेको छ। गाउँमा बिरामी धेरै छन् भन्ने सुनिएको छ। तर स्थानीय तहले तदारुकता देखाएको पाइदैन, प्रमुख सापकोटाले भने,‘बिरामी जम्मा पार्नुस। एन्टिजेन परीक्षण गरौँ भनिरहेका छौँ। तर कोरोनालाई सामान्य रुपमा हेरेको पाइएको छ। महामारीमा यो राम्रो पक्ष हुँदै होइन। अहिलेको सामान्य लापरबाहीले भविष्यमा निम्तन सक्ने खतरा सार्‍है दयनीय हुने देखिन्छ।’

स्वास्थ्य सेवा कार्यालय जुम्लाले गाउँमा पुगेर एन्टिजेन मात्र जाँच गर्दैन। सचेतनाका क्रियाकलापमा पनि जोड दिएको छ। प्रमुख सापकोटाले भने,‘सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्न, घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, सेनिटाइजर लगाउन र नियमित साबुनपानीले हात धुन सचेत पार्ने गरिएको छ।’

सदरमुकाम क्षेत्रमा लकडाउन भएपनि ग्रामिण क्षेत्रमा लकडाउनको पालना हुन सकेको छैन। गाउँमा भेला हुने, विहेवारी, भोजभतेर गर्नेदेखि स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नहुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

सम्बन्धित शीर्षक